पहिरोमा पाँच दिन…

0 12

तातोपानी भन्सार कार्यालयका अधिकृत रमेश खड्का भूकम्पका बेला पाँच दिन तातोपानीको बाटोमा थुनिए । ती दिनहरूको उनको डायरी ।

tatopani

काठमाडौ, जेष्ठ २५ – कार्यालय प्रमुख, अरू भन्सार अधिकृत र अन्य कर्मचारी वैशाख ११ र १२ मा सार्वजनिक बिदा परेकाले १० गते नै काठमाडौं गइसकेका थिए । गेटको ड्युटीमा परेकाले मैले लिपिङ छोड्न नमिल्ने भयो । चीनबाट आयात भएका स्याउ, ऊन, तरकारी, आयोजनाका सामान र गाडीहरू जाँचपास गर्नुपर्दथ्यो । १२ गते गेट ड्युटीको अन्तिम दिन परेकाले काम जति छिटो सक्यो, उति चाँडो काठमाडौं फर्कन पाइन्थ्यो । चीनतिरबाट बिहान ९ बजे ३० वटा जति गाडी लस्करै आइरहेको देखें । मालधनी एवं प्रतिनिधिहरूले जाँचपासका लागि डकुमेन्ट तयार गर्दै थिए । म काठमाडौं जाने मेलोमेसो मिलाउन कोठामा आएँ ।

मितेरी पुलछेउको गेटबाट ‘अफिसर रुम’ मा फर्केको १ मिनेट मात्र भएको थियो । काठमाडौं जानलाई तयार रहन चालकसँग कुरा गर्न थालेको मात्रै थिएँ । त्यत्तिकैमा कम्पनसहित वारि–पारिबाट यस्तो आवाज आयो कि, मानौं पृथ्वीकै अन्त्य हुन लाग्यो । के गर्ने, के नगर्ने दिमागले कामै गर्न छोड्यो । मलाई २०७१ साउनमा सिन्धुपाल्चोककै जुरेमा आएको विनाशकारी पहिरोको सम्झना आयो । जसले १ मिनेटमा डेढ सयभन्दा बढीको ज्यान लिएको थियो र अन्य धन सम्पत्तिको पनि नाश गरेको थियो ।

कार्यालय माथिपट्टि ठूलाठूला पहाड भएकाले ती एकैचोटि आएर सारा लिपिङ बजार पुरिने भयो भन्ने लाग्यो । वारिपारिबाट पहाडहरू खस्न थाले । बाँच्ने आसै मर्न थाल्यो । यता–उता जता गएपनि खुला ठाउँ छैन । माथिबाट खसेका ढुंगा र पहिरोले धूलो उडेर १० मिनेट जति त अन्धकारै भयो । केहीबेरमा धूलो अलि कम भएपछि मालबाहक गाडीहरू पार्किङ गरिराखेको भन्सारतिर लागें । लिपिङमा त्यो नै अरूभन्दा अलि खुला ठाउँ हो । बचेका र घाइते भएका स्थानीय बासिन्दा, घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक, प्रहरी, कर्मचारी सबैजना त्यहीं जम्मा भयौं ।

बालबालिका तथा महिला चिच्याइरहेका र रोइरहेका थिए । कसैको हात, खुट्टा भाँच्चिएका थिए । कसैको घुँडा तथा टाउकोबाट रगत चुहिरहेको देखिन्थ्यो । अधिकांश मानिस हात जोडेर ‘भगवान् बचाउ, बचाउ’ मात्र भनिरहेका थिए । लिपिङका कतिपय मानिस र गाडी पहिरोले पुरिएका थिए ।

फोन सम्पर्क हुन सकेन । आफन्तहरूलाई के भयो भन्ने लागिरह्यो । काठमाडौं बस्ने श्रीमती, छोरा, छोरी र रुकुम बस्ने बा, आमालाई सम्झिएँ । १ घन्टासम्म कसैगरे पनि आफन्तहरूसँग फोन सम्पर्क हऽन सकेन । १ घन्टापछि बल्ल काठमाडौं बस्ने परिवारसँग सम्पर्क भयो र आफू सकुशल रहेको खबर अन्यत्र पनि प्रसार हुन सक्यो ।

