नयाँ महानिर्देशक भन्छन्- काठमाडौंका विमान सार्ने ठाउँ खोज्दैछौं

0 12

२५ जेठ, काठमाडाैं । नेपाल नागरिक उड्यन प्राधिकरणका नयाँ महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन विमानस्थलको बढ्दो एयर ट्राफिक कम गर्न पर्वतीय उडानमा प्रयोग हुँदै आएका विमानलाई अन्यत्र सार्ने तयारी भइरहेको बताएका छन् । त्यस्तो स्थान काभ्रेको धुलिखेल पनि हुन सक्ने गौतमको ठम्याइ छ ।

साना विमानहरुलाई काठमाडौंबाट नसारेसम्म एयर ट्राफिक कम हुन नसक्ने र यस्तो अवस्थामा थप विदेशी विमान कम्पनीलाई उडान अनुमति दिन नसकिने गौतमको भनाइ छ । आफ्नो कार्यकालमा हवाइ सुरक्षाको प्रत्याभूति गराउने, पूर्वाधार विकास गर्ने, नयाँ राडार सञ्चालनमा ल्याउने, नेपाललाई कालोसूचीबाट हटाउने र विमानस्थल सुधारका विविध कामहरू गर्ने गौतमका योजना छन् ।

रतिश चन्द्रलाल सुमनका ठाउँमा नयाँ महानिर्देशक बनेर जिम्मेवारी सम्हालेका गौतमसँग विमानस्थल सुधारका योजनाबारे अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी :
sanjeev gautam (6)
नेपालको उड्डयन क्षेत्रमा धेरै सुधारहरु गर्नुपर्ने चुनौती छ । यहीबेला तपाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक हुनुभएको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ?

– क्यान उड्डयन क्षेत्रको नियामक हुनुका साथै सेवा प्रदायक पनि हो । हामीले एकातिर वायुसेवा कम्पनीहरुको नियमन गर्छौं, अर्कोतिर एरोड्रम अप्रेसन र एयर नेभिगेसन सेवा पनि उपलब्ध गराउँछौं ।

क्यानको सबैभन्दा ठूलो काम हवाइ उडान सुरक्षाको प्रत्याभूति गराउनु हो । मेरो पहिलो प्राथमिकता यसैमा हुनेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) ले २०१३ को अडिट रिपोर्टमा नेपालको एयर अपरेटर सर्टिफिकेट (एओसी) पुनः स्वीकृति प्रकृयामा गम्भीर सुरक्षा चासो देखाएको छ ।

आइकाओले देखाएको कमजोरीलाई आधार बनाएर युरोपियन युनियनले नेपालका सम्पूर्ण वायुसेवा कम्पनीलाई यूरोपेली मुलुकमा उडान गर्न नदिने गरी एयर सेफ्टी लिष्टमा राखेको छ ।

अहिलेको मुख्य काम आइकाओको गम्भिर सुरक्षा चासोबाट मुक्त हुने र ईयूको एयर सेफ्टी लिष्टबाट हट्ने हो । यसका लागि हामीले योजना बनाएर काम गरिहेका छौं । हामीले एओसी प्रदान तथा पुनः स्वीकृतिमा पनि कडाइ गरिसकेका छौं ।

दोस्रो प्राथमिकता भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को ‘फेसिलेसन’ हो । टर्किस एयरलाइन्स दुर्घटना र विनाशकारी भूकम्पपछि हामीलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अभाव राम्रैसँग खडि्कयो ।

भूकम्प गएपछि नेपालकै इतिहासमा २९ अप्रिलका दिन त्रिभुवन विमानस्थलमा ४ सय ४३ वटा उडान अवतरण भए । त्यतिबेला बेला रिलिफ फ्लाइट र नियमित अन्तर्राष्ट्रिय फ्लाइट धेरै भएका थिए । आन्तरिक उडान निकै न्यून थियो ।

जहाजको संख्या बढ्दै जाँदा त्रिभुवन विमानस्थल साँघुरिदै गइरहेको छ । एयर ट्राफिक बढ्दै गइरहेको छ । जहाजहरु कहिलेकाहीँ २ घण्टासम्म आकाशमा होल्ड गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जहाज स्टार्ट गरेको आधा घण्टासम्म पनि उड्न पालो पाउँदैनन् ।

