कहिल्यै नमेटिने जेठ १९ को सम्झना

0 8
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १४ वर्ष पुगेको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। नेपालीले एउटा अकल्पनीय बज्रपात सहनुपरेको थियो । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्‍द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र् (राजा वीरेन्द्रका भाइ), राजकुमारी जयन्ती ‌(राजा वीरेन्द्रकी बहिनी), राजकुमारी शान्ती (राजा वीरेन्द्रकी बहिनी),राजकुमारी शारदा (राजा वीरेन्द्रकी बहिनी), कुमार खड्ग (राजकुमारी शारदाका श्रीमान्) र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

जनप्रिय तथा राष्ट्रप्रेमी उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।

घटनापछि तत्कालीन सभामुख तारानाथ रानाभाटको स‌ंयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्‍द्रलाई दोषी देखाइएको थियो। त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय छ।

जेठ १९ को घट्नाक्रमसँगै नेपालमा राजनीतिक अस्थिरताको एउटा अन्त्यहीन शृखंला सुरु भएको पाइन्छ । अहिलेसम्म पनि मुलुकले त्यसबाट मुक्ति पाउन सकेको छैन। ०४६ सालमा दलहरुले थालेको आन्दोलनले हिंसात्मक रुप लिन नपाउँदै जनभावना बुझेर राजा वीरेन्द्रले प्रजातन्त्रको पुनरवहाली गरेका थिए भने २०४७ सालको प्रजातान्त्रिक संविधान जारी गर्न पनि वीरेन्द्रले अभिभावकका रुपमा सहयोगी भूमिका निर्वाह गरेका थिए।
माओवादी जनयुद्धका नाममा सुरु भएको द्वन्द्वको समाधान खोज्न पनि वीरेन्द्रले अनौपचारिक सम्पर्क सूत्र कायम गरेर विद्रोही पक्षलाई सम्वादमा ल्याउने कोशिस गरेका थिए। तत्कालीन विद्रोही पक्ष माओवादीका नेताहरुले समेत द्वन्द्व व्यवस्थापनका लागि वीरेन्द्रबाट भएको प्रयासको प्रशंसा गर्दै आएका छन् ।