फिफा विश्व बरियतामा नेपाल दुई स्थान तल झर्‍यो

0 3
काठमाडौँ: विश्व फुटबल महासङ्घ  फिफा  को बरियतामा नेपाल दुई स्थान तल झरेको छ ।
फिफाले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३ औँ स्थानमा पुगेको हो ।
छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १४१ औँ स्थानमा पुगेको छ । योसँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ ।
अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१ औँ स्थानमा पुगेको छ । त्यस्तै, भुटान चार स्थान माथि उक्लँदै १५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १७० स्थानमा पुगेको छ ।
माल्दिभ्स भने ३८ औँ स्थान तल झरेर १७७ औँ स्थानमा चित्त बुझाउन बाध्य हुँदा श्रीलङ्का दुई स्थान बढुवा हुनाका बाबजुद १८६ औँ स्थानमा रहँदै दक्षिण एसियाको बरियताको पुछारमा रहेको छ ।
बरियताको शीर्षस्थानमा विश्व विजेता जर्मनी कायम रहँदा बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । विश्वकपको उपविजेता अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमशः चौथो र पाँचौँ मा छन् ।
त्यसैगरी, नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।