चार झट्का

0 10
  • अनुभूति

कसैले भन्यो– भुईंचालो आयो । सुरुमा लाग्यो कम्पन सानै हो, रोकिएला । त्यहाँ सहभागी हामी प्राय: ०४५ सालको भुईंचालो अनुभव गर्नेहरू नै थियौं । तीन वर्षअगाडि पनि एक साँझ हल्का कम्पन भएको थियो । यी दुवै अनुभवले भन्थे, ‘डराउनु पर्दैन’ । तर त्यो दिन अलग भयो । काठमाडौ, जेष्ठ २५ – वैशाख १२ को भुईंचालोमा म इटहरी उपमहानगरपालिकाको बैठक कक्षमा थिए । सानो सभाहलजस्तो बैठक कक्ष मूलभवनको दोस्रो तलामा छ । त्यहाँ वैकल्पिक विचार मञ्चको कार्यक्रम थियो । संविधानसभाका पछिल्ला मुद्दाहरूमा हामी छलफल गर्न चाहन्थ्यौं । १२ बज्नै लागेको थियो । साथीहरू आफ्नै सुरमा अनेकौं राजनीतिक टिप्पणी गरिरहेका थिए । मित्र मोहन तिम्सिना कार्यक्रम सुरु गर्न खोज्दै थिए, हल्लाउन थालिहाल्यो ।

कसैले भन्यो– भुर्इंचालो आयो । सुरुमा लाग्यो कम्पन सानै हो, रोकिएला । त्याहाँ सहभागी हामी प्राय: ०४५ सालको भुईंचालो अनुभव गर्नेहरू नै थियौं । तीन वर्षअगाडि पनि एक साँझ हल्का कम्पन भएको थियो । यी दुवै अनुभवले भन्थे, ‘डराउनु पर्दैन’ । तर त्यो दिन अलग भयो । अब रोकिएला भन्यो, रोकिँदैन । तब रोकिएला भन्यो, रोकिँदैन । कम्पन रोकिने आसमा सुरुमा धेरै हलचल र भागदौड गरिएन । तर बिस्तारै साथीहरूको अनुहार ‘हेर्नलायक’ हुँदै गयो । अलिक फुर्तिला र हिम्मतिला साथीहरू भाग्न थाले । तर भाग्न पनि सजिलो थिएन । हामी दोस्रो तलामा थियौ । भाग्ने बाटो घुमाउरो थियो, बरन्डा हुँदै जानुपथ्र्यो । मलाई लाग्यो, भाग्नुभन्दा टेबलमुनि लुक्नु राम्रो होला । साथीहरूलाई टेबलमुनि लुक्न भनियो । सबैले आफू जोगिने प्रयत्न गरे ।

म हलको सबैभन्दा छेउमा थिएँ, ढोकैमा । नजिकै ठूलो झ्याल, बरन्डा र निस्किने बाटो थियो । अगाडि टेबल देखे ं। मैले सोचें, ‘केही गडबडी भए यहीँ लुक्छु ।’ यति गर्दा २० सेकेन्ड जति सकियो । बाँकी ३० सेकेन्ड मैले भुईंचालोको असली रूप देखे । अगाडि ठूलो पोखरी छ नगरपालिकाको । मेचीकाली पोखरी । पोखरीमा पानीका छालहरू उठे, सुनामीझैं । पूर्व दक्षिणमा प्रहरी चौकी नजिकै रूखमा कागहरू कराउँदै झुम्मिए । तर रूखहरू भने सीधा थिएनन् । बनमा आँधी चलेजस्तै भयो । नजिकै घरहरू लरबर लरबर देखिन्थे । मैले होसपूर्वक त्यो सबै हेरें । नढाँटी भनेको, मलाई कुनै डर लागेन । बरु रोमाञ्चित थिएँ । लगभग ३० सेकेन्ड जतिपछि भुईंचालो रोकियो । अनिमात्र मैले आफूलाई विचार गरें । केही जिज्ञासा, त्रास र थोरै अराजक अनुुभूतिले मेरा रौंहरू ठाडा भए । साथीहरूलाई हेरें । मरो अगाडि हल खाली थियो । वातावरण शान्त थियो । त्यही शान्तिको बीचमा मित्र डम्बर खतिवडा टेबलमुनिबाट निस्किए । पहिलो झड्का सकियो । हामी दुवैजना सँगै तल ग्राउन्डमा झर्‍यौं ।

