भक्तपुर नगरमा ६ हजार घर नभत्काई नहुने

0 8

भक्तपुर, जेष्ठ २५ – भूकम्पको धक्काले भक्तपुर नगरपालिका–८,चोछेंका प्रकाश प्रधानांगको घरको पाँचौं तला भत्किएको छ। बाँकी तला भत्किसकेको छैन। तर भत्किने अवस्थामा छ। प्रकाशको घरसँगैको गोविन्दप्रसाद हाडाको साढे ४ तलाको घरलाई भने भूकम्पले क्षति पुर्‍याएको छैन। तर सँगैको भत्किएको घरले उनको घरको झ्याल भत्काएको छ।

छिमेकीको खस्न तरखर घर भत्काइदिन गोविन्दप्रसादले नगरपालिकामा निवेदन दिएका छन्। ‘घरधनीले केही वास्ता गर्दैन, आफ्नो घर जोखिममा छ,’ उनले भने, ‘उनको अर्कै घर छ, भत्केको घरको वास्तै गर्दैनन्।’ ‘घरधनीले वास्ता नगरेपछि आफैंले टेको लगाइदिएको छु, कुन बेला झर्छ थाहा छैन,’ उनले भने।

भक्तपुर नगरभित्रका पुराना र साँघुरो गल्लीभित्रका ६ हजारभन्दा बढी घर नभत्काई नहुने अवस्थामा रहेको नगरपालिकाले जनाएको छ। ‘भक्तपुर नगरपालिकाको १७ हजार घरमध्ये ६ हजारभन्दा बढी घर नभत्काई नहुने अवस्थामा छन्,’ नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले भने, ‘जसमध्ये ७ सयभन्दा बढी धराप घर भत्काइदिन निवेदन नै आइसक्यो।’

घरधनीले भत्काउन चाहँदा पनि भत्काउन सक्ने अवस्था नभएको रिजाले बताए। नगरपालिकाको साधन, स्रोत र बजेटले नभ्याउने भएकाले घर भत्काएर सामान निकाल्नसमेत समस्या परेको उनले बताए। नगरभित्र एउटा–एउटा गरेर भत्काउन नमिल्ने र सामूहिक रूपमा भत्काउन साधन स्रोतले नभ्याउनेसमेत उनले बताए।

मध्यपुर थिमी नगरपालिकाभित्रका पुराना र साँघुरा गल्लीभित्रका साढे ७ सय जोखिमयुक्त घर भत्काउन निवेदन आइसकेको जानकारी नगरपालिकाले दिएको छ। ‘घर भत्काउन निवेदनको चाङ लागेको छ,’ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत केशव सिलवालले भने, ‘घर भत्काउने पर्याप्त साधन स्रोत नहुँदा समस्या थपिएको छ।’ सडक सफा गर्ने, धराप हटाउनेलगायत काममा चुनौती थपिएको नगरपालिकाले जनाएको छ।

जिल्लाको नयाँ नगरपालिकाहरूमा साँघुरो र पुरानो

गल्ली नहुँदा पनि घर भत्काउने चुनौती नगरपालिकालाई परेको छ। नयाँ नगरपालिकाहरूको जोखिमयुक्त घर भत्काइदिन नगरपालिकासँगै प्रहरीलाई समेत उत्तिनै निवेदन आएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी श्यामकृष्ण अधिकारीले बताए। परिसरमा हालसम्म जिल्लाको सबै नगरपालिकाबाट ७ सय २७ निवेदन परेको अधिकारीले बताए। जसमा २ सय ५० ठूला उपकरणबिना भत्काउन नसक्ने अति जोखिमयुक्त रहेको अधिकारीले बताए।

बस्ती, गल्ली र सडकमा ३–४ तलाको घर जोखिमयुक्त अवस्थामा छन्। जहाँ मान्छे जाँदा अत्यन्तै खतरा र मान्छेले भत्काउन नसक्ने अवस्थामा भएको प्रहरीले जनाएको छ। ‘साधन नभई मान्छेले त्यतिकै भत्काउन सक्ने अवस्था छैन,’ डीएसपी अधिकारीले भने, ‘कतिपय घर ठूलो क्रेन नभई भत्काउन नसक्ने अवस्थामा छन्, कतिपय ठाउँमा साधन लानै समस्या छ।’

क्रेन नहुँदा जोखिम बढाइरहेको घरहरू भत्काउन समस्या आएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। पछिल्लो समय आवास तथा भौतिक योजना मन्त्रालयले जोखिमपूर्ण भत्काउने भन्ने निर्णयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको प्राविधिक टोलीलाई खटाए पनि उपयुक्त साधन स्रोतको अभाव हुँदा कार्य अगाडि बढ्न नसकेको कार्यालयले जनाएको छ।