आयल निगमले पेट्रोलियमको मूल्य बढायो

0 6

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने वृद्धि नगरिएको आयल निगमले जानकारी दिएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको समायोजन गर्न मूल्य बढाएको हो ।

आजबाट मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ । मट्टीतेल र डिजेलको मूल्य ८८ रुपैयाँ ५० पैसा पुगेको आयल निगमले जनाएको छ ।

२०७१ असोजबाट निगमले स्वचालित मूल्यप्रणाली लागू गरेको हो । सो प्रणाली अनुसार यसअघि २०७१ चैत १९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य एक एक रुपैयाँ घटाएको थियो ।त्यसअघि २०७१ फागुन २२ गते निगमले तेलको मूल्य एक एक रुपैयाँ बढाएको थियो ।