मध्यरातमा गाउँमा बाढी पसेपछि भागाभाग

0 5
मुस्ताङ : हिमाल पारिको जिल्ला मुस्ताङको मार्फा गाविस–१, २, ३ र ४ वडामा मध्यरातमा बाढी पस्दा गाउँलेको भागाभाग भएको छ। बाढीले २६ घरमा क्षति पुगेको छ।
सोमबार राति परेको मुसलधारे वर्षाका कारण नजिकै रहेको ठाडो खोलामा आएको बाढी गाउँमा पस्दा उक्त घरमा क्षति पुगेको हो। बाढीले स्थानीयबासीको माटोले निर्माण गरेका घरमा बढी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।
बाढीले लत्ताकपडा, भाडाकुडा र अन्नबालीमा भिजाएको स्थानीयले निरज थकालीले जानकारी दिए। उनका अनुसार, तीब्र हावासंगै आएको बर्षाले गाउँमा अधिकाँश घरमा क्षति पुर्‍याएको छ । मार्फालाई स्याउको गाउँ भनेर पनि चिनिन्छ। त्यहाँ अधिकाँश सर्वसाधारण स्याउ खेतीमा आबद्ध रहेका छन्।
“राती एकदमै ठुलो वर्षाले ठूलो आवाजमा बाढी आयो, त्यसपछि सबैमा भागाभाग मच्चियो, थकालीले भने । गाउँमा बाढी पसेको खबर आएपछि मंगलबार बिहानै बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले वैठक बसेर घटनाको विस्ततृ अध्ययन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।
‘घटनास्थलमा जाँदा बस्ती सबै खतरा मुक्त छन्, बर्षा रोकिएपछि बाढी पनि रोकियो, उनले भने । बाढीले घरभित्र बालुवा र ढुंगा पसेर क्षति पुर्‍याएको उनको भनाई छ । घरभित्रको ढंगा र माटोलाई हटाउन स्थानीयबासीका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि करिब एकसय सुरक्षाकर्मी मार्फामा खटेका छन् ।
दुईभित्र सबै घरभित्रको बालुवा र ढुंगा निकालिसक्ने बताइएको छ । ठाडो खोलामा आएको बाढीकै कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ।
यसअघि पनि पहिरोका कारण म्याग्दीको बैसरीमा कालीगण्डकी नदी थुनिँदा बेनी–जोमसोम सडकमा सीधा सवारी सञ्चालनमा आउन सकेको थिएन । खण्ड–खण्डमा सवारी साधन सञ्चालन हुदै बेनी–जोमसोम बाढी पछि पूर्णरुपमा बन्द भएको बताइएको छ।

– Source: Annapurna post