क्याप्टेन रावलको अन्त्येष्टि

0 3
सुर्खेत : भूकम्पपीडितको उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावलको मंगलबार गृहजिल्ला दैलेखमा अन्तिम संस्कार गरिएको छ।
दोलखामा उद्धारका लागि अमेरिकी सेनासँग हेलिकोप्टरमा सवार रावलको गत वैशाख २९ गते मृत्यु भएको थियो। मृत्यु भएको १९ दिनपछि मंगलबार रावलको अन्तिम संस्कार गरिएको हो।
रावलको अन्तिम संस्कार गर्नुअघि निकालिएको शवयात्रामा हजारौं दैलेखी सहभागी भए। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत रावलको शव दैलेख ल्याइएको थियो।
अन्तिम संस्कार गर्नुअघि उनको शवलाई दैलेख बजार परिक्रमा गराएर श्रीस्थानमा रहेको घाटमा लगिएको थियो। शवयात्रामा सहभागीहरूले रावलले अन्तिम समयसम्म पनि देश र जनताका लागि आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै आँसु बगाएका थिए।
अन्तिम संस्कार गर्नुअघि घाटमा नेपाली सेनाको समसुर गुल्मको एक टुकडीले सलामी दिएको थियो। रावलप्रति श्रद्धाञ्जली प्रकट गर्न सर्वसाधारण सडकमा निस्किएका थिए।
वैशाख २९ गते दोलखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितको उद्धारका लागि अमेरिकी सेनाको हेलिकोप्टरमा दोलखा गएका उनी चार दिनपछि मृत भेटिएका थिए।
रावलको शव पहिचान हुन नसकेपछि जेठ ४ गते डीएनए परीक्षणका लागि बाबु बलबहादुरलाई काठमाडौं लगिएको थियो। शव पहिचान भएपछि सोमबारमात्र रावलको शव जिल्ला ल्याइएको हो।
दैलेख नारायण नगरपालिकास्थित सिमाडा गाउँका रावल सेनाको १० नम्बर बाहिनीअन्तर्गत युद्धभैरव गणमा कार्यरत थिए।
सानैदेखि इमानदार स्वभावका तपेन्द्र पढ्नमा पनि अब्बल थिए। २०६० सालमा सहायक सेनानी पदबाट सेनामा प्रवेश गरेका तपेन्द्रले मेजरमा बढुवा भएपछि विवाह गर्ने बुबा बलबहादुरसँग गरेको बाचा पूरा हुन सकेन।