प्रमुख चार शक्तिको बैठक सुरु, बैठकमा चार शीर्ष नेता मात्रै

0 3

काठमाडौँ, २५ जेठ । प्रमुख चार राजनीतिक शक्तिको बैठक औपचारिक रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

संविधानका विवादित विषयमा सहमति जुटाई आजै हस्ताक्षर गर्ने ध्येयका साथ बैठक सुरु भएको हो । आज बिहान भएको सहमतिलाई कसरी सूचीकृत गर्ने र सहमतिको मस्यौदा कसरी तयार गर्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताको बैठक सुरु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

साँझ ५ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केहीबेर अगाडिदेखि मात्र सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार मात्रै सहभागी हुनुहुन्छ ।

चार शीर्ष नेताका बीचमा सहमति भएपछि अन्य नेतालाई पनि सहभागी गराएर औपचारिक बैठक सुरु हुने श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सबै विषयलाई अन्तिम टुङ्गो लगाएर हस्ताक्षरसमेत हुने बुझिएको छ । प्रमुख दलबीच भएको सहमतिलाई संविधानसभामा कसरी प्रवेश गराउने भन्ने विषयमा पनि दलबीच छलफल जारी छ ।

दलबीच भएको सहमतिबारे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जानकारी गराइनेछ । डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दलहरुबीच हुने सहमतिका विषयलाई औपचारिकता दिने छ ।