केही मीठा, केही नमीठा गीतहरू अनुभूति

0 30

काठमाडौ, जेष्ठ २५ – मीठा गीतहरूको स्वाद यति गाढा हुन्छ कि तिनको व्याख्या जिब्रोको वशमा हुँदैन, शब्दको वशमा हुँदैन । तर, जिन्दगी केवल मीठा गीतहरूको सङ्ग्रह मात्रै होइन । नमीठा गीतहरू हाम्रा रोजाइ नहोलान् पक्कै, तर यी अकाट्य हुन्छन् र अटेरी पनि । केही नमीठा गीतहरूले यसरी लखेटिरहन्छन् जिन्दगीभर, तिनलाई गुनगुनाउँदा पनि दुख्छौं हामी, नगुनगुनाउँदा पनि दुख्छौं । दुख्नु जीवनको साझा नियति हो ।

भर्खरै एउटा बीभत्सता घटेको छ हामीमाझ । भर्खरै एउटा दुर्दशाले यसरी अट्टहास गरेको छ, त्यो अट्टहासको बाछिटाले हाम्रो जीवनको लयलाई नै तलमाथि पारिदिएको छ । गत वैशाख १२ को भैँचालो एउटा यस्तो गीत हो, जुन गीतलाई हामीले चाहेर, नचाहेर जिन्दगीभर गाइरहनुपर्नेछ । यसका प्रभाव र दुस्प्रभावहरूको एउटा पोको हाम्रो पिठ्युमा झुन्डिएकै हुनेछ सधैं । जुन पोकोको बिस्कुन फुकाएर कहिले हामी रुनेछौं, कहिले रुँदारुँदै हाँस्नेछौं । प्रकृतिको क्रूर ठट्टामाथिको विजयमा पोखिने त्यो रुन्चे हाँसो आफैंमा एउटा महानाटकभन्दा कम हुनेछैन । त्रासद महानाटक ।

भैँचालोको त्यो दिन म घरमा एक्लै थिएँ । ज्वरो आउँदा शरीरसम्म र कसैले मन दुखाउँदा मनसम्म कामेको अनुभव थियो मसँग । त्यो दिन पहिलोपटक घर थर्थरी कामेको र हल्लिएको दृश्यसामु थिए । अघिल्लो दिन मात्र छ वर्षको छोरा पहिलोपटक एक्लै मामाघर गएको थियो । सोचेकी थिएँ, आमाको पछ्यौरीबाट फुक्काफाल ऊ आफ्नै तरिकाले खेलोस् त्यहाँ, आफ्नै तरिकाले दौडोस् ! लडेछ नै भने पनि आफैं उठ्नुपर्छ सोचेर उठोस् एक्लै ! उसको बाल–आत्मविश्वासको परख गर्न माइतीमा एकदिने छुट्टी मनाउन पठाएकी थिएँ ।

तर मलाई थाहा थिएन, उसले जिन्दगीमा बहत्तर सालको भैँचालो पनि आफ्नी आमाको बेगर नै एक्लै भोग्नेछ त्यहाँ । भैँचालो आउने बेला उभिरहेको जमिन हल्लिएपछि सन्तुलन मिलाउन नसकेर लडेछ र हातमा चोट लागेछ उसको । भैँचालो आउँदा नरोएको छोरा, जब म उसलाई लिन बेलुका माइती गएँ, भक्कानिएर रोयो । आधा घन्टासम्म त रुँदै मलाई अंगालोबाट फुत्कनै दिएन । मलाई थाहा थियो, पोखिएको त्यो उसको आँसु मात्र थिएन, बाँध बाँधेर राखेको संवेदना र सन्त्रासको भेल थियो ।

