राष्ट्रपतिद्धारा नुवाकोट र रसुवाको अवलोकन

0 4

२४ जेठ, नुवाकोट । राष्ट्रपति डा. रामवरण यादवले बैशाख १२ गतेको भूकम्पबाट प्रभावित नुवाकोट र रसुवाको स्थलगत अवलोकन गरेका छन् । राष्ट्रपतिसँग हेलिकोप्टरमा गृहमन्त्री बामदेव गौतम र साना दलका नेताहरु पनि गएका थिए ।

भूकम्पले क्षति पुर्‍याएको विभिन्न स्थानको अवलोकन गर्दै राष्ट्रपतिले सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताए ।

एकता, संयमता, धर्यता नै नेपालीको विशेषता भन्दै उनले ध्वस्त भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सरकारले लिने नेतृत्वमा जनताहरुलाई पनि एकीकृत हुन आग्रह गरेका छन् । भूकम्पले पुर्‍याएको क्षतिमा सबैपक्ष एकै स्थानमा उभिएर राष्ट्र निर्माणको अवसरको रुपमा लिनुपर्ने उनले बताए ।

गृहमन्त्री बामदेव गौतमले सरकारले प्राकृतिक प्रकोपको सामना डटेर गरेकाले धेरै क्षति हुनबाट जोगाएको दाबी गरे । गृहमन्त्री बामदेव गौतमले राहत वितरणमा अनियमितता भए नभएको छानबिन गर्ने बताए ।

कसैले भ्रष्टाचार गरेमा कारबाही गर्ने निकाय धेरै भएको भन्दै उनले भ्रष्टचारीहरु कसैलाई पनि नछोड्ने चेतावनी दिए । थानसिंहको छहरेको जस्ताकाण्डलाई जोड्दै मन्त्री गौतमले प्रधानमन्त्रीको निर्देशन विपरित कसैले अनियमितता गरेको ठहरिएमा हदैसम्मको कारबाही हुने बताएका छन् ।

राष्ट्रपति, गृहमन्त्रीसहित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका अध्यक्ष सिपी मैनालीसहितको टोलीले भूकम्पले क्षति पुर्‍याएको रसुवाको धुञ्चे, रसुवागढी नाका, नुवाकोटको विदुर, चौघडा लगायतको स्थानको स्थलगत तथा समग्र जिल्लाको हेलिकोप्टरबाट अवलोकन गरेके छ ।

– See more at: http://www.onlinekhabar.com/2015/06/285769/#sthash.qRrMpGHW.dpuf