भूकम्पको धक्का लगातार आइरहेसँगै वारिपारिबाट ढुंगा र पहिरो खसिरहेको थियो । कतै जान सक्ने अवस्था थिएन । जिउ कसरी जोगाउने भन्ने मात्रै चिन्ता भइरह्यो । कोदारी राजमार्गमा ठूला–ठूला ढुंगा र पहिरो आएर बसेकाले हिँडेर जान असम्भव थियो । २/३ घन्टापछि सबैजना सीधा माथि उकालो लाग्यौं । त्यहाँ अलिकति चउरजस्तो थियो । तर त्यहाँ पनि माथिबाट ढुंगा र पहिरो खसिरहेकाले धेरैजसोले चौकीडाँडा जाने निधो गर्‍यौं । त्यहाँ उच्च माविका भवनहरू भएकाले बस्न सजिलो होला भन्ने ठानेका थियौं । पहिरो र ढुंगा छल्दै करिब आधा घन्टापछि बेलुका ६ बजे चौकीडाँडा पुग्यौं । तर जे सोचेर गएका थियौं, त्यस्तो पाएनौं । विद्यालयका भवनहरू ध्वस्त थिए ।

जमिन भासिएको थियो । अरू घरहरू पनि भत्किएका थिए । पानी परिरहेकाले खानेभन्दा पनि बस्ने चिन्ता हुन थाल्यो । स्थानीय क्लबले त्रिपाल व्यवस्था गरेपनि त्यो पर्याप्त थिएन । किनकि, त्यहाँ ३/४ हजार जति मानिस जम्मा भइसकेका थिए । कार्यालयका शाखा अधिकृत दिलराज पन्त, अरू ४ जना कार्यलय सहायक साथीहरू र म अरू मानिस बसेको त्रिपालमुनि छेउमा गएर बस्यौं । टाउकोभित्र र जिउबाहिर भिजियो पनि ।

अध्यारो हँ‘ुदै गयो । भन्सारका अरू स्टाफसँग सम्पर्क हुन नसकेकाले के भयो होला भन्ने पीरले सताइरह्यो । रात छिप्पिँदै गयो, भूकम्पका धक्काहरू आइरहे । करिब ११ बजे भोटेकोसी नदीको पारिपट्टि चीनतिरको ठूलो पहाड खस्न थाल्यो । जुरे पहिरोजस्तै वारि आएर सबैलाई पुरिदिन्छ कि भनेर अँध्यारोमै मानिसहरूको भागदौड मच्चियो । उनीहरू चिच्याउन र कराउन थाले । करिब १५ मिनेट जतिपछि पहिरो रोकियो । फेरि सबैजना पालमुनि आएर बस्यौं । त्यसपछि पनि भूकम्पको धक्का आउँदा वारिपारिबाट ढुंगा र पहिरो खसी नै रह्यो । हामीसँग लगाएको कपडाबाहेक अरू थिएन । कोठामा पुगेर अरू कपडा र ब्याग ल्याउन सक्ने अवस्थै थिएन । जाडोले लुगलुग कमाउन थाल्यो ।

राति १ बजेतिर नजिकै बसेकी एकजना महिला कराउन थालिन् । मानिसहरूले के भयो भनी सोधे । तर उनले उत्तर दिइनन् । उनलाई दिउँसोको भागदौडले गर्दा सुत्केरी व्यथाले च्यापेछ । कसैले ‘डाक्टर’ बोलाऊ भने । कसैले तातो खानेकुरा पकाएर खान देऊ भनेर आफन्तलाई अह्राए । कसैले लुङ्गी दिन सुझाए । कसैले घरभित्र लैजान सल्लाह दिए । तर उनीहरूले घर भत्किन सक्छ भनेर लैजान मानेनन् । हुन पनि त्यहाँ सद्दे घर कुनै थिएनन् । अनि, पानी परिरहेको त्रिपालमुनि सुत्केरी गराउन तयार पारियो ।

उनीहरूसँग सुत्केरीलाई खानेकुरा र बच्चा समाउने कपडा केही रहेनछ । हामीसँग ओढ्ने पातलो कम्बल एउटा र अलिकति चाउचाउ थियो, त्यही दियौं । एकछिनमा तातोपानी स्वास्थ्य चौकीमा कार्यरत अहेब आइपुगे । प्रत्येक त्रिपालमुनि कम्तीमा एकजनालाई सुत्केरी व्यथा लागेको उनले बताए । बिहानको करिब ५ बजेतिर बच्चा जन्मिएको आवाज आयो । छोरी जन्मिएकी रहिछिन् ।