हामीलाई त्रिभुवन विमानस्थलको विकल्प आवश्यक छ । बढीमा सन् २०१७ को डिसेम्बरसम्म भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ । यो विमानस्थल सञ्चालनमा आएपछि धेरै सहज हुने विश्वास लिएका छौं ।

त्रिभुवन विमानस्थलको सेवा सुविधाका विषयमा पनि धेरै चासो भइरहन्छ । विदेशी विमानस्थलको तुलनामा त्रिभुवन विमानस्थलमा उपलब्ध सेवा सुविधाहरु निकै न्यून छन् । विदेशका विमानस्थलको तुलनामा हाम्रो विमानस्थल त्यति राम्रो देखिँदैन ।

65_sanjeev gautam

त्रिभुवन विमानस्थललाई सुविधा सम्पन्न र आकर्षक बनाउन हामीसँग केही योजनाहरु छन् । अहिलेकै अवस्थामा ती योजना अनुसार अगाडि बढेमा त्रिभुवन विमानस्थलमा देखिएका बेथितिहरु हटाउन सक्छौं भने सेवा सुविधाहरु पनि बढाउन सकिन्छ । त्यसमा प्रतिवद्ध पनि छौं ।

तेस्रो प्राथमिकता भनेको पूर्वाधार विकास हो । चौथो प्राथमिकता क्यानको अहिलेको नियामक र सेवा प्रदायकको भूमिका छुट्याउने रहन्छ । भोलीका दिनमा क्यान रेगुलेटरमात्र हुन्छ, एरोड्रम र एयर नेभिगेसन सेवा प्रदायक फरक हुने छ ।

पाँचौं प्राथमिकता क्यानलाई कसरी सशक्त बनाइएर अगाडि बढ्ने भन्नेमा हुन्छ । क्यानमा कार्यरत कर्मचारीलाई मोटिभेट गर्दै अगाडि बढ्छु । साथै, क्यानको आम्दानीका बाटोहरुलाई पनि फराकिलो बनाउँदै अगाडि बढ्न योजना छ ।

त्रिभुवन विमानस्थलमा ठूला बी ७७७ बोइङदेखि हेलिकोप्टरसम्म उडान अवतरण गराइन्छ । यस्तो अवस्थामा बढ्दो हवाइ ट्राफिक कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– हामीलाई थुप्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु एकै ठाउँबाट ह्यान्डल गर्नु परिरहेको छ । त्रिभुवन विमानस्थलको ट्राफिक कम गर्न आन्तरिक उडानका लागि काठमाडौं नजिकै छुट्टै ठाउँ खोजिरहेका छौं ।

हामीले पर्वतीय उडान गर्ने आन्तरिक वायुसेवालाई काठमाडौं नजिकै स्थानान्तरण गर्न सक्यौं भने अहिलेको हवाइ ट्राफिक ४५ प्रतिशत जति कम हुन्छ । छुट्टै विमानस्थलमा साना जहाजहरु ट्वीनअटर, ड्रोनियर, लेट एयरक्राफ्ट, हेलिकप्टर स्थानान्तरण गरे त्रिभुवन विमानस्थलमा जहाजको भिड घट्ने छ ।

अहिले क्यानको कुल आम्दानीको ९० प्रतिशत त्रिभुवन विमानस्थलबाट हुन्छ । त्यसमध्ये ८० प्रतिशत अन्तर्राष्ट्रिय र २० प्रतिशत आन्तरिक सेवाबाट हो । तर, त्रिभुवन विमानस्थलमा ट्राफिक हिस्सा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत अन्तर्राष्ट्रिय जहाजको छ । जसले गर्दा पनि आन्तरिक उडान स्थानान्तरण गर्नैपर्ने देखिन्छ ।

ट्राफिक बढ्दा जहाजको ‘अपरेटिङ कस्ट’ बढिरहेको हुन्छ । हामीले नजिकैका सम्भावित ठाउँको अध्ययन गरिरहेका छौं । उपयुक्त ठाउँ पाउने वित्तिकै पर्वतीय उडान स्थानान्तरण गर्ने काम सुरु हुन्छ ।

आन्तरिक उडान गर्ने साना जहाज स्थानान्तरणका लागि कहाँ कस्तो स्थान खोजिरहनुभएको छ ?

