नुवाकोटमा मृत्यु हुनेको सङ्ख्या १०९१, तीन गाविसमा मानवीय क्षति भएन

0 3

नुवाकोट, २३ वैशाख । नुवाकोट जिल्लामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या हालसम्म एक हजार ९१ जना पुगेको छ ।

सरकारी संयन्त्रबाट तथ्याङ्क सङ्कलन गर्न गएका प्राविधिकसहितका टोलीले गाविस र विदुर नगरपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरणबाट उक्त तथ्याङ्क आएको जिल्ला दैवी प्रकोप उद्धार समितिले आज जनाएको छ ।

यस्तै, नुवाकोटमा २०६८ सालको जनगणनाअनुसार अहिले ३० प्रतिशतले घरधुरी सङ्ख्या बढेर ७६ हजार ५४१ पुगेको छ ।

साथै, जिल्लामा रहेका ७० हजार ९९२ घरधुरी पूर्णरुपमा क्षति भएका छन् भने पाँच हजार ४९७ घरधुरीमा आंशिक क्षति भएको पाइएको छ । विनाशकारी भूकम्पमा परी बेपत्ता हुनेको सङ्ख्या छ जना पुगेको छ भने एक हजार ८०० भन्दा बढी घाइते रहेको समितिले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढी मानवीय क्षति घ्याङ्फेदी गाविसका ७९ जना रहेका छन् भने सबैभन्दा कम पञ्चकन्या गाविसमा एक जनाको मृत्यु भएको छ ।

यस्तै बुधसिंग, देउराली र तलाखु गाविसमा मानवीय क्षति नभएको प्रारम्भिक तथ्याङ्कमा देखिएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै नर्जामण्डप गाविसका चारजना रहेका छन् । लच्याङ र उर्लेनी गाविसमा एक एक जना बेपत्ताको सूचीमा रहेका छन् । बेपत्ता भएकाको खोजीकार्य भइरहेको फस्ट राइफल गण देवीघाटका गणपति एवम् प्रमुख सेनानी पवन खत्रीले जानकारी दिनुभएको छ । बेपत्ताको खोजीकार्य भइरहे पनि पहिरोमा पुरिएको हुनसक्ने आशङ्का गरिएको छ ।