१३ गते

उज्यालो हुँदै गयो । कोदारी वारिपारिका डाँडाहरू देखिन थाले । अघिल्लो दिन छरपस्ट भएका हामी भन्सारका धेरैजसो साथीहरू एकठाउँमा जम्मा भयौं । अनि कसरी काठमाडौं पुग्ने भनेर सल्लाह गर्न थाल्यौं । हेलिकप्टरले लैजान्छ कि भन्ने आशा थियो । तर २/३ सिट क्षमता भएकाले सबैलाई लैजान सक्ने स्थिति थिएन । किनकि, त्यहाँ धेरै घाइते, बालबालिका, बूढाबूढी तथा महिला थिए ।

कोदारीको एउटा ट्राउट फार्ममा भूकम्पले मरेका माछाहरू पानीमा तैरिरहेका थिए । फार्मधनी भीम मगर दाइले सबैलाई ती माछा सित्तैमा लगेर खान भनेका रहेछन् । ती माछा ल्याएर एकजना स्थानीय दिदीलाई पकाउन दियौं । अलिकति भात बाँडेर माछाको झोलसँग खायौं । पाँचतारे होटलमा खाएको भन्दा बढी स्वादिलो लाग्यो । मरेको माछाले झाडापखाला लाग्छ कि भनेर डराई–डराई खाएका थियौं । भाग्यबस कसैलाई केही भएन ।

ढुंगा र पहिरोले कोदारी राजमार्ग पुरिएकाले चौकीडाँडादेखि बाह्रबिसेसम्म हिँडेर जान एकदमै कठीन थियो । तैपनि हामीले हिँडेर जाने निधो गर्‍यौं, १२ बजे । १२: १५ मा हिँड्न सुरु गर्‍यौं ढुंगा र पहिरो छिचोल्दै । करिब २० मिनेट जति मात्र भएको थियो, तातोपानी धारा नजिकै माथिबाट भयानकसँग पहाड खस्न थाल्यो । त्यो दिन आएको भूकम्पको केन्द्रबिन्दु कोदारी नै थियो । अब यहीं मरिने भइयो भनेर भित्तातिर अडेस लाएर बस्यौं । टाउकै नजिकबाट ढुंगा गुडिरहे, पहिरो खसिरह्यो । करिब १५ मिनेट राजमार्गको भित्तामा बस्यौं । आखैंसामु माथिबाट आएको ढुंगाले लागेर हाम्रो पछि पछि हिँडिरहेकी एक महिला ढलिन् । हामी कता जाने अलमलमा पर्‍यौं । बाटोमुनि बोर्डिङ स्कुल र सानो चौर थियो, त्यतै लाग्यौं । हामी भन्सारका ३/४ जनाको समूह बनाएर हिँडेका थियौं । त्यसैले ‘हामी त बच्यौं तर बाँकीको अवस्था के होला’ भन्ने भई नै रह्यो । न खोज्न जान सकिन्थ्यो, न टेलिफोनमा सोध्न नै । करिब १ घन्टापछि बाँकी साथी पनि त्यहीं आइपुगे । धन्न कसैलाई केही भएको रहेनछ ।

हामी भोटेकोसी नदीको किनारको यस्तो ठाउँमा पुगेका थियौं जहाँ दुवैतिरको पहिरो र ढुंगाले भेटाउन सक्थ्यो । पहिरो लगातार खसिरहेकाले अघि बढ्न सम्भव भएन । तातोपानीका स्थानीय बासिन्दालगायत हामी २ सयजना जति थियौं । चउरमा आगो बालेर रातभर पालैपालो तापेर बस्यौं । आँखा चिम्लिन पनि सकिएन । पानी आउने पाइपहरू सबै चुँडिएका थिए । बनाउन सक्ने कुरै थिएन । तिर्खाले व्याकुल भइरहियो । एकातिर त्यस दिनको भूकम्पको केन्द्रबिन्दु कोदारी, अर्कोतिर परिवारसँग फोन सम्पर्क पनि विच्छेद । पछि थाहो भयो, हामीलाई पहिरोले पुरिसक्यो भन्ने आफन्तलाई लागेछ । राजमार्ग अवरुद्ध भएकाले खोजी गर्न जान पनि असम्भव थियो । १२ घन्टा बिताउन १२ वर्ष जत्तिकै गाह्रो लाग्यो ।