– हामी अहिले उपयुक्त ठाउँको खोजीमा छौं । काठमाडौंको नजिकै, यात्रुहरु सजिलै जान सक्ने, सडकको राम्रो पहुँच भएको उपयुक्त ठाउँ खोज्दै छौं । पहिला धुलिखेलतिर हेरिएको थियो । त्यहाँ पनि अध्ययन गर्छौं ।

स्थानान्तर गर्दा लाग्ने लागत र त्यहाँबाट हुने सामाजिक फाइदा, स्थानान्तरण गरिसकेपछि जहाज होल्डिङमा आउने कमी, वायुसेवा कम्पनीलाई हुने नाफा, अन्तर्राष्ट्रिय उडान ल्याउँदा हामीलाई हुने आम्दानी लगायतलाई आधार बनाएर ठाउँ खोजिरहेका छौं ।

जुन ठाउँ उपयुक्त हुन्छ त्यहाँ पर्वतीय उडान स्थानान्तरण गर्ने प्रकृया सुरु गर्छौं । हामीले दुई महिनाभित्र यसको अध्ययन सिध्याउँछौं । अध्ययन सकिएपछि आएको रिपोर्टअनुसार काम सुरु हुन्छ ।

यही ठाउँमा यति नै समयमा स्थानान्तरण गर्छौं भनेर अहिले नै भन्न सकिँदैन । जुन ठाउँ फिजिवल हुन्छ, त्यहीँ स्थानान्तरण गर्छौं ।

तपाईले पहिलो प्राथमिकता हवाइ सुरक्षा भन्नुभयो, कसरी हवाइ सुरक्षाको प्रत्याभूति गराउनुहुन्छ ?

– जति पनि वायुसेवा कम्पनी छन्, उनीहरुले आफ्नो सेवामा सुरक्षाको प्रत्याभुती गराउनैपर्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको मापदण्डअनुसार हवाइ उडान सुरक्षाको प्रत्याभुती र जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीले लिनुपर्छ ।

नियामक निकायले हवाइ सुरक्षाका लागि आवश्यक रिक्वायरमेन्ट बनाउँछ, प्रोसुडियर बनाउँछ र सेवा प्रदायकलाई ‘फेसिलेटेड’ गर्छ । हामीले जुन सेवा प्रदान गर्न स्वीकृति दिन्छौं, त्यो सेवा हाम्रो कानुनको क्षेत्र र दायराभित्र रहेर सञ्चालन गर्नुपर्छ ।

आइकाओ पनि मानिस र मेसिनको इन्टरफेस भएको ठाउँमा कमजोरी शुन्यमा झार्न सकिँदैन भन्छ । दुर्घटना हुन नदिनका लागि प्रत्येक वायुसेवा कम्पनीहरुले आफ्नो कम्पनीभित्र उडान सुरक्षा व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । अहिले सबै कम्पनीले लागू गरिसकेका छन् ।

पछिल्ला वर्षहरुमा हवाइ दुर्घटना धेरै कम भएका छन् । तर, हामीले धेरै काम गर्‍यौं, दुर्घटना हुन छाडे भन्दैनौं । यो नियमित प्रकृया हो, जबसम्म तपाईले उडान सुरक्षा व्यवस्थापन प्रणालीलाई व्यवस्थित रुपमा लागू गर्न सक्नुहुन्न, तबसम्म उडान सुरक्षा मजबुत भएको भन्न मिल्दैन ।

जबसम्म उडान सुरक्षाको प्रत्याभूति हुँदैन, त्यहाँको वायुसेवा कम्पनी र उड्डयन क्षेत्र फस्टाउन पनि सक्दैन । दुर्घटनालाई जिरोमा झार्न नसकेपनि कम गर्न सकिन्छ । तपाई सधैभरि हिँडेको बाटोमा पनि कहिलेकाँही ठोक्किन सक्नुहुन्छ । तर, बारम्बार ठोक्किन भएन । बारम्बार ठोक्किएमा कारण खोज्नुपर्‍यो । यही समस्या पहिल्याउन हवाइ सुरक्षा व्यवस्थापन प्रणाली लागू गरेका हौं ।

आइकाओको अडिटमा हामी ग्लोबल एभरेजभन्दा तल छौं, हाम्रो उद्देश्य २०१५ भित्र ग्लोबल एभरेजमाथि आउँछौं ।

आइकाओको गम्भीर सुरक्षा चासो (एसएससी) र यूरोपेली युनियनको कालोसूचीबाट कहिलेसम्म मुक्त भइएला ?  

