४२ दिनपछि खुल्दै त्रिवि

0 4
काठमाडौं : वैशाख १२ को भूकम्पका कारण बन्द त्रिभुवन विश्वविद्यालयको पढाइ शुक्रबारदेखि सुरु हुँदैछ। भूकम्पका कारण अधिकांश क्याम्पसमा क्षति पुगेकाले पढाइ सञ्चालन गर्न भने समस्या देखिएको छ।
त्रिविका अनुसार उपत्यकाका ललितकला, पाटन र नेपाल कमर्स क्याम्पस मीनभवनमा सबैभन्दा धेरै क्षति पुगेको छ। ललितकला क्याम्पसका सबै भवन र कक्षाकोठा पूर्ण रूपमा ध्वस्त छन्।
क्याम्पसमा छिर्न नसकिएपछि त्रिचन्द्र क्याम्पसको एउटा कोठालाई अस्थायी कार्यालय बनाएर उक्त क्याम्पसले प्रशासनिक काम गर्दै आएको छ।
क्याम्पस रहेको भोटाहिटीमा अस्थायी टहरासमेत बनाउन नसकिने भएपछि शुक्रबारदेखि पाटन क्याम्पसमा पठनपाठन सञ्चालन गर्न त्रिविले निर्देशन दिएको छ।
त्रिविका रजिस्ट्रार देवराज अधिकारीले तत्कालका लागि पाटन क्याम्पसबाट दिवा सिफ्टमा पढाइ चलाउन भनिएको बताए। उनका अनुसार ललितकलालाई स्थायी रूपमा कीर्तिपुरमा सार्ने विषयमा छलफल भइरहेको छ।
पाटन क्याम्पसका पनि सातवटा भवन बस्नै नसकिने गरी भत्किएका छन्। ती सबै भवनमा अध्ययन गर्न त्रिविबाट आएको इन्जिनियरको समूहले रातो स्टिकर टाँसेको छ। धेरै भवन रहेकाले उक्त क्याम्पसमा नियमित कक्षा हुनेछन्।
नेपाल कमर्स क्याम्पस मीनभवनको पनि मुख्य प्रशासनिक भवन र बी ब्लकमा क्षति पुगेको छ। यी दुवै भवनमा पढाउन नसकिने क्याम्पसप्रमुख ज्योति पाण्डेले बताइन्। उनका अनुसार विद्यार्थीलाई मर्ज गरेर भए पनि पढाइ सञ्चालन गर्ने तयारी भएको छ।
‘अहिले भएको भवन र कक्षाकोठाले विद्यार्थी पढाउन पुग्दैन। प्रांगणमा अस्थायी टहरा बनाउने तयारी गरेका छौं’, पाण्डेले भनिन्।
अहिले स्नातक तेस्रो वर्षका विद्यार्थी परीक्षाको तयारीमा रहेका कारण केही सहज हुनेछ। स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट हुँदैछ।
त्रिचन्द्र क्याम्पसको पनि घन्टाघर क्षेत्रमा रहेको भूगर्भ विभागलगायत १५ वटा कोठामा क्षति भएको छ। क्याम्पसले तत्कालका लागि कोर्स सकिन लागेको विषयलाई स्थगित गरी कोर्स धेरै रहेका विषयलाई मात्र पढाउने गरेको छ।
‘तत्काललाई अभ्यासमूलक कार्यलाई रोकेर भए पनि कक्षा चलाउँछौं’, क्याम्पस प्रमुख हरि थपलियाले भने, ‘अहिले भएको भवनले नियमित पठनपाठन चलाउन सक्दैनौं। अस्थायी टहरा बनाएर पठनपाठन नियमित गर्ने योजनामा छौं।’
उपत्यकाकै अमृत साइन्स क्याम्पस पनि भूकम्पले क्षतिग्रस्त भएको छ। भवनको गारो चर्किएको तथा जग धसिएका कारण छात्रावासबाट प्रशासनिक काम चलाइएको छ।
पद्मकन्या क्याम्पसमा केही पुराना भवन भत्किए पनि पढाइ स्थगित गर्नुपर्ने अवस्था छैन। तर भूकम्पपीडितले उक्त कलेजमा आश्रय लिएर बसेका कारण शुक्रबारदेखि नै पठनपाठन गर्न असहज हुने क्याम्पसले जनाएको छ।
भवन नभत्किए पनि भूकम्पपीडितले आश्रय लिएका कारण पब्लिक युथ क्याम्पसमा पनि तत्काल पढाइमा बाधा पुग्ने त्रिविले जनाएको छ। भूकम्पले शंकरदेव क्याम्पसमा पनि सामान्य क्षति पुर्‍याएको छ।
उपत्यकाबाहिरका धौलागिरि क्याम्पस बागलुङ, लमजुङ कृषि क्याम्पस लमजुङ, गोरखा क्याम्पस गोरखा र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पनि क्षति पुगेको छ।
रजिस्ट्रार अधिकारीले तत्कालका लागि पढाइ सञ्चालन गर्न निर्देशन दिइए पनि कुन क्याम्पसको पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
अधिकारीका अनुसार भूकम्पबाट उपत्यका तथा बाहिरका क्याम्पस र प्रशासनिक भवनसहित दुई अर्ब रुपैयाँबराबरको क्षति भएको छ।