भूकम्पमा नेपाल प्रहरीले खेलेको भूमिकाबारे जानकारी

0 6

http://dalquestnews.org/wp-content/uploads/2015/05/image-900x607.jpg

काठमाडौँ, २४ जेठ । नेपाल प्रहरीले भूकम्पपछि गरेको उद्धार, राहत तथा पुनःस्थापनामा आफूले प्रभावकारी भूमिका खेलेको खेलेको दाबी गरेको छ ।

प्रहरी मुख्यालय नक्सालमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आफ्नो सङ्गठनबाट गरेको कार्यको समीक्षा, उद्धार तथा राहत, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका बारेमा जानकारी गराएको थियो ।

सो अवसरमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले विपत् व्यवस्थापनका क्रममा उद्धार तथा राहतसम्बन्धी, शव उत्खनन, हराएका व्यक्तिको खोजी कार्य, बेपत्ता तथा फेला परेका नागरिक, नेपाल प्रहरी अस्पतालमा उपचारको विवरण, घुम्ति स्वास्थ्य टोली परिचालनलगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

नेपाल प्रहरीले भूकम्प प्रभावित जिल्लामा ४१ हजार ७७६ सुरक्षाकर्मी खटाएको थियो । जसमा अस्थायी शिविर, साइकल, मोटरसाइकल, मोबाइल र पैदल गस्ती गर्नुका साथै सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रहरीले भूकम्पबाट अवरुद्ध सडक खुलाउन तथा कालोबजारी, चोरी, मानव ओसारपसारजस्ता सम्भावित अपराध हुन नदिन प्रहरी परिचालन गरी सुरक्षा जाँच कडाइ गरेको जनाएको छ ।

भूकम्पमा परी पुरिएका तथा मरेकामध्ये चार जनाको जीवितै उद्धार गर्नुका साथै ५९ जनाको शव झिकेको थियो । नेपाल प्रहरी अस्पतालले भूकम्पबाट घाइते भएका ४६६ जनाको उपचार तथा काठमाडौँ उपत्यकाको कपन, बूढानीलकण्ठ, काभ्रेस्थली, खोकनालगायत ठाँउमा घुम्ति शिविर सञ्चालन गरी दुई हजार २२१ जनालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।