छ वर्षको एउटा बच्चाले समेत आँसु कसरी लुकाएर राख्न सकेको होला ? रुनलाई सुरक्षित काख नै खोजेर कसरी आँसु थामेर बस्न सकेको होला ? आँसु लुकाउने कला कसरी सिकेको होला ? जिन्दगीका कतिपय आधारभूत संवेदनाहरूलाई हुर्कन र हुर्काउन उमेर चाहिन्न रहेछ । भैँचालोको दिन नाबालक छोराका आँखाहरूलाई पढेर मैले सिकेको पाठ थियो त्यो । ओशो भन्छन्, ‘बाँच्दा प्रत्येक दिन अन्तिम दिनजस्तो गरेर बाँच ।’ सुन्दा रमाइलै लाग्थ्यो मलाई पनि अन्तिम दिनको कुरा । तर मजस्तो एउटा आम मान्छेको निम्ति प्रत्येक दिन आफैंमा अन्तिम र उत्सवमय बन्न कहाँ सम्भव हुनु ?

भोलिजन्य सपनाहरू बग्रेल्ती–केही सपनाहरूमा बाँच्नु । रहरहरू बग्रेल्ती–केही रहरहरूमा बाँच्नु । योजनाहरू बग्रेल्ती–केही योजनाहरूमा बाँच्नु । पर कतै आफैंले आफ्नो निम्ति निर्दिष्ट गरेको लक्ष्यमा पुग्न आज बाटोहरूमा बाँच्नु, पदचापहरूमा बाँच्नु । टाकुरा चुम्ने महत्त्वाकांक्षा र अठोटमा हिँडिरहन मन पराउने एउटा यात्रीका निम्ति जहाँ टेक्यो, त्यही टेकाइ कसरी अन्तिम हुन सक्न्छ ? म यस्तैयस्तै सोच्थेँ भैँचालो अघिसम्म ।

भैँचालो र भैँचालोपछिका लगातारका परकम्पहरूले पस्केको सत्य र सिकाएको पाठ बेग्लै थियो । यो धरा कम्पनले के–के सिकायो, म भन्न सक्दिनँ तर प्रत्येक पललाई अन्तिम पल सम्झेर बाँच्नुको पाठ भने राम्रै सिकायो । प्रत्येक पललाई अन्तिम पल सम्झेर बाँच्नुको स्वाद भने यसले चखायो । कसैलाई फोन गरेर फोन राख्न पाएको छैन, त्यही फोन अन्तिम फोनजस्तो लाग्ने । कसैलाई भेटेर फर्कन पाएको छैन, त्यही भेट अन्तिम भेटजस्तो लाग्ने । पढ्दै गरेको किताबको प्रत्येक हरफ नै अन्तिम हरफजस्तो लाग्ने । फेसबुकमा राखेको प्रत्येक स्टाटस नै अन्तिम स्टाटसजस्तो लाग्ने । ट्विटरमा गरेको प्रत्येक ट्विट नै अन्तिम ट्विटजस्तो लाग्ने ।

अरू त अरू, आफैंले फेरिरहेको प्रत्येक श्वास नै अन्तिम श्वासजस्तो लाग्ने । सबैभन्दा प्रिय मान्छेलाई हेरेर फर्कंदा त्यही हेराइ नै अन्तिम हेराइ होजस्तो लाग्ने । मायाले छँ‘दाखेरिको त्यो छुवाइ नै अन्तिम छुवाइ होजस्तो लाग्ने । थाहा छैन, कहिले यो कम्पनको सन्त्रासबाट पूर्णत: मुक्त भएर ब्युँझिएको पहिलो बिहानलाई स्वागत गर्नेछौं ? धर्ती हल्लाउने परकम्पहरू धेरै कम भएका छन्, तर पूर्णत: रोकिएका छैनन् । जीवनमा यसले दिएको धक्काको परकम्प न कम हुनेछन्, न रोकिनेछन् कहिल्यै । अनुभूतिहरू असामान्यबाट सामान्यको बाटोतर्फ हिँडिरहेछन् । तर ‘सामान्य’ आफैंमा कति ‘सामान्य’ छ ? त्यसको हिसाबकिताब राखिँदै जाला सुस्तरी !