– हामीले योजना बनाएर काम गरिरहेका छौं । यस विषयमा आइकाओका अध्यक्षलाई भेटेर कुरा राखिसकेका छौं । उनीहरुका अनुसार हामीले पछिल्लो समय गरेको प्रगति सन्तोषजनक छ । अहिले हवाइ दुर्घटनामा समेत कमी आएको छ ।

आगामी जुलाई २०१६ सम्ममा आइकाओको सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी)बाट छुटकारा पाउनेमा म विश्वस्त छु । यूरोपेली युनियनले आइकाओको एसएससी र नेपालमा भएका जहाज दुर्घटनालाई आधार बनाएर एयर सेफ्टी लिष्टमा राखेको हो । चलनचल्तीको भाषामा धेरैले ब्ल्याक लिष्ट भन्छन्, तर, यो एयर सेफ्टी लिष्ट हो ।

मलाई आशा छ, २०१६ डिसेम्बरभित्र हामी यूरोपियन युनियनको एयर सेफ्टी लिष्टबाट हट्छौं, यो हामीले दिएको धेरै परको समय हो । हामी त्यो भन्दा अगाडि पनि आइकाओको एसएससी र ईयूको सेफ्टी लिष्टबाट छुटकारा पाउने सम्भावना पनि उत्तिकै छ ।

तपाईले त्रिभुवन विमानस्थल सुधार गर्ने हामीसँग योजनाहरु छन् भन्नुभयो, के हुन् ती योजनाहरु ?

– सामान्यतया मानिसले एयरपोर्टको सुविधा भनेको सरसफाइ, टिकट काउन्टर, खानेपानी र ट्वाइलेट, ट्रली, टेलिफोन सेवामात्र बुझ्छन् । त्यतिमात्र होइन, एयरपोर्ट फेसिलेसन भनेपछि माथि उल्लेखितसहित इमिग्रेसनको सहजता, यात्रु र जहाजको स्मुथ फ्लो, भन्सारको सहजता, ब्यागेज रिसिभ गर्ने समय, त्यहाँको सरसफाई लगायत धेरै पर्छन् ।

sanjeev gautam (2)विदेशी विमानस्थलमा यात्रुले पाउने सबै सेवा सुविधाहरु त्रिभुवन विमानस्थलमा उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।

सेवाहरु उपलब्ध गराउनेमात्र होइन चुस्त समेत बनाउने छौं । विमानस्थलमा सरसफाइ गर्नका लागि आवश्यक बजेट उपलब्ध गराइरहेका छौं ।

विमानस्थलको सुधार तथा फेसिलेसनमा विगतदेखि नै ध्यान दिइए पनि विभिन्न कारणले समस्याहरु यथावत देखिरहेका छन् ।

ती समस्या के हुन् ?

– विशेषगरी मैले देखेको समस्या को-अर्डिनेसनको अभाव हो । एयरपोर्टमा थुप्रै निकायले काम गर्छन् । क्यानले नियन्त्रण होइन, ती निकायसँग को-अर्डिनेसन गर्ने हो, सहजीकरण गर्ने हो । विमानस्थलको सेवा-सुविधा चुस्त बनाउन को-अर्डिनेसनलाई बढी जोड दिन्छौं । हाम्रो उद्देश्य यात्रुलाई बिना कुनै समस्या डिपार्चर र अराइभल गराउने हो ।

उसोभए त्रिभुवन विमानस्थलमा कहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा पाइएला ?

