बालुवाटार छलफल सहमति नजिक

0 14
काठमाडौँ : संविधान लेखनको अन्तरवस्तु र राष्ट्रिय सरकार गठनका विषयमा सहमति जुटाउन दलहरु शनिबार पनि बिहानैदेखि छलफल जुटेका छन्।
संविधान सभामा रहेका अन्य दलहरुलाई पनि विश्‍वासमा लिएर संविधान लेखनका विवादलाई टुंगो लगाउन ठूला दलहरुले परामर्शलाई तीव्र बनाएका छन्।सोमबारसम्ममा सहमतिमा पुग्ने गरी दलहरु विभिन्न तहमा अनौपचारिक र अौपचारिक दुवै खाले छलफल गरिरहेका छन्।

चार राजनीतिक शक्‍ति र संविधानसभामा रहेका अन्य दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान सकारात्मक छलफल भएको छ।प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माणको विषयमा भइरहेको वार्ता र प्रगतिका बारेमा संविधानसभामा रहेका अन्य दलहरुलाई जानकारी गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफल सकारात्मक रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। राज्य पुनरसंरचनालगायतका संविधान लेखनका विषयमा मुख्य दलहरू सहमति नजिक पुगेपछि अन्य साना दलहरूलाई बोलाएर उनीहरुको सुझाव लिएका हुन्। निश्कर्षमा पुग्नुअघि संविधानसभा रहेका अन्य दलहरूसँग छलफल गरेर उनीहरूलाई समेट्ने प्रयास स्वरुप बालुवाटार बैठक आयोजना गरिएको हो।
प्रमुख चार राजनीतिक शक्तिको शुक्रबार साँझ बालुवाटारमा बसेको शीर्ष बैठकले एमाओवादीको नेतृत्वमा रहेको तीस राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकपछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखनको विषयमा सहमति जुटाएर संविधान जारी गर्ने र राष्ट्रिय सहमतिको सरकार गठन गरेर भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणमा जुट्ने विषयमा समझदारी बन्दै गएको बताए।
सबैभन्दा विवादित विषयका रूपमा रहेको  राज्य पुनःसंरचना  घटीमा ६ प्रदेश र बढीमा ८ प्रदेशको संरचनामा सहमति गर्ने प्रयास भइरहेको छ। नामाङ्कनको जिम्मा प्रदेश सभालाई दिने र सीमालगायतका विषयमा सहमति जुटाउन एउटा स्वतन्त्र आयोग गठन गर्ने विषयमा पनि दलहरूको छलफल सहमति नजिक पुगेको बताइएको छ।
कांग्रेस र नेकपा (एमाले)ले ६ प्रदेश उपयुक्त हुने प्रस्ताव राख्दै आएका छन् भने एमाओवादीले बहुपहिचानका आधारमा ८ प्रदेश बनाउनुपर्ने अडान राख्दै आएको छ । उसले प्रदेशको संख्खासँगै सभौगलिक सिमांकन पनि अहिले नै हुनुपर्ने माग पनि राखेको छ।
संविधानसभा रहेका दलहरुसँगको छलफलपछि आजै अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने तयारी गरिएको छ। दहलरुबीच निर्वाचन प्रणालीको विषयमा लगभग समझदारी भएको छ । प्रत्यक्षतर्फ ६० प्रतिशत र समानुपातिक तर्फ ४० प्रतिशत रहने गरी सहमति भएको छ ।
न्यायप्रणालीमा दलहरुबीच यसअघि नै सहमति भइसकेको छ भने शासकीय स्वरुपमा पनि दलहरु सहमति नजिक छन्। बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले बालुवाटार बैठक सकारात्मक छलफल भएको बताए। उनले छिटै सहमति जुट्ने विश्‍वास व्यक्त गरे। संविधान जारी गर्नका लागि सकारात्मक वातावरण बन्दै गएको उनले बताए।

– source:annapurnapost