विद्यार्थीले जलाए गुरुको कुर्सी

0 6

पोखराः पोखरा विश्वविद्यालयको स्कुल अफ ईन्जिनियरिङ्गका विद्यार्थीहरुले आइतबार गुरु बस्ने कुर्सी जलाएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वमा आएका करिब २४ जना विद्यार्थीको समूहले माग पुरा गर्न दबाब दिँदै विश्वविद्यालयका कार्यक्रम संयोजकहरु बस्ने कुर्सी सडकमा निकालेर जलाएका हुन् ।

करारमा कार्यरत शिक्षकको मानहानी गरेको, प्रयोगशाला सुविधायुक्त नभएको र आन्तरिक परीक्षा प्रभावकारी नभएकोले सुधार्नुपर्ने विद्यार्थीहरुको माग थियो ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले आफ्नो माग पुरा नगरेको आरोप लगाउँदै कुर्सी जलाइएको स्कुल अफ इन्जिनियरिङले जनाएको छ ।

‘माग पुरा नगरेको भन्दै एक्कासी एक हुल विद्यार्थी पसेर कुर्सी निकाली आगो लगाए,’ इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स कार्यक्रम संयोजक मनोजकुमार सिंहले भने ‘आगजनीबाट दश हजार रुपयाँ बराबरको क्षति भएको छ ।’

सिभिल इन्जिनियरिङ्गतर्फका कार्यक्रम संयोजक अर्जुन गौत्तम र सिंहले घटनाको निन्दा गरेका छन् । शिक्षक र कर्मचारीले आगजनीमा संलग्न विद्यार्थीहरुलाई कारबाही माग गरेका छन ।
source:annapurnapost