– हामीसँग एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । यात्रुको चाप बढी छ । विगतदेखि नै सुधारको प्रयास भइरहेको छ, तर अपेक्षाकृत सुधार हुन सकेको छैन । जबसम्म यात्रुहरुले सुधारको अनुभूति गर्दैन, तबसम्म मैले जति सुधार भएको छ भने पनि हुँदैन ।

यस विषयमा विमानस्थलका महाप्रबन्धकसँग पनि छलफल गर्छु । के गर्दा विमानस्थललाई बढी फेसिलेटेड गर्न सकिन्छ र कसरी विदेशी विमानस्थलको दाँजोमा लैजान सकिन्छ ? छलफल गरेर ठोस कार्यक्रम ल्याउँछौं । छिट्टै नै यात्रुहरुले अनुभूति गर्ने खालको सुधार विमानस्थलमा हुन्छ ।

अहिले विमानस्थलमा अपेक्षाकृत सुधार हुन नसक्नुमा आपसी संयोजनकै अभाव हो । हामीले त्यहाँ कार्यरत कर्मचारी र स्टेक होल्डरहरुलाई राम्रोसँग काममा लगाउन सक्यौं भने पनि ५० प्रतिशत समस्या समधान गर्न सकिन्छ ।

तपाईले आफ्नो कार्यकालमा को-अर्डिनेसन गरेर काम गर्न सक्नुहोला ?

– क्यानको महानिर्देशक भइसकेपछि सम्पूर्ण कुरा गर्न सक्छु भनेर मात्र हुँदैन । मैले नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो । क्यानका विभिन्न हाँगाहरुले जबसम्म प्रभावकारी काम गर्दैनन्, तबसम्म म सफल हुन सक्दिँन ।

मैले सबै पक्षसँग बसेर छलफल गरी समस्या कहाँ छ, सुधारको उपाय के हुन सक्छ पहिचान गरेर ठोस कार्यक्रम ल्याउँछु । यसअघि सबैले गर्छौं भने तर अनुभूति भएन । मेरो कोसिस अनुभूति गराउने हुन्छ ।

कर्मचारीलाई प्रोत्साहित गरेर जानुपर्छ । हामीले कर्मचारीलाई निर्णयमा सहभागी गराउने, जिम्मेवारी र उत्तरदायित्वसहित उनीहरुलाई अधिकार र सुविधा दिएर काममा लगाउन सकेमा अवश्य पनि राम्रोसँग काम गर्न सकिन्छ ।

 उच्च हवाइ चापमा रहेको त्रिभुवन विमानस्थलको धावनमार्ग भूकम्पपछि थप जीर्ण भएको बताइन्छ । अहिले धावनमार्ग मर्मत गर्दै सेवा सुचारु गर्नु परिरहेको छ । अझै केही एयरलाइन्स नेपाल उडानका लागि पाइप लाइनमा छन् । नेपाल उडान गर्न चाहने नयाँ एयरलाइन्सलाई अनुमति दिनुहुन्छ कि दिनुहुन्न ?

– सबैभन्दा पहिला हामीले हेर्नुपर्ने त्रिभुवन विमानस्थलको क्षमता कति हो । मैले सुरुमै भनेँ, हामीसँग एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थल केही गरी बन्द हुन गए विकल्प हामीसँग छैन । आन्तरिक उडान गर्ने साना जहाजलाई स्थानान्तरण गर्न सकियो भने पनि केही विमान कम्पनीलाई उडान अनुमति दिन सकिन्छ ।

थप एयरलाइन्सले नेपाल उडान गर्न चाहे पनि हाम्रो विमानस्थलले धान्न सक्ने अवस्था छैन भने उडान अनुमति दिनुहुँदैन । हाम्रो ३६ वटा मुलुकसँग एयर सर्भिस एगि्रमेन्ट भइसकेको छ । धेरैजसो मुलुकले नेपाल उडान गर्न चाहिरहेका छन् । तर, एउटामात्र विमानस्थलले यति धेरै हवाइ चाप कसरी थेग्न सक्छ ?

