बालकलाई अपहरण गरी खाडलमा पुर्ने दुई युवक पक्राउ

0 5

२५ जेठ, काठमाडौं । दश वर्षीय बालकलाई अपरहण गरी खाडलमा पुर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा देालखा मार्बु ९ घर भई कौशलटार बस्ने भीमबहादुर मगर र मार्बु ३ घर भई बालकोट बस्ने रुद्र खत्री (अभिषेक) छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुुसार उनीहरुले जेठ २३ गते सिन्धुपाल्चोक, धुवाचौर-१ घर भई दक्षिणढोका अर्याल गाउँमा बस्ने भिमसेन बन्जाराका छोराको अपरहण गरेका थिए ।

घर नजिकैको चौरबाट फुटबल हेर्न जाउँ भनि बालकलाई फकाएर लगेका उनीहरुले नजिकैको कृष्ण मन्दिर जंगलमा लगेर कुटपिट गरेका थिए ।

कुटपिटका क्रममा बालक बोहोस भएपछि मरेको भनेर उनीहरुले खाडल खनेर घाँटीसम्म माटो र बालुवाले पुगेर छाडेका थिए ।उनीहरुले बालकको परिवारलाई बच्चा चाहिने भए ५० लाख फिरौती माग गर्दै फोन तथा म्यासेज गरेका थिए ।

तर, झण्डै २ घन्टापछि होसमा आएका बालक घसि्रँदै नजिकैको अल माइटली मोडल स्कुलमा रुँदै आएपछि शिक्षकले उद्धार गरेर मेडिकल कलेज, अत्तरखेलमा पुर्‍याए । अस्पतालमा उपचाररत उनको घाँटी, आँखा तथा छातीमा गम्भीर चोट लागेको पाइएको छ ।

प्रहरीका अनुुसार अपहरणमा संलग्न भीमबहादुर र रुद्र विगतमा बन्जारा बसेकै घरमा बसेका थिए । उनीहरुले बालकलाई अपहरण गरी फिरौती रकम असुल्ने उद्देश्य १ महिनादेखि घटना घटाउने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको छ ।

– Source:onlinekhabar