फिफा अध्यक्ष ब्लाटरले राजीनामा दिए

0 9
जेन्सी :  विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पाँचौ कार्यकालका लागि शुक्रबारमात्रै निर्वाचित सेप ब्लाटरले पदबाट राजीनामा दिएका छन् ।
१७ वर्षसम्म विश्वफुटबलका सर्बशक्तिमान व्यक्तिका रुपमा एकछत्र राज गरेका उनले मंगलबार बेलुका राजीनामा दिएका हुन् ।
केही महिनायता फिफामा भएका भ्रष्टाचार मुद्धामा मुछिदै आएपनि अध्यक्षमा निर्वाचित भएका उनको आकष्मिक राजीनामा आएको हो ।
ज्युरिचमा पत्रकार सम्मेलन गर्दै ब्लाटरले आफ्नो ४० वर्षको यात्रालाई गहिरिएर मनन गर्दै राजीनामा दिएको बताएका छन् । ‘मैले मेरो ४० वर्ष फिफालाई दिएँ, म अरुलाई भन्दा बढी फिफालाई माया गर्छु’, फिफाको मूख्यालय ज्युरिचमा भएको पत्रकार सम्मेलनमा उनले भने,‘म सँधै राम्रो गर्न चहान्थेँ, यो पटक पनि त्यसैका लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको थिएँ ।’
राजीनामा दिएपनि अर्को विशेष चुनाव नहुन्जेलसम्म ब्लाटर नै फिफाको अध्यक्ष रहिरनेछन् । विशेष चुनाव गरेर नेतृत्व हस्तान्तरण गरेपछि उनले विधिवत विदा लिनेछन् । उनले अध्यक्षमा नलड्ने बताउदै आफू अब चुनावी झन्झटमा पर्न नचाहेको बताएका छन् ।
ज्युरिचमा शुक्रबार भएको चुनावअघि उपाध्यक्षसहित १२ जना बढी फिफाका पदाधिकारीलाई भ्रष्टाचार आरोपमा अमेरिकाको मिलेमतोमा गिरफ्तार गराएको आरोप उनीमाथि लागेको थियो ।