नयाँ राडार जडान भइसकेपछि नेपालको दुई तिहाइ भू-भागमा हामीले सर्भिलेन्स सेवा दिन सक्छौं । हामीले यो भू-भागमा जहाजको अवस्था कस्तो छ भनेर राडारको मनिटरमा हेरेर निगरानी गर्न सकिन्छ

हामीले जहाजको संख्या बढाएर २ घण्टा आकाशमा होल्ड गराउनु हुँदैन । अहिले पनि कतिपय बेला डेढ घण्टासम्म होल्ड गर्नुपर्ने अवस्था छ । कतिपय जहाज डाइभर्टसम्म गर्नुपर्छ ।

हाम्रो विमानस्थलको क्षमता कति हो, कतिवटा वायुसेवा हृयान्डल गर्न सक्छौं, धावनमार्गको अवस्था कस्तो छ, उपलब्ध सेवा सुविधाले कति धान्न सक्छ, सम्पूर्ण कुरालाई मध्यनजर गरी क्षमताभित्र रहेर उडान अनुमति दिनुपर्छ ।

अहिलेकै अवस्थामा नयाँ वायुसेवा कम्पनीलाई पहिलेकै अवस्थामा निरन्तरता दिनसक्ने अवस्थामा रहँदैन । हामीले यो समयसम्म यो-यो कारणले उडान अनुमति दिन सक्दैनौं भनेर स्पष्ट पारिदिनुपर्छ ।

योजना अनुसार सन् २०१८ जनवरीसम्म भैरहवा विमानस्थल सञ्चालन गर्छौं । त्यसपछि धेरै विमान कम्पनीलाई उडान अनुमति दिन सकिन्छ ।

जिल्लामा रहेका कतिपय विमानस्थल स्तरोन्नतीको पर्खाइमा छन् । जिल्लाका विमानस्थल स्तरोन्नती र सञ्चालनमा तपाईको एक्सन के रहन्छ ?

– स्तरोन्नती निरन्तर चलिरहने प्रकृया हो । अहिले हामीले जिल्लामा रहेका अधिकांश विमानस्थलको धावनमार्ग पिच गरिसकेका छौं । धेरै विमानस्थलमा पूर्वाधार बनिसकेको छ । विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल टावर छ ।

दुर्गम क्षेत्रका विमानस्थलमा सिमीकोट पिच भएको छ, बाजुरा पिच छ, डोल्पा पिच हुँदैछ, रारा पिच हुँदैछ, लुक्ला पिच छ, ताप्लेजुङ र भोजपुर पिच हुँदैछ, रुम्जाटार पिच भइसकेको छ । मनाङ, मुस्ताङ र दाङ पनि पिच भइसकेका छन् । पिच नभएका विमानस्थलमा पनि धमाधम पिच गर्ने काम भइरहेको छ ।

कतिपय विमानस्थल अहिले गौचरनमा परिणत भइसकेका छन् । कतिपय विमानस्थल प्रस्तावित छन् । यी विमानस्थल सञ्चालन गर्ने विषयमा तपाई कसरी अगाडि बढ्नुहुन्छ ?

– नेपालमा भएका ५० वटा विमानस्थलमध्ये लगभग ३४ वटा सञ्चालनमा छन् । १६ वटा विमानस्थल सञ्चालनमा छैनन् । सञ्चालनमा नरहेका विमानस्थलको राम्रोसँग निगरानी हुँदैन, झार पलाउन थालिहाल्छ । खुल्ला ठाउँ भएकाले गौचरनमा परिणत हुन्छन् ।

कुनै बेला ती विमानस्थल आवश्यक भएर सञ्चालनमा थिए । अहिले पनि ती विमानस्थल हाम्रै निगरानीमा छन् । भोलि माग भयो भने सञ्चालन गर्छौं । डिजाष्टरको बेलामा यस्ता विमानस्थलले धेरै काम गरे पनि ।

भरतपुर विमानस्थल पहिला पूर्ण रुपमा बन्द भएको थियो, अहिले सञ्चालनमा छ । चन्द्रगढी त्यस्तै हो । समयले माग गर्ने हो ।
अहिले पनि विभिन्न स्थानबाट विमानस्थल निर्माण गर्ने प्रस्ताव आउँछन् । यदि नेपाल सरकारले त्यो ठाउँमा विमानस्थल आवश्यक छ भन्छ भने हामीले टेक्निकल रुपमा फिजिवल भए नभएको अध्ययन गरेर काम अगाडि बढाउँछौं ।

नयाँ विमानस्थल थप्नका लागि राजनीतिक दबाव पनि आउँछ रे नि ?