सत्य हो, भैँचालोले नेपालका थुप्रै ऐतिहासिक तथा पुरातात्विक महत्त्वका धरोहरहरू ढले । काठमाडौं, भक्तपुरजस्ता सहरले आफ्नो अतुल हिस्सी गुमाए । हजाराँैको ज्यान गयो । हजारौं घाइते भए । तीन लाखभन्दा बढी घरहरू ध्वस्त भए । दस खर्बको आर्थिक क्षति बेहोर्नुपर्‍यो देशले । कतिपय जिल्लामा गाउँका घरहरू उखानमा मात्र सीमित हुने गरी प्रलयको गर्भमै बिलाए ।

सँगसँगै अर्को सत्य के पनि हो भने भएका कतिपय कुराहरू हातबाट छुटे । कतिपय छुटेका कुराहरूलाई भैंचालोले फिर्ता पनि बोलाइदियो । वर्षौंअघि कतै छुटेका सम्बन्धहरूलाई भैँचालोले फेरि जोडिदिएको छ । आ–आफ्नै व्यस्तताका दौडहरू दौड्दा दौड्दै सम्बन्ध र संवेदनाहरू यसरी खातका खात लागेर बसेका थिए कि यो भैँचालोले त्यो खातलाई पल्टाएर हेर्ने मौका दियो । बोलचाल नै बन्द भएका छिमेकीहरू बोल्न सुरु गरे । शत्रुतापूर्वक आँखा तर्नेहरू मित्रतापूर्वक हात मिलाउन थाले । वर्षौंअघिको जिगरी दोस्त, तर मानसपटलबाट मेटिनै लोगेको उसको विम्ब– उसैलाई फेरि फोन गरेर ‘तिमीलाई कस्तो छ ?’ भनेर सोध्नुको मीठास फिर्ता गरिदियो ।

प्रकृतिले कप्कपाएर केही बोल्यो । प्रलयको त्यो भाषाले जीवनको सतल गर्भमा लुकिबसेको एउटा फरक जीवनलाई सतहमा ल्यायो । धेरै अर्थमा यान्त्रिक बनिसकेको मान्छेलाई ‘म जैविक मान्छे पो हुँ’ भन्ने एक तमासको अनुभूति दिएर गयो ।

‘आफू बाँच्नु मात्र बाच्नु होइन, आफूसँगसँगै आफ्ना प्रियजन बाँच्नु मात्र बाँच्नु हो’ भन्ने भावलाई राम्रै प्रमाणित गरिदियो यसपटकको भैँचालोले । नत्र प्रत्येक परकम्पपछि आफू बाँचेकोमा उत्सव मनाएर बसे भइहाल्थ्यो नि, छिनछिनमा किन अरूलाई ‘तिमी ठीक छौ नि ?’ भनेर सोध्न हतारिन्थ्यो मान्छे ?

भैँचालोको सिलसिला नसकिँदै म पनि मेरा अन्य साथीहरूसँगै गोरखा र रसुवा गएँ, मानवीय सहयोगको हिसाबले । मान्छेले मान्छेलाई देखाउने मानवीयतालाई के ‘राहत’ भन्नु ! यो शब्द मलाई सरकारका लागि ठीक छ भन्ने लाग्छ । गोरखाको शिवशक्ति प्राथमिक विद्यालय पनि पुगेँ । त्यो स्कुलको पुनर्निर्माणमा श्रम गर्दै गरेको बाबुराम भट्टराईको फोटो फेसबऽक र ट्विटरमा छ्याप्छ्याप्ती थियो । त्यहाँ उनी पुग्नुभन्दा पन्ध्र दिनअगाडि नै पुगेका थियौं । गाउँलेहरू दु:खमा दु:खी त भइहाल्ने भए तर, दु:खमा विचलितचाहिँ कतै कसैलाई देखेनौँ । ‘चरेस खानु तर हरेस नखानु’ भन्ने नेपाली उखान सुनेर हुर्केकी मान्छे म । न चरेस खानु, न हरेस खानु, दु:खैदु:ख खाँदा पनि कति उन्नत र उर्वर हुन सकेका मान्छेहरू ? पहिलोपटक देखें, गोरखालीको जात कति जब्बर जात रहेछ ! समग्र नेपालीको परिचयलाई ‘गोरखाली’ शब्दले त्यसै कायाकल्प गरेको रहेनछ ।

