सहमतिका लागि प्रदेश संख्यामा एमाले लचिलो हुने

0 5
काठमाडौं : एमालेले संविधानका अन्तरवस्तुमा सहमति जुटाउनका लागि प्रदेश संख्यामा लचिलो हुने  निर्णय गरेको छ।
संविधानका अन्तरबस्तु र राष्ट्रिय सरकारका विषयमा छलफल गर्न सिंहदरबारमा आइतबार अपरान्ह बसेको एमाले स्थायी समितिको बैठकले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको हो। छ प्रदेशको विकल्पमा छलफल भइरहे पनि आवश्यक परे ८ प्रदेशको विकल्पमा पनि जान सकिने निर्णय एमालेले गरेको छ।
बैठकमा अध्यक्ष केपी अोलीले एमाले केही लचिलो भएर संविधान बन्छ भने त्यसका लागि तयार हुनुपर्ने बताउँदै प्रदेश संख्यामा लचिलो हुने प्रस्ताव राखेका थिए। त्यसलाई बैठकले पारित गरेको थियो।
बैठकले संविधानका अन्तरवस्तु टुंगो लगाएपछि मात्रै राष्ट्रिय सरकारको तयारीमा लाग्ने निर्णय पनि गरेको छ। बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले एमालेको पहिलो प्राथमिकता संविधान निर्माण नै भएको निर्णय भएको बताए। ज्ञवालीले संविधानको अन्तरवस्तुमा सहमति कायम गर्न लचिलो हुने बताउँदै नामांकन प्रदेशसभालाई र सिमांकन संघीय आयोगलाई दिने गरी छ देखि ८ प्रदेशसम्म जान एमाले तयार रहेको बताए।उनले भने, संविधानमा सहमति कायम गरेपछि मात्रै राष्ट्रिय सरकारको एजेन्डमा जाने निर्णय भएको छ।
अपरान्ह सबा तीन बजे सुरु भएको बैठकमा बालुवाटारको शीर्ष बैठकमा संघीयतालगायत संविधानका अन्तरवस्तुमाथि दलहरुको बैठकमा भइरहेको छलफल र सहमतिको संभावनाबारे व्रिफिङ भएको थियो।
एमाले स्थायी समितिको यसअघिको बैकठले पाँच प्रदेशको अवधारणा ल्याएको थियो । मुख्य दलहरुको शीर्ष बैठकमा छ वा आठ प्रदेशको विकल्पमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

– Source: annapurnapost