बारपाकको पेस्तोल प्रकरण साम्य

0 7
गोरखा : बरामद भएको पेस्तोल फिर्ता नगर्ने, पक्राउ परेको स्थानीय गुन्डा ‘बाघे’ लाई छाड्ने मौखिक समझदारीपछि बारपाकमा शुक्रबार दिनभर भएको तनाव साम्य भएको छ।
बारपाक ४ का धनबहादुर घले (बाघे) दुईवटा पेस्तोलसहित शुक्रबार दिउँसो पक्राउ परेपछि स्थानीय उच्छृंखल युवाहरूले प्रहरीचौकी, सशस्त्र र नेपाली सेनाको शिविरसमेत घेराबन्दी र नाराबाजी गरेका थिए। साथै बाघे पक्राउ गर्ने चारजना प्रहरीमाथि कुटपिट र प्रहरी चढेको गाडी पनि तोडफोड गरेका थिए।
प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाका अनुसार सदरमुकाममा पनि सुरक्षा समिति र राजनीतिक दलबीच सोही समझदारी बनेको थियो। जिल्लाका राजनीतिक दलको आग्रहमा बारपाकमा पनि तीनै निकायका सुरक्षाकर्मी र स्थानीय राजनीतिक दलबीच सोही समझदारी बनेको थियो।
‘थप छलफल शनिबार बिहान गर्ने भनिए पनि शुक्रबार साँझ भएको समझदारीपछि शनिबार बैठक गर्नु परेन’, प्रजिअ तिमल्सेनाले भने, ‘त्यहाँको स्थिति साम्य भएपछि आउँदो मंगलबार बारपाकमा राष्ट्रपतिको भ्रमण गर्ने वातावरण सिर्जना भएको छ। हामी त्यसमै लागेका छौं।’
समझदारीपछि प्रहरीको घेरा तोडेर भागेको बाघेलाई हत्कडीमुक्त गरिएको थियो भने स्थानीय उच्छृंखल युवाहरूले सुरक्षाकर्मीको शिविरमा घेराबन्दी गर्न छोडेका थिए। साथै उनीहरूले बाघे पक्राउ गर्ने प्रहरी र सुराकी गर्ने स्थानीयलाई भौतिक कारबाही गर्ने चेतावनीसहित दिनभर सुरक्षा शिविर घेराबन्दी गरेका थिए।
बाघे यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न आरोपमा प्रहरीको खोजीमा थिए। साथै खाद्य संस्थानको टेन्डरमा माओवादीको गुटगत झडपमा एक गुटको नेतृत्व गरेका थिए।

source:annapurnapost