भर्खरै एक महिनाको छोरा गुमाएको बाबुलाई छोराको मृत्युमा दु:ख मनाउ गर्ने फुर्सदसम्म थिएन । ऊ घरमा भत्किएका अवशेषहरूबाट पुरिएको अन्न खोतल्दै थियो । जीवन निराकार कुरा होइन । यसलाई साहसको आकार दिन खोज्दै थियो । नवौं महिनामा चलेकी गर्भवती श्रीमतीलाई गुमाएको लोग्ने छिमेकमा छोरा गुमाएको आमालाई सम्झाउँदै थियो, ‘नरुनुस् आमा ! भवितव्यलाई कसले टारेर टर्छ र ?’

०५२ सालपछिको लगातारको राजनीतिक अस्थिरता, द्वन्द्व, हत्याहिंसा, चरम निराशा आदि इत्यादिले मान्छेहरू यति थिलथिलो भएका थिए कि मानवीयता भन्ने कुरा नै बिर्सेका थिए धेरैले । पार्टी, धर्म, जातजातिजस्ता अनेकौं पर्खालहरूमा मान्छे यसरी विभाजित थियो । मानिसहरूले आफूलाई जाति वा क्षेत्रको मानिसका रूपमा पहिले सोचेर त्यसपछि मात्रै नेपालीका रूपमा सोच्न थालेको भान हुन्थ्यो । नेपाली मान्छेको प्रारम्भिक परिचय थिएन । बेथितिको सवारीमा बलियो तत्त्व भन्नु ‘विभाजन’ मात्र थियो । राष्ट्रियता र मानवीयता भन्ने कुरा सबैभन्दा पछिल्लो सिटमा खुम्चिएर निरीहतापूर्वक टुक्रुक्क बस्न बाध्य थिए ।

यो धराकम्पले अरू केही गर्‍यो, गरेन ? तर मान्छेहरूभित्र मर्दै गरेको मानवीय संवेदनालाई

ह्वात्तै जगाइदियो । एउटै पालमुनि आए, करोडपति र रोडपति अनि सँगै दु:खसुखका कुरा गरेर रात बिताए । एउटै मैदानमा जम्मा भए, बाहुन, क्षत्री, दलित, गुरुङ, मगर सबै । हामी छुट्टाछुट्टै जातका हौं भन्ने बिर्सेर मान्छे हुनुको भावमा आ–आफ्ना भावना साटासाट गरे । कुन गुट वा पार्टीको को हो ? हिसाबकिताब गर्न बिर्सेर एउटा दुख्दा अर्को दुख्यो र एउटालाई आपत् पर्दा अर्कोले हात दियो । पहाडवासीको ऐयामा तराईवासीले सुम्सुमाए । मानवीयता र राष्ट्रियताको यो भावलाई जगाउन वर्षौं लाग्न सक्थ्यो । भैँचालोले धेरै कुरा सत्यानाश गरे पनि केही कुराको बीजारोपण पनि गर्‍यो । मान्छेलाई पहिलोपटक सबै आवरण फुकालेर विशुद्व मान्छे हुनुको तालिम दिएर गयो ।

