सल्लाहकारको भूमिकामा सचिन

0 4
नयाँदिल्ली : कुनै समयसँगै क्रिकेट खेलेका भारतीयका तीन पूर्वहस्ती सचिन तेन्दुल्कर, सौरभ गांगुली र भीभीएस लक्ष्मण राष्ट्रिय क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्यले पुन: सक्रिय हुने भएका छन्।
एक साता लामो छलफलपछि अन्तत: यी तीन हस्ती भारतीय क्रिकेट कन्ट्रल बोर्ड (बीसीसीआई) को सल्लाहकारको भूमिका निर्वाह गर्न तयार भएको समाचारमा जनाइएको छ।
बीसीसीआईका सचिव अनुराग ठाकुरले पनि यो समाचारको पुष्टि गरेका छन्। ‘बीसीसीआईसँंग जोडिन तयार भएकोमा म सचिन, सौरभ र लक्ष्मणलाई बधाई दिँदै स्वागत गर्न चाहन्छु’, ठाकुरले आफ्नो ट्विटर अकाउन्टमा ट्विट गरेका छन्, ‘तपाईंहरूको सल्लाह, सुझाव र योगदानले भारतीय क्रिकेटले नयाँ पाली सुरु गर्नेमा हामी विश्वस्त छौं।’
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान गांगुली र तेन्दुल्कर तथा लक्ष्मणको नाम बीसीसीआईको सल्लाहकारका रूपमा अघि आए पनि अर्का पूर्वकप्तान राहुल द्रविडको बारेमा भने केही उल्लेख गरिएको छैन।
द्रविडको अनुपस्थितिलाई भारतीय क्रिकेट विश्लेषकहरूले पनि रहस्यका रूपमा लिएका छन्।
बीसीसीआईका अध्यक्ष जगमोहन डाल्मियाले पनि सचिन, गांगुली र लक्ष्मणको बीसीसीआई प्रवेशलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। तीन ठूला नाम सल्लाहकारका रूपमा अघि आए पनि उनीहरूलाई दिइने भूमिकाको बारेमा भने बीसीसीआईले केही बताएको छैन।
गांगुली, तेन्दुल्कर र लक्ष्मणले खासगरी राष्ट्रिय टोलीको प्रशिक्षक छनोट र क्रिकेट विकासका नीतिहरू बनाउन सल्लाह दिने अनुमान गरिएको छ।
अर्का चर्चित पूर्वक्रिकेटर अनिल कुम्बले भने यसअघि नै बीसीसीआईसँग जोडिएका छन्। टेस्ट टोलीका पूर्वकप्तानसमेत रहिसकेका कुम्बले हाल बीसीसीआई प्राविधिक समितिका प्रमुख हुन्।