करोडौं रुपैयाँको सेयर किर्ते कारोबार

0 18
ठगी गर्नेलाई कारवाही भएन
काठमाडौं : अर्काको नाममा भएको सेयर चोरी गरेर कारोबार गर्ने व्यक्तिमाथि कारवाही नहुँदा वास्तविक लगानीकर्ताले करोडौं रुपैयाँ गुमाउनुपरेको छ।  अनुसूची प्रयोग गरी अर्कोको नाममा रहेको सेयर चोरी गरेको घटना बाहिर आएको पाँच महिना बितिसक्दा पनि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नियामक धितोपत्र बोर्डले अहिलेसम्म कुनै कारवाही गरेका छैनन्।
नेप्सेले अहिलेसम्म वास्तविक दोषी र ठगी बराबरको बिगोको पहिचान गरी सत्यतथ्य जानकारी बाहिर ल्याउनसमेत सकेको छैन।
ठगी गर्नेको पहिचान गरी उनीहरूलाई कारवाही गर्न नसक्दा पाँच महिनाअघि सेयर किनेका वास्तविक लगानीकर्ताले अहिलेसम्म आफ्नो स्वामित्वमा सेयर ल्याउन सकेका छैनन्।
सेयर नामसारी नभएकाले आफ्नो सम्पति बिक्री गर्नबाट वास्तविक लगानीकर्ता वञ्चित भएका हुन्। सेयर किनेकाले ब्रोकर कम्पनीलाई पाँच महिनाअघि नै पैसा तिरिसकेका छन्। पैसा तिर्नेको नाममा सेयर आएको छैन। ठगी गर्नेमाथि कारवाही पनि भएको छैन्।
नक्कली सेयर कारोबार गरेको पत्ता लगाएपछि नेपाल स्टक एक्सचेन्जले गत माघमा वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले नियामक धितोपत्र बोर्डलाई प्रारम्भिक प्रतिवेदनमात्र बुझाएपछि बोर्डले पुन: अन्तिम प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो। धितोपत्र बोर्डका अनुसार नेप्सेले अहिलेसम्म अन्तिम प्रतिवेदन बुझाएको छैन।
नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरीले नेप्सेले छानबिन गरी अन्तिम प्रतिवेदन दिन बाँकी रहेकाले कारवाही अघि बढाउन नसकिएको जानकारी दिए।
‘हामीले प्रारम्भिक होइन, पूर्णप्रतिवेदन मागेका छौं। अब छिट्टै बुझाउने जानकारी नेप्सेले दिएको छ। त्यसपछि अध्ययन गरी कारवाही प्रक्रिया अघि बढ्छ,’ उनले भने।
नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले भने किर्ते कारोबारका सम्बन्धमा छानबिन र अध्ययन भइरहेको र धितोपत्र बोर्डलाई प्रतिवेदन बुझाउनेक्रममा रहेको जानकारी दिए।
एकै जना व्यक्तिले चिलिमे हाइड्रोपावरको मात्र १३ हजार पाँच सय कित्ता सेयर किर्ते गरी कारोबार गरेका थिए। चिलिमेको किर्ते कारोबार नै २० करोड रुपैयाँभन्दा बढी हुनआउँछ।
सेयर बजारका ठूला लगानीकर्ताको नाममा रहेका सेयर टुक्रयाएर बिक्री गर्ने भन्दै सम्बन्धित कम्पनी र सेयर रजिष्ट्रारको नक्कली सहीछाप बनाएर किर्ते कारोबार गरिएको हो।
यसैगरी, सानिमामाई हाइड्रोपावर र नेसनल हाइड्रोपावरको पनि हजारौं कित्ता किर्ते गरी कारोबार भएको रहस्य खुलेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गोविन्द घिमिरे भन्ने व्यक्तिले विभिन्न व्यक्तिका नाममा भएको चिलिमे हाइड्रोपावर कम्पनीको १३ हजार पाँच सय कित्ता सेयर म्याचिङ गरी आफ्नो नाममा ल्याएका थिए।
उनले सेयर म्याचिङ गरी बैंकबाट सेयरको बीटी ऋणसमेत लिन सफल भएका थिए। ब्रोकरहरूका अनुसार किर्ते कारोबार गर्नेले युनाइटेड फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंकलगायतबाट एक करोड रुपैयाँभन्दा बढीको बीटी ऋण लिएका थिए।
