पर्खालका इँट पन्छाएर फर्के मन्त्री

0 3
भक्तपुर : विश्व सम्पदास्थल चाँगुनारायण मन्दिरको भग्नावशेष हटाउन आएका पाँच मन्त्री मन्दिर परिसरभित्र प्रवेश गर्न नपाएपछि पर्खालको इँट पन्छाएर फर्केका छन्। पूर्वसूचनाबिना गएका मन्त्रीहरूलाई पुरातत्त्व विभागले विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिर परिसरभित्रको भग्नावशेष सफाइमा रोक लगाएपछि उनीहरू केहीबेर पर्खालको इँट पन्छाएर फर्केका हुन्।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कानुनमन्त्री नरहरि आचार्य, बनमन्त्री महेश आचार्य, स्वास्थ्यमन्त्री खगराज अधिकारी र खेलकुदमन्त्री पुरुषोत्तम पौडेल उत्तरपूर्वी कुनास्थित चौघेरा सत्तलको भग्नावशेषको इँट पन्छाउन शुक्रबार चाँगुनारायण पुगेका थिए।
पन्जा, मास्क र हेल्मेट लगाएका उनीहरू सुरक्षाकर्मीले उठाइदिएको इँट पन्छाउन सर्वसाधारणसँगै लाममा बसेका थिए। चाँगुनारायण मन्दिरमा भूकम्पले भत्काएका सम्पदाहरूको भग्नावशेष सफा गर्न मन्त्रीहरू आउनेबारे मन्दिरका मूल पुजारीलाईसमेत जानकारी थिएन।
चाँगुनारायण मन्दिर हेर्ने पुरातत्त्व विभागकी अधिकृत अरुणा नकर्मीलाई समेत बिहीबार बेलुकामात्रै भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले फोन गरेर मन्त्रीहरू भग्नावशेष सफा गर्न चाँगु पुग्ने जानकारी दिएका थिए।
तर मन्त्रीहरू चाँगुनारायण पुगेर केकसरी भग्नावशेष सफा गर्छन् भन्ने उनलाई जानकारी दिइएन। ‘चाँगुनारायण मन्दिर विश्व सम्पदा क्षेत्र हो। त्यसैले यहाँ सफा गर्ने नाउँमा जथाभाबी गर्न हुँदैन’, नकर्मीले भनिन्, ‘त्यसैले शुक्रबार मन्त्रीहरूलाई चौघेराबाहिरका इँट पन्छाउन आग्रह गरियो र सोहीअनुसार उहाँहरूले इँट पन्छाउने कार्यको नेतृत्व गर्नुभयो।’
उनले चाँगु मन्दिरभित्रका भूकम्पले भत्काएका मठमन्दिर, सत्तलका महत्त्वपूर्ण सम्पदा तथा पुराना मूर्ति, काठ र इँटमा नम्बर लेखेर सुरक्षा गर्दै आएको जानकारी दिइन्। भूकम्पले मन्दिरभित्र भत्काएको चौघेरा सत्तल सफा गर्दा महत्त्वपूर्ण पुरातात्त्विक वस्तुहरू भेटिएको उनले बताइन्।
चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले भूकम्पले भत्काएको भग्नावशेष हटाउन मन्त्रीहरू बिनापूर्वतयारी आएको देख्दा अचम्म लागेको बताए।
मन्त्रीहरूको पछिपछि सयौं सुरक्षाकर्मी, निजामती कर्मचारी, नेता र कार्यकर्ता आउँदा पनि अपेक्षाकृत भग्नावशेषको सफाइ नभएको उनको भनाइ थियो। उनले भूकम्पले भत्काएका संरचनाभित्रको माटो सबैभन्दा पहिले व्यवस्थापन गर्नुपर्ने बताए।
तर शुक्रबार मन्त्रीहरूबाट सर्वसाधारणसँगै लाम लागी भत्केको संरचनाको इँट उप्काएर खुला ठाउँमा चाङ लगाउनेभन्दा बढी अरू काम हुन सकेन।
परराष्ट्रमन्त्री पाण्डे एमाले भक्तपुरका अध्यक्ष राजेन्द्र राजथलाले नेतृत्व गरेको र बनमन्त्री आचार्य कांग्रेस भक्तपुर सभापति गणेशमान चक्रधरले नेतृत्व गरेको टोलीमा मिसिएका थिए।
कानुनमन्त्री आचार्य, स्वास्थ्यमन्त्री अधिकारी र खेलकुदमन्त्री पौडेल भने एउटै लाममा बसेका थिए। इँट पास गर्दैगर्दा यी तीन मन्त्रीबीच ठट्टासमेत चलेको थियो।
पौडेलले आफूलाई कम्मर दुख्ने समस्या भएको बताइरहँदा आचार्यले खेलकुदमन्त्रीलाई रोग लागे अरूलाई के होला भनेका थिए।
भूकम्पले चाँगुनारायण मन्दिरमा नराम्ररी क्षति पुगेको छ। मन्दिरलाई घेरिएको चौघेरा सत्तल पनि ध्वस्त भएको छ। शिखर शैलीको बदेश्वर महादेव र प्यागोडा शैलीको लक्ष्मीनारायण मन्दिर पूर्ण रूपमा भत्किएको छ। प्यागोडा शैलीकै तीनतले किलेश्वर महादेव मन्दिर चर्किएको छ।
-Source: Annapurna Post