भाडा तिरेर त्रिपालमा बास

0 3
दार्खा (धादिङ) : अलिकति समथर जमिन। चारैतिर घोगा लाग्ने बेला भएको मकैको बोट। मकैबारीभित्रै लस्करै २६ घरधुरीका छुट्टाछुट्टै त्रिपालका घर। नजिकै भत्किएका केही घरका भग्नावशेष। वैशाख १२, १३ र २९ गते गएका शक्तिशाली भूकम्पबाट घर भत्किएर विस्थापित दार्खा गाविस ८ का धार्नावासीको अस्थायी शिविरको दृश्य हो यो।
भूकम्पले घर भत्काएपछि त्रिपालको अस्थायी छाप्रो हालेर बसेको जग्गा भने उनीहरूको होइन। अरूकै बारीमा त्रिपाल हालेका धार्नाका २६ घरधुरीले महिनाको चार सय रुपैयाँ जग्गावाला हर्क गुरुङ, चिम्से तामाङ र विमल तामाङलाई भाडा बुझाउँछन्।
भूकम्पबाट धार्नाटोलका ६५ घर तहसनहस भए। चारजनाको १२ गतेको भूकम्पले ज्यान लियो। १२ जना पुरिएर गम्भीर घाइते भए। भूकम्पपछि धार्ना गाउँमाथिको सानेगङ पहाडबाट दिनहुँ पहिरो झर्न थाल्यो। बाँकी रहेका घर पनि २९ गतेको भूकम्पले भत्काइदियो।
 जमिन पनि भासिन थालेपछि उनीहरू विस्थापित हुनुपर्‍यो। अन्य ठाउँमा जग्गा हुनेहरू आफ्नै जग्गामा गए भने अलिकति भएको जमिन पनि
चिराचिरा परेर भासिन थालेपछि २६ घरपरिवार अहिले धार्नागाउँकै फेदीमा रहेको आँखुखोलाको छेवैको अरूकै जग्गा भाडामा लिएर त्रिपालमुनि बस्दै आएका छन्।
दार्खा-८ का शमशेरबहादुर घलेले भने, ‘पहिलो दिन त के गर्ने कसो गर्ने केही मेसो पाइएन। खुला आकाशमुनि नै रात बिताइयो। भोलिपल्ट हेर्दा गाउँमाथिबाट पनि पहिरोको जोखिम बढ्यो।
घरजग्गा भएको ठाउँमा पनि जताततै चिराचिरा पर्न थालेपछि त्यहाँबाट विस्थापित भयौं तर जाने ठाउँ कहीं भएन। अनि यही मकैबारी फाँडेर महिनावारी चार सय रुपैयाँ भाडा तिर्ने सहमतिमा त्रिपाल हालेर बसेका छौं।’
उत्तरी धादिङको बस्ती जोखिममा परेको र विस्थापितलाई छिट्टै पुनर्बास गराउनुपर्नेजस्ता समाचार रेडियोबाट घलेले दिनहुँ सुन्छन् तर जोखिममा परेको धार्नामा सर्वेक्षण गर्न प्राविधिक टोली अहिलेसम्म पनि नआएको उनले बताए।
घले भन्छन्, ‘अहिले हामीलाई सुरक्षित लागेको आँखुखोलाको किनारमा छौं। जग्गावालाले त यहाँ तल पनि जमिन भासिएको छ, खोला बढेको बेला जोखिम हुन्छ भनेका छन् तर के हुने हो पत्तो छैन।’
अरूको जग्गा भाडामा लिएर बस्दै आएकी धार्नागाउँकै सरिता तामाङले भनिन्, ‘आफ्नो जग्गामा बस्न मिल्ने अवस्था रहेन। अरूको मकैबारी फाँडेर बसेका छौं। घरमा भएको अन्नपात र लुगाफाटो केही निकाल्न सकिएन।
पैसा हुनेले त भाडा तिर्छन् होला। अब पैसा नहुनेले के गर्ने? सरकारले दिएको रासन पनि कति दिनलाई पुग्छ? आफ्नो केही छैन, अब खानेकुराको त केही व्यवस्था नहुने भइसक्यो। त्रिपाल टाँगेर बसेको जग्गाको भाडा खै कसरी तिर्नु?’
आठ वडाका ६५ घरधुरीले वडा नागरिक मञ्चको भेला बोलाएर अन्यत्र ठाउँमा पुनर्बासका लागि गाउँ विकास समितिसँग आग्रह गर्ने निर्णय गरेका छन्।
वडा नागरिक मञ्चका संयोजक मरिचमान तामाङले भने, ‘धार्नावासी अहिले एकदमै पीडित छन्। जमिन जताततै फाटेको छ। गाउँमाथिबाट सुख्खा पहिरो पनि झर्न थालेको छ। बर्खा झन् जोखिम हुने ठानेर हामीले गाउँलेलाई नै अन्यत्र पुनस्र्थापना गराउन गाविसलाई सुझाव दिन्छौं।’
सहाराविहीन वृद्ध
भाडा तिरेर बसेका २६ घरधुरीमध्ये एउटा त्रिपालमा छन् ७६ वर्षीयख्याबोङ तामाङ। गत वर्षको फागुनमा प्राकृतिक विपत्तिमै एउटा छोरा गुमाएकाख्याबोङले वैशाख १२ को महाभूकम्पमा पत्नी पनि गुमाए। चार भाइ छोरामध्ये अहिले एउटा भारतमा रहेको र गाउँमा भएका दुईजना छोराले हेला गरेपछि उनी सहाराविहीन छन्।
विस्थापित अन्य मानिसले नै खान दिए पनि उनीहरूले छाडेर गएको दिन के हुने भन्ने चिन्ताले उनलाई सताएको छ। धार्नागाउँकै मरिचमान तामाङले भने, ‘यस्ता सहाराविहीन वृद्धवृद्धालाई सरकारले पनि हेर्नुपर्ने हो।

– source:annapurnapost