शुक्लाफाँटामा ढले ३ हजार रूख

0 4
व्यवस्थापनमा मन्त्रालयको बेवास्ता
काठमाडौं : सरकारी जंगलको एउटा रूख काट्ने अनुमति लिन मन्त्रिपरिषद्मार्फत निर्णय गराउने बन मन्त्रालय शुक्लाफाँटा वन्यजन्तु आरक्षमा करिब तीन हजार रूख ढलेर चोरी निकासी हुँदासमेत बेखबरजस्तै छ।
आरक्ष कार्यालयले ती ढलेका रूख चोरी हुन लागेकाले उचित व्यवस्थापनका लागि निर्देशन पाउन पटकपटक गरेको ताकेतालाई समेत उसले बेवास्ता गरेको छ।
वैशाख १७ गते हावाहुरीले आरक्ष क्षेत्रभित्रका करिब तीन हजार रूख ढलेका तथा भाँचिएका थिए। तिनको उचित संरक्षण कसरी गर्ने भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलाई आरक्षण कार्यालयले पत्राचार गरेको थियो।
रूख ढलेको १० दिनपछि अर्थात् वैशाख २७ गते कार्यालयले विभागलाई पठाएको पत्रको कुनै वास्ता नभएपछि कार्यालयले पुन: जेठ ११ गते अर्को ताकेतापत्र पठाएको थियो।
कार्यालयले तालुक अड्डा वन्यजन्तु विभागलाई पठाइएका दुईवटै पत्रको बोधार्थ बन सचिव, क्षेत्रीय बन निर्देशक, प्रमुख जिल्ला अधिकारी कञ्चनपुर, गरुड दल गण र आरक्षस्थित मझगाउँ ब्यारेकलाई समेत दिएको थियो।
कार्यालयले पत्र पठाउनुअघि गरुड दल गणका प्रमुख सेनानी श्रवणकुमार बिष्ट, सेनानी रामबहादुर अधिकारी (भवानी बक्स गण) र राजकुमार भुजेल गरुड दल, सहायक संरक्षक अधिकृतद्वय गोपालबहादुर घिमिरे र चन्द्रबहादुर चन्द, कार्यालयका लेखा अधिकृत प्रेमबल्लभ भट्ट र परामर्शदाता (आईडीए प्रोग्राम) राजेश झालाई समेत उपस्थित गराई निर्णय गरेर पत्र पठाएको थियो।
बैठकले आरक्ष क्षेत्रमा रहेका भौतिक संरचनाका साथै रूखहरू ढली व्यापक रूपमा क्षति पुगेकाले त्यसको व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको थियो।
बैठकले हावाहुरीले आरक्ष क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण बाटोमा रूख ढालेर अवरोध उत्पन्न गर्दा दैनिक गस्ती, अनुगमनमा असर परेको, पर्यापर्यटनमा असर परेको, यातायात परिचालन गर्न नसकेर कर्मचारी र हात्तीका लागि आवश्यक खाद्यान्नलगायत सामग्री ओसारपसार गर्न नसकेको र पोस्टहरूमा कर्मचारी बिरामी परे उद्धारकार्यमा समेत बाधा आइपरेको निर्णयमा उल्लेख गरेको थियो।
वन्यजन्तु आरक्ष तीन सय पाँच वर्गकिमि क्षेत्रमा फैलिएको र तीनैवटा दिशामा आवादी भएकाले सबैतिरबाट आरक्षलाई प्रभाव पर्ने मन्त्रालय र विभागलाई आरक्ष कार्यालयले पठाएको पत्रमा उल्लेख छ।
पत्रमा आरक्ष सुख्खा क्षेत्रमा पर्ने साल बनमा रूखहरू भाँचिएको तथा ढलेको हुँदा ती डढेलोले जलेर नोक्सान हुनेतर्फ सजग गराइएको छ।
आरक्षणको पश्चिम र दक्षिण सिमानामा सामुदायिक बन क्षेत्र नभई सीधै आरक्षसँग आवादी जग्गा जोडिएको हुँदा सिमानाका रूखहरू दिनप्रतिदिन चोरी हुने सम्भावना भएको जानकारी पनि विभागलाई दिइएको छ।
‘प्रत्येक स्थानबाट सजिलै दिनरात आरक्षभित्र प्रवेश गर्न सकिने अवस्था रहेको र ढलेका लाखौं मूल्य पर्ने काठ चोरी गर्ने काममा युवा संलग्न भएको देखिएको छ’, पत्रमा छ, ‘अत: प्रतिकूल हावाहुरीका कारण ढलेका यति ठूलो संख्याका रूख व्यवस्थापन गर्न एक उच्चस्तरीय टोलीबाट स्थलगत निरीक्षण गराई उचित व्यवस्थापनको निर्देशन पाउन पुन: अनुरोध छ’, प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
यस सम्बन्धमा बनमन्त्री महेश आचार्यले आफूलाई सचिवबाट आइतबारमात्र जानकारी प्राप्त भएको बताए। ‘मलाई सचिवले खबर गर्नुभएको थियो। छलफल सुरु भएको छ के गर्ने भनेर’, आचार्यले अन्नपूर्णसँग भने।

-Source: Annapurna Post