सेनाको टोलीले कालीगण्डकीको ताल फुटाउन सकेन

0 7

म्याग्दी : राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले थुनिएर कालीगण्डकीमा बनेको कृत्रिम ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोली असफल भएको छ ।

तीनदिन देखि लगातार विस्फोट गरेर तालको सतह घटाउने प्रयास गरेपनि सोचेअनुरुप प्रगति नभएपछि शनिबारदेखि प्राविधिक टोलीले काम बन्द गरेको छ ।

बुधबार र बिहीबार ७ वटा विस्फोट गराइएपजि तालको पानी निकास निस्कने बाटो खुल्न नसक्दा काम रोकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

‘त्यहाँ बनेको कृत्रिम ताललाई विस्फोट गरेर फुटाउन सकिने आँकलन गरेर काम थाल्यौं, तर सफल भइएन्, सेनाको टोली शनिबारदेखि परिचालित भएको छैन’, प्रजिअ केसीले भने, ‘उक्त ताल तत्काल नफुट्ने र फुटेपनि खासै फरक नपर्ने देखियो ।’

हप्ताअघि खसेको पहिरोले कालीगण्डकी १७ घण्टा थुनिएको थियो । नदी बग्न थालेपनि अझै सात सय मिटर लामो र एकसय मिटर गहिरो ताल यथावत छ ।

‘सेनाको विस्फोटले तालको करिब एकसय मिटर लम्बाई र दुई मिटर गहिराई घटेको अनुमान छ, अब नदी आफैले निकास लिन्छ भनेका छौँ, प्रजिअ केसीले भने । कृत्रिम ताल फुटाउन इन्द्रवक्स गणको समन्वयमा कम्व्याट इञ्जिनियर सहित २० जनाको टोली खटेको थियो ।
ताल पूर्णरुपमा फुटाउन नसक्दा कालीगण्डकी तटीयक्षेत्रमा अझै जोखिम टरिसकेको छैन । पहिरोले कालीगण्डकी थुनिँदा भगवती–२ र राम्चे–९ वैंसरीका २७ घर पूर्ण रुपमा पुरिएका छन् ।

पहिरो पीडितहरु अहिले पिप्ले–४ स्थित खोरिया सामुदायिक वनमा निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएका छन् । इन्द्रवक्स गणका गणपति मनोजकुमार सिलवालले सेनाले पूर्णरुपमा हात नझिकेको बताए ।
‘सोचे अनुसार विस्फोट भएन र तालको सतह पनि घटेन्, अब ताल नफुटाएपनि खासै फरक पर्दैन, गणपति सिलवालले भने, ‘नदीले अब आफ्नै कोर्श लिन्छ ।’ पहाडबाट निरन्तर पहिरो खसिरहेकाले पनि ढुक्कसँग काम गर्न नसकेको उनले बताए ।

कृत्रिम ताल नफुटेपछि सडक विभागले करिब २० मिटरमाथिबाट सडकको नयाँ ट्रयाक खुल्ने भएको छ । ‘ताल फुटेपनि पहिलाकै सडकलाई मर्मत गर्ने योजना थियो’, प्रजिअ केसीले भने, ‘तर अब माथिबाट नयाँ ट्रयाक खन्नुपर्ने भएको छ, सडक खन्ने काम सुरु भइसकेको छ ।’

कालीगण्डकी थुनिएदेखि नै बेनी–जोमसोम सडकखण्डमा सीधा यातायात अवरुद्ध छ । सडक विभागले सडक सुचारु गर्न कम्तिमा २० दिन लाग्ने जनाएको छ । – Source: Annapurnapost