६ जना कैदी बन्दीको बाँकी कैद माफि

0 4
गणतन्त्र दिवसमा महोत्तरी कारागारका ६ जना कैदी बन्दीको बाँकी कैद माफि दिइएको छ।
राष्ट्रिय पर्व र उत्सवमा कैद मिनाहा गर्न सकिने प्रावधानमा टेकेर गृहले ५० प्रतिशत कैद भुक्तान भएका र आचरण राम्रो देखिएका जलेश्वर कारागारमा रहेका कैदी बन्दीहरु सर्लाही लालबन्दी ३ का भीम वहादुर गुरुङ, रौतहट समनपुर ८ का रामसागर यादव, धनुषा महेन्द्रनगर १ का पारस भन्ने रोहित थापा, हरिहरपुर ५ का सुमन कल्याण महतो, वेगाशिवपुर १ का रामसागर यादव र २ का संजय साह हलुवाईलाई बाँकी कैद माफि गरिएको जेलर सोमेन्द्र ठाकुरले बताए।उनीहरुले शुक्रवार नै रिहा गरिएको उनले बताए
हातहतियार खरखजाना मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका गुरुङलाई ९ महिना १६ दिन ८४ प्र्रतिशत सोही मुद्दामा ३ वर्ष १ महिना कैद सजाय तोकिएका यादवलाई १० महिना ५ दिन ७३ प्रतिशत, डाँका मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका थापालाई १ वर्ष ९ महिना १७ दिन ६८ प्रतिशत, महतोलाई १ वर्ष १० महिना १७ दिन ६८ प्रतिशत, कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद सजाय तोकिएका रामसागर यादवलाई २ वर्ष ८ महिना १९ दिन ७१ प्रतिशत र कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष सजाय तोकिएका हलुवाईलाई ४ वर्ष १० महिना ११ दिन ५१ प्रतिशत कैद मिनाहा गरिएको जेलर ठाकुरले बताए।
महिला ३३ आश्रित ३ सहित ३ सय ८० कैदीबन्दी रहेको जलेश्वर कारागारमा धनुषा, महोत्तरी, सर्लाही, दाङ, मकवानपुर, धादिङ, पर्सा, सिन्धुपालचोक, भारतका १ सय १८, बरमेली ७ कैदी बन्दी रहेका छन।
कारागार व्यवस्था विभागले फौजदारी मुद्दा फिर्त लिनेसम्बन्धी कार्यविधि २०७१ ले माफी दिन सकिने सूचीमा राखेका अपराधमा कारागारमा रहेकाको कैदी मिनाहाको सूची पठाउन सबै जिल्लामा परिपत्र गरेपछि सोही आधारमा कैद मिनाहा गर्नका लागि ११ जनाको नाम सिफारिस गरिएको जेलर ठाकुरले बताए।
गृहले जारी गरेको नेपाल सरकारवादी भएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी कार्यविधि २०७१ अनुसार कैद मिनाहा हुन नसक्ने सूचीका अपराधमा कैदभुक्तान गरिरहेका कैदीबन्दीको बाँकी कैद फिर्ता हुन सक्दैन। कार्यविधिले अभियुक्तको उमेर, आचरण, उका आपराधिक तथ्यांक र उसका प्रतिष्ठालाई आधार बनाएर बाँकी कैद मिनाहा गर्नसक्ने प्रवन्ध गर्दै २४ प्रकारका अपराधलाई भने माफी दिन नसकिने सूचीमा राखेको छ।
५० प्रतिशत कैद सजाय काटिसकेको, कारागारमा बस्दाको आचरण राम्रो रहेको, ७० वर्ष उमेर पार भइसकेको कैदी बन्दीको बाँकी कैद माफी दिन सकिने प्रावधान भए पनि कार्यविधिको दफा ३ अनुसारको सूचीमा रहेका २४ कसुरका कैदीबन्दीको कैद माफी पाउन सक्दैनन्।
कार्यविधिले भ्रष्टाचार, नक्कली नागरिकता, अख्तियार दुरुपयोग, तस्करी कालोबजारी, प्राकृतिक र सांस्कृतिक सम्पदाको चोरी, राजस्व चुहावट र भन्सार छली, ठगी, वैदेशिक रोजगारसम्बन्धी अपराध, मानव बेचबिखन, बलात्कार, लागुऔषध, जासुसी, लिखतको गोप्यता भंग, राज्यविरुद्ध अपराध, युद्ध अपराधको सजायमा कैद सजाय काटिरहेकाको कैद मिनाहा हुन सक्दैन। यसैगरी, मानवताविरुद्ध अपराध, संगठित अपराध, महिला एवं बालबालिकाविरुद्धको अपराध, जाति हत्या, सार्वजनिक हकविरुद्धको अपराध, गैरसरकारी व्यक्तिको सम्पत्तिमा असर पर्ने मुद्दा, जाली, राहदानी, वन्यजन्तुसम्बन्धी अपराध, जाली नोट कारोबार, अपहरणको मुद्दामा कैद सजाय मिनाहा हुन सक्दैन।