मलेसियामा भूकम्पले ११ को ज्यान गयो

0 4
काठमाडौं : मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबालुलाई केन्द्रबिन्दु बनार्इ शुक्रबार गएको भूकम्पबाट ११ जनाको ज्यान गएको छ ।

६ म्याग्निच्यूटको भूकम्पले माउन्ट किनाबालु पहाड चढ्न गएका ११ जना आरोहीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । (‘मलेसियाको भूकम्पमा नेपाली परेका छैनन्’)

ज्यान गुमाएका मध्ये ६ जनाको शव किनाबालु पहाडबाट निकालिएको छ । ती आरोहीहरुको ४ हजार ९५ मिटर अग्लो किनाबालुमा भूकम्पपछि आएको ठूला ढुंगासहितको पहिरोमा परेर ज्यान गएको हो । भूकम्पमा एक जना सिंगापुरकी युवती र उनका गाइड पनि मारिएका छन् ।

सबाह राज्यका पर्यटन मन्त्री मसिदी मनजुनले ट्वीट गर्दै किनाबालु पहाडबाट १३७ जना आरोहीहरुलार्इ सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी दिएका छन् । ११ आरोहीको शव भेटिएको पुष्टि गर्दै उनले हराइरहेका अन्य आठजनाको खोजी कार्य भइरहेको जनाएका छन् ।

अमेरिकन भूगर्भ विभागको सर्भेअनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको थियो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाबालुबाट ५४ किलोमिटर पुर्वमा थियो ।