बालुवाटार बैठक निश्कर्षबिना नै सकियो, बेलुका फेरि बस्ने

0 3
काठमाडौं : संविधान लेखनको अन्तरवस्तु र राष्ट्रिय सरकार गठनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मुख्य दलका शीर्ष नेताहरुको बैठक निश्कर्षबिना नै टुंगिएको छ।
नेपाली कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी मोर्चाका शीर्ष नेताहरुबीच मंगलबार बिहान भएको छलफल सकारात्मक भए पनि कुनै निश्कर्षमा भने पुग्न सकेन । 
बैठक फेरि आजै अपरान्ह पाँच बजे बस्ने भएको छ। बैठकपछि बाहिरिएका नेताहरुले छलफल सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया मात्रै दिए । 
संविधानका विवादित विषयलाई टुंगो लगाएर नयाँ सरकारको एजेन्डामा जाने कि दुवै विषयलाई सँगै टुंगो लगाउने भन्ने विषयमा दलहरुबीच विवाद भएको छ। आइतबार र सोमबार बसेको बैठकमा पनि समझदारी नबनेपछि मंगलबार पुनः बैठक बोलाइएको हो।
संविधान टुंगो लगाएर नयाँ सरकार गठनमा लाग्ने कि दुवै विषयलाई सँगै अघि बढाउने भन्ने विषयमा दलहरुबीच मतभिन्नता देखिएको छ ।कांग्रेस पहिले संविधानको विषय टुंग्याएर मात्रै नयाँ सरकार र नयाँ नेतृत्वका विषयमा छलफल थाल्नुपर्ने पक्षमा छ भने एमालेले संविधान र राष्ट्रिय सरकारको विषयलाई सँगै टुंग्याउनुपर्ने पक्षमा अडान राखेको छ।

राज्य पुनरसंरचनाका विषयमा  पनि दलहरुबीच कुरा मिलेको छैन । एमाओवादी नेतृत्वको गठबन्धनले पहिचान र अधिकारमा आधारित दस प्रदेशको अडान राख्दै आएको छ। बैठकमा कांग्रेस एमालेले भने पहिचानलाई आधार मान्न नसकिने अडान राखेका थिए। कांग्रेस एमालेले छ देखि सात प्रदेशको खाका राख्दै आएकोमा एमालेले पाँच प्रदेशको अवधारणा ल्याएको छ।
छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत तीनै दलका वरिष्ठ नेताहरुको सहभागिता थियो । राष्ट्रिय सरकार गठन तथा संविधान निर्माणका विषयमा केही दिनदेखि दलहरुले छलफललाई तीव्र बनाएका छन् ।