बेलुका सहमति हुन्छ : उपमहासचिव पौडेल

0 1
काठमाडौं : एमाले उपमहासचिव विष्णु पौडेलले संघीयताको विषय आजै बेलुका टुंगो लाग्ने बताएका छन्।
सोमबार बिहानको बालुवाटार बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै उपमहासचिव पौडेलले  भने, ‘बिहान सकारात्मक छलफल भएको छ। बेलुका हामी एउटा टुंगोमा पुग्छौं । संविधानका विवादमा हामी आजै निश्कर्षमा पुग्छौं ।’
पौडेलले प्रदेशको संख्यामा मोटामोटी समझदारी बनेको बताउँदै भने, ‘सहमतिका लागि हामी लचिलो भएका छौं। आठ प्रदेशमा जान पनि तयार छौं। तर नामांकनको जिम्मा सम्बन्धित प्रदेशसभालाई र सिमांकनको जिम्मा स्वतन्त्र संघीय आयोगलाई दिने गरी आठ प्रदेशमा सहमति गर्न सकिन्छ।’
दलभित्र थप आन्तरिक छलफल र परामर्शपछि बेलुका बस्ने बैठक निर्णयक हुने विश्वास पौडेलको छ । उपमहासचिव पौडेलले  भने, ‘एमाले कांग्रेसका कारण अब सहमति अड्किने अवस्था छैन।’  पौडेलले संविधानको अन्तरवस्तुमा सहमति जुटाउनका लागि एमालेले लचिलो भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
बालुवाटार बैठकपछि एमाले नेताहरु आन्तरिक छलफलका लागि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन्। अध्यक्ष ओलीले जसरी भए पनि आजै सहमति गर्नुपर्ने र सहमति नहुने अवस्था आएमा प्रक्रियामा जानुपर्ने बताएको एक नेताले बताए।
एमाले स्थायी समितिको आइतबार बसेको बैठकले सहमतिका लागि लचिलो बन्ने निर्णय गर्दै आठ प्रदेशमा जान सकिने संकेत गरेको थियो। बैठकमा अध्यक्ष केपी ओलीले नै एमालेले लचिलो भएर संविधान बन्छ भने त्यसका लागि तयार हुनुपर्ने बताउँदै आठ प्रदेशमा जान सकिने प्रस्ताव राखेका थिए  त्यसलाई बैठकले सर्वसम्मपतिले पारित गरेको थियो ।
संविधानको अन्तरवस्तुमा सहमति जुटाउन अध्यक्ष ओली केही दिनदेखि कांग्रेस नेतृत्व र एमाओवादी नेतृत्वलाई समेत मनाउनका लागि निरन्तर औपचारिक तथा अनौपचारिक सम्वादमा सक्रिय भएका छन् ।

– Source:annapurnapost

You might also like More from author