बेलुकी रेडियो नेपालमा गृह सचिव सूर्य सिलवालको अन्तर्वार्ता सुनियो । उनले उद्धार एवं राहतका लागि भारतीय र चिनियाँ हेलिकप्टरहरू आइसकेको र चाउचाउ, बिस्कुट, पानीलगायतका खानेकुराहरू दुर्गम स्थानमा छोडिदिने भने । अनि बाँचिन्छ कि भन्ने आशा पलाएर आयो । लार्चामा ‘ड्राइपोर्ट’ बनिरहेकाले त्यहाँ बस्न समस्या नहोला भनेर भोलिपल्ट बिहान त्यहीँ जाने निर्णय गर्‍यौं ।

१४ गते

बिहान उज्यालो भइसकेपछि साढे पाँच बजेतिर सबैजना लार्चाका लागि प्रस्थान गर्‍यौं । वारिपारिबाट खसिरहेका पहिरो र ढुंगाहरू छल्दै, बाटोमा मानिसहरूका शवहरू कुल्चँदै करिब आधा घन्टामा त्यहाँ पुग्यौं । त्यहाँको अवस्था पनि सोचेअनुरूप थिएन । माथिबाट आएको पहिरोले ड्राइपोर्ट पनि पुरिसकेछ । पानीका पाइपहरू चँ‘डिएका थिए । खोला, नाला, नदी, मूल जताततै धमिलो पानी मात्र बगिरहेको थियो । सुख्खा पहिरोबाट उडेको धूलोले एक अर्कालाई चिन्नै नसक्ने भयौ । हामी के गर्ने भन्ने अन्योलमा पर्‍यौं । न हेलिकप्टर आयो, न उद्धार गर्‍यो, न खानेकुरा छोड्यो । भूकम्पको धक्का र पहिरो आवाजबीच रातभर डराई–डराई त्यहीं बस्यौं ।

१५ गते

उज्यालो भएपछि सबैजना बाहिर निस्कियौं । मुख धुने पानी पनि पाइएन । धमिलो पानी बोतलमा राखेर २/३ घन्टापछि माटो थिग्रिसकेपछि पिउने गर्‍यौं । वरिपरिका शवबाट गन्ध आउन थालिसकेको थियो । झाडापखालाजस्ता महामारी पो फैलिन्छ कि भन्ने डर लाग्न थाल्यो । हामीलाई गृहसचिवले झुठा गफ मात्र दिएका रहेछन् भन्ने लाग्यो । तैपनि बाँच्ने आश कायम थियो ।

भोकमरीको सम्भावना बढेर गयो । घरमा भएजति सामान सबै पहिरोले पुरिदिएको थियो । त्यहाँबाट निकाल्न सम्भव थिएन । तैपनि हामी हेलिकोप्टरको आसैआसमा डराई–डराईदिन रात त्यहीं बस्यौं ।

१६ गते

उज्यालो भयो । के गर्ने भन्ने अन्योलकै बीचमा फेरि पनि हेलिकप्टर कुरिरह्यौं । दिउँसो १ बजेतिर एउटा चिनियाँ हेलिकप्टर आयो । त्यसले १ घाइते चिनियाँलाई मात्र लिएर गयो । एकछिनपछि नेपाली सेनाको र चीनको हेलिकप्टर एकसाथ बसे । नेपालीकोमा हामीलाई बस्न दिइएन । हामी भन्सारका ४ जना जबर्जस्ती चाइनिज हेलिकोप्टरमा कोचिएर बस्यौं । त्यसमा अरू २ जना पनि चढे । ४ सिट क्षमताकोमा २ जना काखमा बसेर ६ जना कोचिएर आयौं । हेलिकोप्टरले चौतारा ब्यारेक ल्याएर छोडिदियो । बल्ल हामीलाई अब बाँच्यौं भन्ने लाग्यो । त्यसपछि हामी अरूसाथीलाई ल्याउँछ कि भनेर त्यहीं कुरेर बस्यौं । बेलुकासम्म नल्याएपछि गाडी चढेर काठमाडौंतिर लाग्यौं ।