गोरखाको घैलुङ बतासेमा सहयोग गरेर फर्केको रात गोरखा सदरमुकाम प्राय: शून्य थियो । घरभित्र कोही थिएनन्, सबै घरबाहिर पालमा सुतिरहेथे । सबैको घरभित्र घरकै शून्यताबाहेक केही थिएन । आँबुखैरेनी पनि उस्तै चकमन्न । अन्नत: बास बस्न कतै ठाउँ नपाएपछि हामी मुग्लिनको नवदुर्गा होटलमा पुग्यौ । जिन्दगीको बीभत्सताले हामी ज्यादै कठोर भएका थियौ वा ज्यादा साहसी कुन्नि ? त्यो चारतले होटलमै बस्ने निणर्य गर्‍यौं हामीले । हास्यास्पद परिदृश्य त्यतिबेला देखियो, जतिबेला होटलका साहु, साहुनी हातमा म्याट, सिरानी र ब्ल्याङ्केट बोकेर नजिकैको स्कुलको चौरमा सुत्न गए । उनीहरूले ‘तपाईहरू पनि घरभित्र नसुत्नुस्’ भन्दाभन्दै पनि हामी त्यो होटलमा सुत्यौं । राति केही भइहाले भाग्ने उपाय पनि थिएन । होटलको मूलढोका बाहिरबाट ताल्चा मारिएको थियो ।

बिहान ५ बजे वरपर लगभग ५ रेक्टर स्केलको भैँचालोले होटल हल्लियो, त्यसपछि भने रातमा हामीले गरेको निणर्यप्रति आफैंलाई डर लागेर आयो । राति त्योभन्दा अलि ठूलो भैँचालो आएको भए के हुन्थो ? जिन्दगीमा एकसाथ डर, सन्त्रास, साहस, दुस्साहस, रोमाञ्चकता घटित भएको थियो । लाग्दै थियो, कुनै ‘एडभेन्चरस’ हलिउड फिल्मका पात्रहरू हामीभित्रै सल्बलाइरहेछन् !

मन हुँडलेर होटलकी दिदी बोलिन् भोलिपल्टको चिया गफमा । ‘त्यत्रो भैँचालोमा पनि नदी किनारको यत्रो अग्लो घर भत्केनछ है दिदी ?’ केशवशरण लामिछानेले सोध्नुभयो हाम्रो टिमबाट । ‘मैले ५२ सालदेखि रातमा ४ घन्टा मात्र सुतेर बनाएको घर हो यो । त्यसै भत्किन कहाँ पाउँछ यसले ?’ उनले यसरी भनिन् मानौं घर एउटा सजीव प्राणी हो, जसलाई यिनैले प्राण भरेकी थिइन् । एउटा सजीव प्राणी जसलाई उनको पसिनाको मूल्य उडाएर भत्किने अधिकारै छैन । यसो भनिरहँदा उनको घरप्रतिको लगाव, पसिना र मेहनतको विश्वास बोलिरहेथ्यो । अर्कोतिर घर भत्केर आफैंलाई पुर्ला कि भनेर नजिकैको स्कुलको चौरमा सुत्न जानुले घरप्रतिको गज्जबको अविश्वास पनि बोलिरहेथ्यो । त्यो विश्वास र अविश्वासको घर्षण पनि आफैंमा हेर्नलायक थियो ।

त्यसो त क्षतिका हिसाबले पोखरा एकदमै भाग्यमानी सावित भयो यसपटक । त्यत्रो ठूलो थर्थरीमा र सय दुई सयभन्दा बढी परकम्पहरूमा पूरै जिल्लामा जम्मा दुईजनाको मृत्यु र केही घरहरू भत्कनुलाई क्षतिको हिसाबले नगन्य नै मान्नुपर्छ । व्यक्तिगत रूपमा भन्नऽपर्दा तनहुँमा मेरै आफ्नै माइतीघरका भित्ताहरू चर्किए । नब्बे सालको भैँचालोमा जन्मिएकी मावलपट्टिकी हजऽरआमा सीतापाइलाको चारतले घर भत्किएर जमिनमा पूरै धस्सिँदा त्यही च्यापिएर बितिन् । पछि उनको क्षतविक्षत शव निकालियो भग्नावशेषबाट । माइजू जीवनभरलाई शारीरिक रूपमा अशक्त भइन्, कैयौ हड्डीहरू भाँच्चिए ।