नगरपालिकाको प्रांगणमा मान्छेहरूको हूल थियो । ठूलै युद्ध जितेजस्तो अनुभूतिमा थिए उनीहरू । यही जुनीमा एउटा उत्पातको साक्षी बन्नु रमाइलै थियो । पीडा थिएन । किनभने त्यो बेलासम्म कुनै दु:खद खबर आएकै थिएन । भुईंचालो ठूलै गयो भन्ने त भयो, तर क्षतिको कल्पना गरिएन । मान्छेहरूका लागि आफू बाँच्नु पनि खुसीको कुरा थियो । बिस्तारै दिमागमा आफन्त, समाज र देशको चिन्ता आयो । मैले घर, परिवार र साथीहरूलाई फोन गर्ने प्रयत्न गरें । काठमाडौतिर कुरा गर्न खोजियो । काठमाडौंमा फोन अवरुद्ध थियो । कसोकसो मित्र शेखर खरेलसँग कुरा भयो । अधुरो–अधुरो कुरा भयो र फोन काटियो । मैले हो कि हो कि जस्तो सुनें, ‘धरहरा ढल्यो’ । अब भने मनको विजेता भाग्यो । हामी अकल्पनीय त्रास, पीडा र बर्बादीको आशंकाले आहत हुँदै गयौं । भीडमा कसैले सुनायो, काठमाडौं सकियो रे । सिन्धुपाल्चोक, रामेछाप र गोरखा पनि सोत्तर । अब पो हाम्रो होस खुल्यो र प्रियजनहरू सम्झनामा आउन थाले । यद्यपि हामी रोकिएको छलफल चाँडै सकेर हिँड्न चाहन्थ्यौं । त्यसैले फेरि सभाहलतिरै लाग्यौ । हलमा बस्दै मात्र थियौं, फेरि हल्लायो । यो दोस्रो झड्का थियो । अब भने हामी हार्‍यौ । कुनै ऊर्जा रहेन । त्यो दिनको छलफल रोकियो । अझै हामीले त्यो छलफललाई जोड्न सकेका छैनौं ।

ooooo

भूकम्पभन्दा कष्टकर बन्यो त्यसपछिको समय । बिजुली थिएन । टीभी हेर्न पाइएन । मोबाइलहरू सुचारु थिएनन् । केटाकेटीहरू घरभित्र छिर्न माने त मर्नु ! मनका मान्छेहरूको चिन्ता अझ धेरै । पहिलो दिन राति चाउचाउ खाइयो । निकै अबेरसम्म बाहिर फेर गरियो । कतै शान्ति थिएन । अनेकौं हल्ला थिए । रातभरि निदाउन सकिएन । दोस्रो दिन बिहानबाट भने भयानक समाचारहरू आउन थाले । सबै ढलेका समाचार । सबै सकिएका समाचार । त्रास, आशंका र अपेक्षाका समाचार । यद्यपि पूर्वमा धेरै क्षति थिएन । त्यसैले दोस्रो दिन कामलाई नियमित गर्न खोजियो । के कस्तो सहयोग गर्न सकिन्छ भन्ने छलफल पनि सुरु भइसकेको थियो । तर मान्छेहरू आफ्नो अनुभव सुनाउन सबैभन्दा आतुर थिए ।

