भूकम्पको केन्द्र गोरखामा स्कूल खुल्यो

0 12
गोरखा: भुकम्पको केन्द्र गोरखाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन आइतबारदेखि सुचारु भएको छ । जिल्लाभरका चारसय ९५ र संस्थागत ४७ वटा विद्यालयहरुमा पठनपाठन सुरु भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
‘हिमाली भेगका केही बाहेक सबै विद्यालय खुलेको जानकारी आएको छ’ जिल्ला शिक्षा अधिकारी हरि अर्यालले भने ‘हामीले सोचेभन्दा धेरै विद्यार्थीहरु आज पहिलो दिनमा स्कूल आए ।
यो हप्ताभित्र सबै विद्यार्थीहरु विद्यालयमा जानेछन् ।’ केही विद्यालयहरुमा टहराहरु बन्दै गरेकाले पढाइ केही प्रभावित भएको भन्दै उनले यो हप्ताभित्र सबै टहराहरु निर्माण सम्पन्न भइसक्ने बताए ।
हिमालपारिका सामागाउँको गौरीशंकर आबासीय निमावि र सिर्दिबासको वुद्ध आबासीय मावि पनि खुलेको छ । भुकम्पको केन्द्रविन्दू बारपाकका सबै विद्यालय पनि खुलेका छन् । पहिलो दिन भएकाले मृतक विद्यार्थीको नाममा शोकसभा गरी छाडिएको हिमालय उच्च माविका शिक्षक रामकुमार घलेले जानकारी दिए ।
‘हाम्रो विद्यालयका चारजना विद्यार्थीहरु भुकम्पमा परी मरेका थिए । आज पहिलो दिन उनीहरुकै नाममा शोकसभा गरेर छोडियो’ घलेले भने ‘भोलिदेखि धमाधम पढाइ हुन्छ । विद्यालयमा अस्थायी टहरो तयार भइसकेको छ ।’ विद्यार्थीहरु पनि विद्यालयमा आउँदा रमाएरै आएको उनले बताए ।
भुकम्प गएकै दिनमा बारपाकमा पाठ्यपुस्तक जाँदै थियो । ‘भुकम्प गएर बाटो पहिरिएपछि राङरुङमै किताब थन्कियो’ शिक्षक घलेले भने ‘अब भोलिदेखि पुस्तक पनि बाँडिन्छ ।’
बारपाकमा सात सामुदायिक र एक संस्थागत विद्यालय छन् । पूर्ण क्षति भएको र हिमालय उच्च मावि नजिकै रहेको अकलादेवी प्राबि र गाउँदेखि एकलासमा रहेको जनकल्याण प्राबि भने हिमालय उच्च माविमै गाभेर पढाइएको विद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष जीत घलेले जनाए ।
विद्यार्थी संख्या कम भएको र संरचना पनि पूर्ण क्षति भएका विद्यालयहरुलाई नजिकैको ठूलो विद्यालयमा गाभेर संचालन गर्ने नीति रहेको जिशिअ अर्यालले बताए । जिल्लाका ३९ वटा विद्यालयहरु नजिकका विद्यालयमा गाभिएको उनको भनाइ छ ।
यसअघि जिल्लाभरका विद्यालयहरुले गत बैशाख १३ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी गरेका थिए । १२ गतेको महाभुकम्पका कारण जिल्लाका चारसय ९५ विद्यालयको तीनहजार ५२ कक्षाकोठा पूर्ण रुपमा नष्ट भएका थिए । त्यस्तै चार जना शिक्षक र ५७ जना विद्यार्थीको मृत्यु भएको थियो ।

– Source: Annapurna Post