‘नतड्पाऊ, बरु गोली ठोक’

0 6
सरकारलाई गंगामायाको हाँक
काठमाडौं: छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकै बेला पति नन्दप्रसादलाई गुमाउन पुगेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफूलाई तड्पाएर राख्नुभन्दा एकैपटक गोली हान्न सरकार र न्यायालयलाई अनुरोध गरेकी छन्। अधिकारी दम्पती न्याय माग्दै अनशनमा बसेका बेला नन्दप्रसादको गत असोजमा मृत्यु भएको थियो। उनको अहिलेसम्म दाहसंस्कार हुन सकेको छैन।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएकी गंगामायाले अनशनमा बसेकै बेला ज्यान गुमाएका पतिको शव बाकसमा थन्काउने र न्याय दिन नसक्ने सरकारकै मान्छेको हातबाट गोली खाएर मर्ने इच्छा रहेको बताएकी हुन्। ‘तड्पिएर बाँच्न झन् धेरै पीडा हुने रहेछ, जुन अब सहन सक्दिनँ।
ममाथि ठूलो घात भयो, म अब मलाई बचाऊ भनेर कसैलाई भन्दिनँ’, पति गुमाएको नौ महिनापछि पहिलोपटक आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पत्रकारसँग उनले भनिन्, ‘मेरो काख र साथ दुवै खोसियो। अब केका लागि बाँच्ने त? न्याय पाउने आस पनि मेटिनै सक्यो।’
गंगामायाले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, एमालेका अध्यक्ष केपी ओली र न्यायालयका पदाधिकारी सबै मिलेरे एकैपटक आफूलाई गोली हान्न भनेकी हुन्। ‘अपराधी हाँसीहाँसी बाँचेको अब म हेर्न सक्दिनँ’, गंगामायाले आफ्ना सुकेका औंला ठडाउँदै भनिन्, ‘मलाई अब अपराधी जोगाउनेसँग लड्नुछैन, सजिलोका लागि मलाई मारिदिए पुग्छ।’
ज्यानमाराको देशमा जन्मिएको रहेछु मलाई बचाउने कोही भएन भन्दै रोएको तेस्रो दिन असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको मृत्यु भएको थियो। नेपालको इतिहासमा नन्दप्रसादको मृत्यु नै पहिलो घटना हो, जुन न्यायको खोजीमा सबैभन्दा लामो समय तीन सय ३२ दिन अनशन बसेर प्राणान्त भएको थियो।
त्यसपछि वीर अस्पतालको एउटा शय्यामा थन्किन पुगेकी गंगामायाको रुवाइ सुन्ने र अपराधीलाई के कारबाही हुँदैछ भन्ने जानकारी दिन कोही पनि पुगेको छैन। ‘भूकम्प जाँदा घसारेर प्रहरीले खुलामञ्चमा लगेका थिए। रात त्यहीं काटें।
त्यसपछि मलाई यी बिरामीका माझ ल्याएर राखेका छन्’, गंगामायाले भनिन्, ‘मेरो छोरा र पति मरेर राज्यलाई के भयो र? यो राज्य चलाउनेलाई अब म रुनु र मर्नुले पनि केही अर्थ दिँदैन।’
तीन वर्षदेखि अस्पतालामै बस्न बाध्य गंगामायाले सरकारले माग पूरा नगरे अबको १० दिनपछि फेरि अनशन सुरु गर्ने चेतावनीसमेत दिएकी छन्। उनको पछिल्लो अनशन गत कात्तिक २ गते मानवअधिकारकर्मीको समूहले तोडाएको थियो।
‘प्रधानमन्त्री आए पनि, मानवअधिकारीवादी आए पनि अबको अनशन तोडिने छैन’, उनले भनिन्, ‘मैले मेरो मनको निर्णय गरिसकें। अब कसैले फकाएर फकिने छैन, मलाईजत्तिको पीडा कसैलाई नपरोस्। मेरो अन्तिम कामना त्यही हो।’
चिकित्सकका अनुसार गंगामायाले तीन दिनदेखि पानीबाहेक खान मानेकी छैनन्। नन्दप्रसादको मृत्युपछि सरकारले चितवन जिल्ला अदालतमा मुद्दा चलाई अभियुक्तलाई जमानतमा छोडेको थियो। जिल्ला अदालतबाट न्याय नपाएको भन्दै गंगामायाले पुनरावेदन अस्पतालमा मुद्दा दायर गरेकी थिइन्।
त्यहाँबाट पनि कुनै सुनुवाइ नभएको भन्दै गंगामायाले फेरि अनशन बस्ने चेतावनी सरकारलाई दिएकी हुन्। ‘सुन्निएका हातखुट्टा पोलेर निद्रा पर्दैन। दाँतको दुखाइले बेलाबेलामा मूर्छा पर्छु, रगतको कमी छ।
शरीर उठाउन सक्दिनँ’, पिठोपानी, जीवनजल र औषधिको भरले बाँचेकी उनले भनिन्, ‘मलाई बचाउन खोज्दा डाक्टरले मात्रै दु:ख पाएका छन्। बरु एक गोली हानेर मारिदिए हुन्थ्यो।’
माओवादीले चितवनमा २०६१ साल जेठ २४ गते आफ्नो कान्छो छोरा १७ वर्षीय कृष्णप्रसादको अपहरणपछि हत्या गरेको दाबीसहित हत्यारालाई कारबाही माग राखेर अधिकारी दम्पती यसअघि पनि पटकपटक अनशन बसेका थिए।
पति नन्दप्रसादको मृत्युपछि एक्लो बनेकी नन्दमायाले प्रश्न गर्दै भनिन्, ‘अपराधीले छोरो मारे, सरकारले पति मार्‍यो, मेरो अमूल्य चिजको क्षतिपूर्ति कसले दिने?’

source:annapurnapost