दोस्रो दिन साथीभाइहरू चिया पिउँदै थियौं । कसैले भुईंचालो आउने भविष्यवाणी सुनायो । म खबर ल्याउनेलाई जिस्क्याउँदै थिएँ, हल्लाई पो हाल्यो । तेस्रो ठूलो झड्का । अब भने सबै कुरा फेरियो । हिजो शान्त देखिएका मान्छेहरू पनि डराए । घरमुलीहरू नै घर छिर्न तयार भएनन् । त्यसपछिका दुई दिन इटहरी आसपासमा पनि न केटाकेटी घरभित्र छिरे, न त खाना नै पकाइयो । खाली चौर र सडकमा त्रिपालहरू गाडिए । हल्ला उस्तै थिए । भारतीय टीभी च्यानलहरू भन्थे काठमाडौं सकियो । गोरखा सकियो । सिन्धुपाल्चोक रहेन । अब फेरि आउन सक्छ । उता कोलाहल छ । यता रुवावासी छ । बूढापाकाहरू भन्थे, ‘पर्लय भयो’ । मेरी आमा टीभीमा आउने चित्रहरू हेरेर आँखाभरि आँसु पार्दै भन्नुहुन्थ्यो, ‘हे भगवान् के देख्नुपर्‍यो’ । सानी छोरी भन्थी, ‘ओ माई गड’ । छोरो मलीन थियो, होस हराएजस्तो । आफ्टरसकजस्तै सक पर्‍यो वृद्धवृद्धा र केटाकेटीमा । यसैबीच राहत सहयोग अभियान सुरु भयो । थोरै समयमा जे गर्न सकिन्थ्यो गच्छेअनुसार गरियो । त्यसपछि साथीहरूले बिदा दिए । म हिँडे परदेश ।

ooooo

भूकम्प गएको १२ दिनपछि मैले घर छोडे । गन्तव्य थियो– पश्चिम अफ्रिकी देश ‘सेनेगल’ । मनमा भने काठमाडौंकै चिन्ता थियो । कस्तो भयो होला म हिँडेको सडक ? कस्तो होला मेरो राजधानी ? कस्तो होला म बस्ने होटल ? धरहरा सम्झिएँ जुन मैले कहिल्यै चढ्न पाइनँ । मेरो मनमा वसन्तपुर दरबार क्षेत्र पनि थियो । जहाँ मैले अनेकौं सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यक्रममा भाग लिएको थिएँ ? कस्तो होला आफन्त र साथीभाइको घर ? प्रश्नहरू अनेकौं थिए । एयरपोर्टबाट अगाडि बढ्दा म आफूलाई ती सबै दुर्दशा र भग्नावशेष हेर्न तयार गर्दै थिएँ, जुन मैले टीभीमा देखेको थिएँ । तर सौभाग्य, विमानस्थलदेखि बागबजारसम्म आउँदा अवस्था सामान्य थियो । म बस्ने होटल सकुशल नै रहेछ । मान्छेहरू काममा थिए । मैले पनि आफूलाई सामान्य बनाउँदै झोला थन्क्याए । ‘एल्लो फिवर’ को खोप लगाउनु थियो टेकुमा, त्यो सकें । अनि म लागें सुन्धारातिर । त्यसपछि वसन्तपुर पुगें । म काठमाडौंका पुराना गल्ली र गल्छेडाहरू चहार्न थालें । निश्चय नै धेरै कुराहरू ढलेका थिए । तर पनि मान्छेहरू हाँस्न खोज्दै थिए । मान्छेहरू धूलो टक्टक्याउँदै थिए । युवायुवतीहरू अनुहारमा जीवनको रंग भर्दै थिए । मैले काठमाडौं उठ्दै गरेको देखें । मैले देखें धरहरा त ढलेको थियो तर आशा र उत्साह जीवित थियो ।

