घडेरी सम्याउँदा पाइप बम भेटियो

0 3

खोटाङ : खोटाङमा घडेरी सम्याउनेक्रममा पाइप बम फेला परेको छ । दिक्तेल नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कार्यालयनजिक घडेरी सम्याउने क्रममा दुईवटा पाइप बम भेटिएको हो ।

आइतबार दिउँसो घडेरी सम्याउनेक्रममा कामदारले फेला पारेको बम नेपाली सेनाको बम डिस्फोजल टोलीको सुरक्षा घेराभित्र राखिएको छ ।

बम खतरनाक भएकाले माथिल्लो निकायको आदेशअनुसार डिस्पोज गरिने जबरजङ्ग गण मुडे ब्यारेकका गणपति रामबहादुर थापाले बताए ।

स्थानीय चन्द्रकला राईको घर बनाउन घडेरी सम्याउनेक्रममा बम फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ती बम सशस्त्र द्वन्द्वको समयमा प्रहरीले आफ्नो कार्यालय सुरक्षाका लागि गाडेको हुनसक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा यसअघि पनि बम फेला परेका थिए ।