भूकम्पले बन्द विद्यालय आजबाट खुले

0 7
काठमाडौँ : भूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चलनमा आएका छन् ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए ।
शिक्षा मन्त्रालयको निर्णयानुसार आजदेखि अधिकांश विद्यालय खुले पनि भवन क्षति भएका केही विद्यालयमा अझै केही दिनपछि पढाइ हुनेछ । पढाइअघि मनोसामाजिक परामर्श दिने नीति सरकारको छ ।
काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ ।
सीमित टहराका कारण कतिपय निजी विद्यलायमा बिहान र दिवा गरी दुई सत्रमा विद्यालय सञ्चालन हुँदैछ । विद्यालय सञ्चालनसँगै जनजीवन सामान्यीकरण हुन थाल्ने अपेक्षा गरिएको छ ।
शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको संयोजनमा विद्यालय खुल्ने बताए । कक्षा सञ्चालनको तयारीका लागि सूचना जारी गरिएको बताइएको छ ।
-Source: Annapurna Post