वैशाख २७ गते सेनेगलको राजधानी डकार पुगियो । कार्यक्रम २९ गतेबाट थियो । २८ गते एक दिन हामीले डुल्ने योजना बनायौं । हामी भूकम्पको थकान भुल्न चाहन्थ्यौं । हेर्नका लागि त्यहाँ धेरै कुरा थिए । तर हाम्रो चाख थियो, ‘गोरे आइल्यान्ड’ र विशाल स्मारक ‘अफ्रिकन रेनाइसेन्स मनुमेन्ट’ मा । गोरे आइल्यान्ड त्यहाँको मुख्य पर्यटन केन्द्र हो । यो टापु खुला संग्रहालयजस्तो छ ।

‘अट्लान्टिक स्लेभ ट्रेड’ को संरक्षित इतिहास । काला मान्छेहरू केही सय वर्षअगाडि यहाँ बिक्रीका लागि राखिन्थे । त्यो कथा बताउने अनेकौं युवाहरू भेटिन्छन्, उक्त टापुमा । उनीहरू आफ्नो पुर्खाहरूको दासताको कथा चित्रमा अंकित गर्दछन् । कथा, गीत र कवितामा बताउँछन् । उनीहरू बालुवाका चित्रहरू बनाउँछन् र मेट्छन् । हामी त्यहाँ पुगेको दिन बब मार्लीको जन्मोत्सवको तयारी थियो । यस्तो लाग्थ्यो मार्लीका स्वतन्त्रता र स्वाभिमानका गीतहरू गोरे आइल्यान्डकै लागि लेखिएका हुन् । यता हामी भूकम्पपछिको भविष्यमाथि आशावादी थियौं । उता गोरे आइल्यान्डका काला युवाहरू आफ्नो भविष्यप्रति आशावादी देखिन्थे ।

साँझतिर पुगियो ‘अफ्रिकन रेनाइसेन्स मनुमेन्ट’ मा । त्यो विचित्रको स्मारक रहेछ । मलाई लाग्यो मानव जातिको गरिमालाई योभन्दा उत्कृष्ट अभिव्यक्ति दिनै सकिँदैन । सहरको बीच भागमा थुम्कोमाथि विशाल स्मारक खडा थियो । अफ्रिकाकै सबैभन्दा ठूलो स्मारक । २७ मिलियन अमेरिकी डलर खर्च भएको यो परियोजनामा उत्तरकोरियाको संलग्नता आफैंमा रहस्यमय थियो । तर चीज थियो गजब । आफ्नो श्रीमतीलाई कम्मरमा समातेर कतै लम्किएको एक शक्तिशाली अफ्रिकन पुरुष स्मारकमा छ । उसले आफ्नो सन्तानलाई अर्को हातमा उठाएको छ । बच्चा कतै दूर क्षितिजतिर देखाउँदै छ । यस्तो लाग्छ उनीहरू स्वतन्त्रता र स्वाभिमानको संसारतिर जाँदैछन् । ३ अप्रिल २०१० मा सेनेगलको ५०औं स्वतन्त्रता दिवसको दिन यो स्मारकको उद्घाटन गरियो । समारोहमा अफ्रिका महादेशका १९ राष्ट्रप्रमुखहरूको उपस्थिति थियो । उद्घाटन भाषणमा सेनेगलका राष्ट्रपतिले भने, ‘यो सेनेगलको मात्र हैन समग्र अफ्रिकाको गरिमा हो । यसले अफ्रिका कसरी २१ औं शताब्दीमा सबैभन्दा उचो हुनेछ, त्यो बताउँछ । हाम्री सबै अफ्रिकीहरू भविष्यप्रति आशावादी छौं ।’

