माओवादी एम्बुसमा ३८ जना एकै चिहान भएको त्यो दिन

0 2
घाइतेहरुको बिलौना-तड्पेर बाँच्नु भन्दा त्यतिबेलै मरेको भए हुन्थ्यो
बाँदरमुढे (चितवन) : चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन माओवादी लडाकुहरुले यात्रुबाहक बसमा विद्युतीय धराप बिष्फोट गराएको दस वर्ष पूरा भएको छ ।

उक्त विष्फोटमा परेर ३८ जनाको तत्कालै ज्यान गएको थियो । घटनामा ७४ जना घाइते भएका थिए । अहिले मृतकको संख्या ४२ पुगेको छ ।

अयोध्यापुरीको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस ०६२ जेठ २३ गते बिहान पौने ८ बजे कल्याणपुर र बघौडाको सीमानामा पर्ने बाँदरमुढे खोलामा विद्युतीय धरापमा परेको थियो ।

घटनाका घाइतेमध्ये चारजनाले उपचार नपाएकै कारण अकालमै ज्यान गुमाए । उपचा नपाई ज्यान गुमाउनेमा गंगाबहादुर गुरुङ, नारायणदत्त पौडेल, चुनु केसी र नरहरि सापकोटा छन् । टाउकोमा चोट लागेर मानसिक सन्तुलन गुमाएका गंगाबहादुरले आत्महत्या गरे । नारायणदत्त, चुनु र नरहरिले भने घटनापछि रोगाएर मृत्युवरण गर्न पुगे ।

मृतकका परिवारलाई सरकारले पटक–पटक गरी तीन लाख रुपैयाँ उपलब्ध गरायो । तर घाइतेले राम्रो उपचार र राहत पाउन सकेका छैनन् । अझै पनि उपचारको पर्खाइमा रहेका अधिकांश गरीब र निमुखाहरु आफू बाँचिएकोमा पछुताउ गरिरहेका छन् ।

‘बरु त्यतिबेलै मरेको भए हुने रहेछ, सधैँ औषधि खाइरहन खर्च जुटाउन नसक्दा राम्रो उपचार भएन’, गर्धन र खुट्टामा गम्भीर चोट लागेकी घाइते धनकुमारी पौडेल भन्छिन्, ‘खान सक्ने र काम गर्न नसक्ने परिवारलाई बोझ बन्नुपर्‍यो ।’

अर्की घाइते दुर्गामाया मगरले लामो समय ह्वीलचियरमै बिताइन् । ढाड भाँचिएर थला परेकी उनी अहिले पनि धेरैबेर उभिन सक्दिनन् । ‘औषधि नखाए, घाउ दुखेर सहनै सकिन्न, औषधि किन्ने पैसा छैन’ उनले भनिन्, ‘सरकारले भत्ता दिए त्यसैबाट उपचार हुन्थ्यो, परिवारसँग हात थाप्नु त पर्दैनथ्यो ।’


न्यायका लागि संघर्षरत बाँदरमुढेका पीडितहरु
बाँदरमुढे घटनाका घाइते पौडेल र मगरसहित इश्वरीप्रसाद पौडेल, नरमाया आचार्य, जगमाया गुरुङ, आशिष क्षेत्री, लेखनाथ अधिकारी ‘कृष्ण’ र यमनारायण शर्मा लगायतले अहिले पनि औषधि सेवन गरिरहेका छन् ।

‘आफूले कमाउन नसक्ने र औषधि किन्न परिवारसँग हात थाप्नु पर्दा अधिकांश घाइते हीनताबोधको शिकार भएका छन्’ बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्षसमेत रहेका घटनाका घाइते लेखनाथ अधिकारी (कृष्ण) ले भने, ‘हाम्रो समस्यालाई माओवादीले त बुझ्ने कोशिसै गरेन, सरकारले पनि नबुझ्दा मर्माहत भएका छौं ।’

सरकार र माओवादीबाट उपचार र राहत नपाएपनि न्यायको प्रतीक्षा गरिरहेको बताउँछन् । उनले द्वन्द्वकालका घाइतेलाई राज्यले आर्थिक सहायता र जीवन निर्वाह भत्ता दिएपनि बाँदरमुढे घटनाका अधिकांश घाइते त्यो सूचीमा पर्न नसकेको बताए ।

‘घटना भएको १० वर्ष बित्यो, अझै पनि दोषीलाई कारवाही हुन सकेको छैन’ घटना सम्झेर भावुक बनेका उनले भने, ‘सर्वसाधारण चढेको बसमा बम पड्काउनेहरु आफ्ना कार्यकर्ता भएकाले माओवादीले कारबाही गरेन । सरकारले त कार्बाही गर्नु प¥यो नि ।’

यी हुन् बसमा बम पडकउने
घटनालगत्तै सरकार र माओवादी दुबै पक्षले पीडितलाई राहत र अपराधीलाई कारबाही गर्ने बाचा गरेको उनले सम्झिए ।

शान्ति सम्झौतापछि माडीमा लाल चितवन अभियानका क्रममा माडी पुगेका पीडितलाई भेट्दा माओवादी नेता देवेन्द्र पौडेल ‘सुनिल’ले नामै किटेर घटनामा प्रत्यक्ष संलग्न रहेका सुजन, साहस, किसान र हर्क तथा तत्कालिन पार्टी इन्र्चाज अविनाश एवम् सेक्रेटरी इन्द्रजीतलाई कारबाही गर्ने बताएका थिए । तर उनको भनाइ कार्यान्वयन हुन नसकेको अधिकारीको भनाइ छ ।

घटनाका मुख्य दोषी रामबहादुर कुमाल ‘सुजन’ अहिले गोरखामा छन् । उनी पार्टी सम्पर्कमै रहेको बताइन्छ । घटनालगत्तै विदेश गएका चण्डिका पौडेल ‘साहस’ अझै फर्केका छैनन् ।

अनक मगर ‘किसान’ पार्टीको मजदुर फाँटका इन्चार्ज छन् । यसैगरी शिवप्रसाद रेग्मी ‘हर्क’ किसान फाँटमा काम गर्छन् ।

तत्कालिन पार्टी इन्चार्ज घनश्याम दाहाल ‘अविनाश’ अहिले एमाओवादीका तर्फबाट स्थानीय शान्ति समितिका संयोजक बनेका छन् । पार्टी सेक्रेटरी रहेका यमबहादुर परियार ‘इन्द्रजीत’ एमाओवादी चितवनको अध्यक्ष छन् ।