विप्लव माओवादीले भूकम्पपीडितको बिचल्ली पार्यो

0 16
गोरखाबाट चितवन लगिएका भूकम्पपीडित घर न घाटका
गोरखा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादीले पुनःस्थापनाको आश्वासन दिएर गोरखाका भूकम्पपीडितलाई चितवन लगेर अलपत्र पारेको छ ।
बिनाअनुमति निजीजग्गामा टहरो बनाई बसेका करिब तीनसय पीडितपरिवारलाई स्थानीय प्रशासनले त्यहाँबाट हट्न निर्देशन दिएपछि भूकम्पपीडितको बिचल्ली भएको हो ।
माओवादी चितवनका नेताहरु महेश चौधरीलगायतले आफूहरुलाई भरतपुर उपमहानगरपालिका–३ कैलाशनगर पुर्याएर अलपत्र पारेको बारपाकका कुमार विकले जानकारी दिए ।
बिनाजानकारी आफ्नो जग्गा कब्जा गरी टहरो बनाई बसोबास गरेकाहरुलाई हटाइदिन जग्गाधनी अजय विक्रम र विजय विक्रम शाहले प्रशासनसँग माग  गरेका थिए ।
उनीहरुको निवेदनको आधारमा पीडितपरिवारलाई फर्कन अनुरोध गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिए ।
कैलाशनगरमा गोरखाको बारपाक, घ्याच्चोक, लाप्राक, गुम्दा, लापु, उहिया, खोप्लाङ, छोप्राक, मुच्चोक, ताकुकोट, जौबारी, केराबारी, सौरपानी, हंशपुर, खरिबोट, थुमी, स्वाँरा र सिम्जुङ, लगायत गाविसका भूकम्पपीडिटतहरु पुगेका विकले बताए ।
त्यस्तै माओवादीको सम्पर्कबाट धादिङ, सिन्धुपाल्चोक र लम्जुङबाट पनि पीडित परिवारहरु त्यहँ पुगेका छन् । गत मंगलबारदेखि पीडितहरु यहाँ आउन थालेको उनले बताए ।
‘सबैभन्दा पहिलो हामी यहाँ आएका हौं । अहिलेसम्म हामी यहाँ करिब पाँचसय परिवार आएका छौं’, विकले भने, ‘तर प्रशासनले टहरा बनाउन नदिएर हामीलाई जिल्लामै फर्काउन धरपकड गरेको छ । हामीले जबरजस्ती टहरा बनायौं ।’
उनले राहतको ब्यवस्था गर्नुपर्नेमा उल्टै आहत बनाएको गुनासो गरे । आफूहरुले जग्गाधनी विवेक शाहसँग समन्वय गरी पीडित परिवारलाई अल्पकालीन पुनर्बास गराएको माओवादी नेता महेश चौधरीले दाबी गरे ।
‘जग्गाधनी विवेकजीसँग समन्वय गरी हामीले पीडित परिवारलाई पुनर्बासको पहल गरेका हौं’, चौधरीले भने ‘अब यी परिवारलाई राज्यले राहत सामग्रीको ब्यवस्था गर्नुपर्छ ।’
तर प्रशासनले फर्काउने प्रयास नगरेको उनले दाबी गरे । विवेक शाहले भने सो जग्गा कागजीरुपमा आफ्नो नभएको स्वीकार गरेका छन् ।
२०३२ सालमा आफूले किनेपनि लालपूर्जा अजय र बिजय बिक्रमकै नाममा रहेको उनको भनाइ छ । ‘मैले नै भोगचलन गरेको जग्गामा ल्याएर राख्न अनुमति दिएको थिएँ’, शाहले भने ‘तर जसको नाममा लालपूर्जा छ, उनीहरुले भाँजो हाले ।’
प्रमुख जिल्ला अधिकारी विकले पुनर्बासका लागि ब्यक्तिले कसैको जग्गा कब्जामा लिएर नभई सरकारी तवरबाट हुनुपर्ने बताए ।
‘कि सम्बन्धित जिल्लाको दैवी प्रकोप उद्धार समितिले पत्राचार गर्नुपर्यो, कि सरकारले निर्देशन दिनुपर्यो’ प्रजिअ विकले भने, ‘कसैले अर्काको नाममा रहेको जग्गामा राख्छु भन्दैमा कानून अनुसार राख्न मिल्दैन । त्यसैले मैले फर्कन अनुरोध गरेको छु । धेरैजसो फर्किसक्नु भएको छ ।’
गोरखाका दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले पुनर्बासका लागि जिल्ला तहबाट भर्खर सुरु गरेको जनाएका छन् । ‘
सम्वन्धित निर्वाचनक्षेत्रका भूकम्पपीडितलाई सकेसम्म जिल्लाभित्रै पुनस्थापना गराउन पहल गरेको उनले बताए । ‘जिल्ला बाहिर लाने अहिले हामीलाई निर्देशन छैन’, उनले भने, ‘जिल्लाबाहिर लानुपरे मन्त्री परिषद्को निर्णयानुसार प्रक्रिया पुर्याएर हामी नै पुनस्थापना गराउँछौं ।’

– Source: Annapurna post