२९ गते, बिहानको नास्ता सकेर हामी ‘ग्लोबल ल्यान्ड फोरमको ‘उद्घाटन कार्यक्रमतिर जाँदै थियौं । एकजना भारतीय मित्रले सुनाए, ‘अभी अभी नेपाल मे बडा भूकम्प गया हैं ।’ हामीलाई चौथो झड्का लाग्यो । कार्यक्रमभन्दा महत्त्वपूर्ण थियो, आफ्ना प्रियजनको खबर । टीभी खोल्दा सीएनएनले ठूलै धक्का गएको खबर दिँदै रहेछ । भाइबर, स्काइप, फेसबुक ट्राई गरियो तर कोही पनि अनलाइन थिएन । इन्टरनेसलन ल्यान्ड कोलुसनका निर्देशक माइक टेलरले कुरा गर्न सेलफोन दिए । कार्यक्रम अवधिभर भेट्नासाथ माइक आफ्नो सेलफोन दिँदै भन्थे, ‘घरमा कुरा गर ।’ भाइबरले नि:शुल्क भाइबर आउट सेवा दिएको थियो । कुरा गर्न कुनै कष्ट भएन ।

चौथो झट्कालाई भौतिक रूपमा अनुभव गरिएन । तर यसको भावनात्मक प्रभाव विचित्रको रह्यो । कार्यक्रममा भूकम्पमा ज्यान गुमाउने नेपालीको सम्झनामा एक मिनेट मौनधारण गरियो । त्यसपछि सुरु भयो समवेदनाको ओइरो । लबी, रेस्टुराँ, डिनर टेबल, बाटो, पार्क कहीं पनि कठै बरा भन्नेहरूले छोडेनन् । हाम्रो परिचय सुन्नासाथ मान्छेहरू अनुहार अमिलो बनाउँथे । भगवान्को सम्झना गर्थे र परिवारको खबर सोध्थे । सबैले नेपाल सकियो भन्ने नै बुझेका थिए । कहिलेकाहीँ अति माया पनि दयाजस्तो पो लाग्ने रहेछ । म यस्ता जम्काभेटहरूसँग भाग्न चाहन्थेँ । तर भाग्न सजिलो थिएन । सभाहलमा पनि मान्छेहरू समवेदनाका आँखाले हामीतिरै हेर्थे । उनीहरू हामीलाई केही दिन चाहन्थे । त्यही मेसोमा भारतबाट सहभागी एक भद्र महिला रोहिणीले टोपी थापिछन् । एक हजार डलर चन्दा पो उठेछ ।

हामीलाई बित्यास पर्‍यो । त्यो चन्दा के गर्ने ? प्रश्नहरू थिए, पारदर्शिता र जवाफदेहिताका ? जता पुग्यो उतै सहयोग थाप्दै हिँड्ने हो भने के होला ? यो रकम कसरी र कहाँ खर्च हुन्छ ? तर दिन चाहनेहरूको मन पवित्र थियो । त्यो सहयोगमा न त आडम्बर थियो, न त कुनै स्वार्थ । नकार्न सक्ने अवस्था थिएन । हामीले निर्णय गर्‍यौं कि त्यो रकम प्रशासनिक काममा खर्च गरिने छैन । रकम भूमिहीन किसानहरूको हातमा सीधा पुग्नेछ । अन्त्यमा सिन्धुपाल्चोकका पीडितहरूलाई सहयोग गर्न अभियन्ता जगत बस्नेतको हातमा रकम थमाइयो ।

सेनेगलबाट फर्किंदा बिदाइका हात हल्लाउनेहरू धेरै थिए । एक सातापछि नेपाल आउँदा फेरि मान्छेहरू धूलो टक्टक्याउँदै थिए । उठ्न खोज्दै थिए । विवेकशील युवाहरूको लस्कर गाउँ छिर्दै थियो । मेरा छिमकी मित्र रामकाजी भण्डारी भन्दै थिए, ‘हाम्रो जुनीमा भुर्इंचालोले मरिँदैन दाजु । अर्को ८० वर्षका लागि खड्गो टर्‍यो ।’ मलाई लाग्छ हामीले घटनाबाट मनग्गे सिकेका छौं । त्यसैले अब कहिल्यै नेपालीले भुईंचालोबाट अकाल मर्नुपर्ने छैन ।