– मैले यसलाई दबाव भन्दा पनि माग भन्छु । राजनीतिक स्तरबाट यो ठाउँमा विमानस्थल बनाइदिनै पर्‍यो भनेर दबाव आउँदैन । धेरैजसो प्रस्तावहरु स्थानिय स्तरबाट नै आउँछ । हामीले आवश्यकता हेरेर काम अगाडि बढाउँछौं ।

हामीले विमानस्थल निर्माण, सञ्चालन पनि स्थानीय निकाय तथा समुदायसँगको सहकार्यमा गर्छौं ।

जिल्लामा रहेका अधिकांश एयरपोर्ट नाफामा छैनन् नि ?

– क्यान भनेको नेपाल सरकारको एउटा निकाय हो । हाम्रो दायित्व सेवा प्रदान गर्ने पनि हो । रारा विमानस्थलमा भएको लगानीलाई बैंकमा राख्दा आउने ब्याज र उडान सञ्चालन गर्दा हुने आम्दानीसँग तुलना गर्दैनौं ।

sanjeev gautam_400रारामा सेवा सुचारु गर्दा त्यहाँका जनताले कति फाइदा पाए भन्नेतिर हाम्रो ध्यान जान्छ । हामी सामाजिक फाइदा हेर्छौं ।

त्यसकारण बाहिरका विमानस्थल कुन नाफामा छन्, कुन घाटामा छन् भनेर कहिल्यै मूल्यांकन गर्दैनौं । त्यो क्षेत्रमा सरकारले पुर्‍याउने सेवा हामीले दिन सक्यौं कि सकेनौं, हाम्रो ध्यान त्यतातिर छ ।

हामी प्राइभेट कम्पनी होइनौं, जिम्मेवार सरकारी निकाय हौं । यो सबै सरकारी सम्पत्ति हो । सरकारले दिन भनेका सेवाहरु हामीले उपलब्ध गराउनुपर्छ । यसकारण हामीले नाफा हेर्नु पनि हुँदैन ।

अन्त्यमा, विमानस्थलहरु सुविधा सम्पन्न बनाउन आधुनिक प्रविधि प्रयोगमा कत्तिको जोड दिनुहुन्छ ?

– हामीले त्रिभुवन विमानस्थलमा अर्को राडार जडान गर्दै छौं । त्यो राडार कहिलेसम्म जडान भइसक्छ अहिले नै समय तोक्न सक्दिँन । राडार जडान भइसकेपछि नेपालको दुई तिहाइ भू-भागमा हामीले सर्भिलेन्स सेवा  दिन सक्छौं । हामीले यो भू-भागमा जहाजको अवस्था कस्तो छ भनेर राडारको मनिटरमा हेरेर निगरानी गर्न सक्छौं ।

विमानस्थलमा आवश्यकता अनुसार नयाँ प्रविधि जडान गर्दै जाने हो, यो एयर ट्राफिकले निर्धारण गर्ने कुरा हो । त्रिभुवन विमानस्थलमा बाध्यता हो, एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको हुँदा धेरै ट्राफिक छ ।

त्यो बाहेक साना विमानस्थलमा पूर्वाधार विकास गर्दा के कस्ता सुविधाहरु दिने भन्ने त्यहाँको ट्राफिकले माग गर्ने कुरा हो । ट्राफिक बढ्दै गयो भने सुविधाहरु पनि बढाउँदै जानुपर्‍यो ।

एउटा उडानका लागि हामीले भएभरका सुविधाहरु विमानस्थलमा राख्न सक्दैनौं । सामाजिक सेवा भन्दा भन्दै पनि ‘कस्ट बेनिफिट’ पनि हेर्नुपर्छ । हामीले रारा विमानस्थलमा भएभरका इक्युपमेन्ट राखेर के गर्ने ? त्यहाँ आवश्यक सामान्य पूर्वाधार राखेका छौं ।

 source:onlinekhabar