भूकम्प विदाको शुल्क लिए कडा आन्दोलन

0 7
काठमाडौं : मुख्य दलहरूसँग सम्वद्ध विद्यार्थी संगठनहरूले भूकम्प विदाको शुल्क लिए कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
भूकम्पका कारण विदा भएको अवधिको शुल्क नलिन तथा लिएको शुल्क फिर्ताको निर्णय गर्न विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाका सञ्चालक र सरकारी अधिकारीलाई तीन दिने अल्टीमेटम  दिएका छन्। तीन दिनभित्र यसको टुंगो नलगाए कडा आन्दोलन थाल्ने निर्णय गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको शनिबार बसेको बैठकले तीन दिने अल्टीमेटमसहित यस्तो निर्णय गरेको हो। उनीहरूले निजी तथा सरकारी शैक्षिक संस्थामा पनि विद्यालय बन्द भएको दिन हिसाब गरेर विद्यार्थीलाई शुल्क मिनाहा गर्नुपर्ने माग गरेका छन्।
शुल्क फिर्ता गर्ने विषयमा पहल गरिदिन शिक्षा मन्त्रालयका अधिकारीलाई समेत आग्रह गरिएको छ। यसबारे तीन दिनभित्रमा निर्णय नगरिए आन्दोलनमा उत्रने चेतावनी पनि विद्यार्थी संगठनले दिएका छन्।
बैठकमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले भने, ‘नपढेको दिनको शुल्क कुनै पनि हालतमा लिन पाइँदैन। सरकारी र निजी दुवै शैक्षिक संस्थाले यस्ता दिनको शुल्क फिर्ता गर्नुपर्छ भन्ने हाम्रो माग हो।’निजी शैक्षिक संस्था सञ्चालकले वर्षौदेखि लाखौं रुपैयाँ कमाइरहेको अवस्थामा एक महिनाको शुल्क पनि फिर्ता गर्न सकिदैन भन्नु गैरजिम्मेवारीपन भएको उनले बताए।
भूकम्पका कारण भौतिक संरचना क्षति भएका स्कुल तथा कलेजलाई राहत र क्षतिपूर्तिका लागि आफूहरूले पनि पहल गर्ने तर नपढाएको दिनको शुल्क भने फिर्ता गरेरै छाड्ने बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। भूकम्पले भत्किएको संरचनामा आफूखुशी प्राविधिक परीक्षण गरेर भवनलाई बस्न योग्य रहेको छ भन्ने प्रमाणित नगराउन पनि विद्यार्थी संगठनले विद्यालय सञ्चालकलाई आग्रह गरेका छन्।
निजी विद्यालयको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले भने नपढाएको दिनमा पनि विद्यालयका शिक्षक र कर्मचारीलाई तलब खुवाउनुपर्ने भएकाले शुल्क फिर्ता गर्न नसकिने बताए। विद्यालय नखुलेका दिनको यातायात तथा होस्टेल खर्च भने नलिने उनको भनाइ थियो।
भूकम्पबाट घरवारविहन भएका तथा आफन्त गुमाएका विद्यार्थीलाई नि:शुल्क पढाउने निर्णय पनि प्याब्सनले गरिसकेको छ।

– Source:annapurnapost