ठूला लगानीकर्ता रुकमणि बस्नेतको नाममा रहेको सेयर आफूखुशी टुक्राएर सानिमामाई हाइड्रोपावरलगायतको सेयर किर्ते गरिएको फेला परेको छ।
यस्तै, राजकुमार मोरे, रेस्मीराज पाण्डेलगायतका नामबाट सानिमामाई हाइड्रोपावरको सेयर किनेका वास्तविक खरिदकर्ताको नाममा अहिलेसम्म सेयर स्वामित्व हस्तान्तरण भएको छैन।
अन्नपूर्णले प्राप्त गरेको कारोबार विवरणपत्रअनुसार लगानीकर्ता विष्णु सुवेदीले रुकमणि बस्नेत, रेस्मीराज पाण्डे, राजकुमार मोरेलगायतका नाममा रहेको सानिमामाई हाइड्रोपावरको सात सय ३६ कित्ता सेयर गएमो माघ महिनामा किनेको भए पनि अहिलेसम्म उनको नाममा आउन सकेको छैन।
२१ नम्बरको दलाल मिडास स्टक ब्रोकिङ कम्पनी प्रालिले धादिङका सुवेदी वास्तविक लगानीकर्ता भएको जानकारीसहित उनको नाममा सेयर नामसारी गरिदिन गएमो माघ २१ मा सानिमामाई हाइड्रोपावरको नाममा पत्र पठाएको थियो।
यसको जानकारी सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्जलाई गराएको भए पनि अहिलेसम्म कुनै कारवाही अघि बढेको छैन।
बारम्बार ब्रोकर कम्पनी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र स्टक एक्सचेन्जमा धाउँदासमेत सुनुवाई हुन नसकेको खरिदकर्ता विष्णु सुवेदीले बताए।
‘म जस्ता अरु सयौं लगानीकर्ता यस्तै मारमा परेका छन्। तर नियामक र बजार सञ्चालक एकले अर्कोको काम हो भनेर महिनौंदेखि पन्छिँदै आएका छन्,’ उनले भने।
सानिमामाई हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, नेसनल हाइड्रोपावर कम्पनीलगायतको सेयरको अनुसूची प्रयोग गरी केही ब्रोकर कम्पनीका कर्मचारीको मिलेमतोमा सेयर टुक्र्याएर किनबेच गरिएको थियो।
सेयर बजारका ठूला लगानीकर्ताको नाममा रहेका सेयर टुक्रयाएर बिक्री गर्ने भन्दै सम्बन्धित कम्पनी र सेयर रजिष्ट्रारको नक्कली सहीछाप बनाएर किर्ते कारोबार गरिएको हो।
स्टक ब्रोकर्स एसोसिएनका पूर्वअध्यक्ष अन्जराज पौड्यालले सेयरको किर्ते कारोबार गर्नुभनेको नक्कली नोटको कारोबार गरेसरह भएकाले दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए।
‘सेयर पनि नगद सरह हो। उनले भने,’ नक्कली नोट छापेजस्तै गम्भीर अपराध ठानेर तत्काल कारवाही अघि बढाउनुपर्छ।’
के हो अनुसूची?
सेयर लगानीकर्ताले आफूसँग भएको ठूला कित्ता सेयर टुक्रा गरी बिक्री गर्न सक्छन्। सेयर टुक्रा पारेर बिक्री गर्नका लागि बिक्रेताले ब्रोकर कम्पनीमा गई एउटा फारम भर्नुपर्ने हुन्छ।
फारममा सक्कली सेयर प्रमाणपत्रको सिरियल नम्बर, कित्ता, बिक्रेताको नामलगायतका विषय समावेस गरिन्छ। सोही आधारमा बिक्री आदेशसमेत दिइन्छ। सोही फारमका आधारमा ब्रोकरले सेयर टुक्राएर बिक्री गर्छन्।
अनुसूची फारम बाहिर सजिलै छाप्न सकिने भएकाले नक्कली बनाउने सम्भावना बढी हुन्छ। नक्कली कारोबार गर्नेले सम्बद्ध कम्पनी र सेयर रजिष्ट्रारको सहीछापसमेत नक्कली बनाएर कारोबार गरेको तथ्य फेला परेको हो।
यस्ता सेयर बीटी (खाली हस्तान्तरण) मा कारोबार हुने भएकाले महिनौंसम्म नामसारी नहुँदा कम्पनी र ब्रोकरलाई समेत जानकारी नहुन पनि सक्छ।