नक्कली नेपाली नोटसहित प्रधानाध्यापक समातिए

June 07 2015 15:24
एक लाख ३१ हजार नक्कली नेपाली नोट बरामद
वीरगन्ज : प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सूर्जाहा गाविसस्थित संसारी माई निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक रामानन्द राउत कुर्मी रहेका छन् । ४८ वर्षीय कुर्मी पर्साको पोखरीया नगरपालिका–१४ रानीगन्ज रहरिया गाँउका बासिन्दा हुन् ।

उनको साथबाट पाँच सय दरका एक लाख ३१ हजार नक्कली नेपाली नोट बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरबहादुर ओलीले बताए ।

आइतवार बिहान रानीगंज रहरीयाबाट सूर्जाहास्थित विद्यालय हिँडेका प्रधानाध्यापक कुर्मीलाई प्रहरीले बीच बाटोबाटै नेपाली नक्कली नोटसहित पक्रेको हो ।


कुर्मीबाट बरामद नक्कली नेपाली नोट
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक निशान थापाको नेतृत्वमा खटिएको टोलीले कुर्मी सवार ना४प ९७९५ नम्बरको मोटरसाइकलको ब्याक लाइट भित्रबाट पाँच सय दरका दुई सय ६२ थान नक्कली नेपाली नोट बरामद गरेको प्रनाउ ओलीले जानकारी दिए ।

नक्कली नेपाली नोटसहित पक्राउ कुर्मीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । स्थानीयवासीले भने कुर्मीलाई प्रहरीले फसाएको आरोप लगाएका छन् ।

– Source:annapurnapost

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top