‘कति दिनदेखि यहाँ हामी घरबाहिर सुतेको सुत्यै छौं । बा, आमालाई भेट्न आउन फुर्सद छैन छोरीलाई । पाल बाँड्दै हिँडेको छ, हिँडेको छ ।’ फोनमा रुँदै आमाले यस्तो गुनासो गरिरहँदा म रसुवाको ठूलो गाउँबाट फर्कदै थिएँ । हाम्रो टिमका तीर्थ श्रेष्ठ, उपेन्द्र पौडेल, सुरेश रानाभाट, सिरोज कोइराला सबैका कानले अजंगको मुद्रामा मुख बाइरहेको बाटोको ‘आँ…’ सुनिरहेको प्रस्टै झल्किन्थ्यो । सिरोजजीको हाइलक्स र उनको ड्राइभिङमा आँखा चिम्लेर विश्वास गर्नु र भाग्यको हातमा सबै कुरा छोड्नुबाहेक अन्य विकल्प थिएन त्यहाँ । रातको नौ बजे रसुवा–काठमाडौंको सडक खण्डमा भर्खरै पहिरोले झरेका ढुंगाहरूलाई छक्याउँदै, अझ भनौं मृत्युलाई छक्याउँदै हिँडिरहेथ्यौं हामी । मान्छे आफ्नो दु:खले दुखुन्जेल मात्र रहेछ आफूलाई कमजोर महसुस गर्ने, जब अरूका दु:खले दुख्न सुरु गर्छ, त्यतबेला साहस र धैर्य कहाँ–कहाँबाट उर्लेर आउँदो रहेछ, रहेछ ? आयो त्यतिबेला पनि ।

आफ्नै आमाको आँसुसँग क्षमा मागेर अन्य धेरै आमाका आँसुहरू पुछ्दाको त्यो खुसी, त्यो सन्तुष्टिको नाम सन्तुष्टि हुँदै होइन । त्यो अरू केही हो, जो हामीले जीवनको शब्दकोशमा पढ्यौ तर अक्षरका शब्दमा कहिल्यै वर्णन गर्न सक्नेछैनौं ।

हामीले अब वर्षौंसम्म गाउने भैँचालोको गीत, केही अर्थमा नमीठा होलान् जरुर, तर सबै अर्थमा नमिठा मात्र हुने पक्का छैनन् । अर्थक्वेक म्युजियमको अवधारणाले साकार रूप लेला, नलेला ! पुनर्निर्माणको बाटोमा हिँड्दै गर्दा गुजरातको भुज मोडेल वा दक्षिण कोरियाको स्यामुएल उनडोङ्गको बस्ती विकास नमुना लागू होला वा नहोला यहाँ ! तत्कालका यी घाउहरूमा खाटा बस्ला वा पाकेर पीपैपीप होला र त्यही पीपमाथि शासन गर्ला अबको कुनै सरकार !

कसैले सोधे भैँचालोको रौद्र अनुहार कस्तो हुन्छ ? हामी बताउन नसकौंला, तर बहत्तर सालको भैँचालो जाँदा हाम्रो आफ्नै अनुहार, हाम्रो बस्ती र देशको अनुहार कस्तो थियो ? जरुर बताउन सक्नेछौं । हाम्रो नातिनी पुस्तालाई सुनाउनका लागि अब हामीसँग भोगाइका अन्य कुनै लायक कथा होलान्, नहोलान् तर भैँचालोको यही एउटा कथा र कथाका उपकथाहरू काफी हुनेछन् ।