तत्काल सरकार परिवर्तन असंभव : कांग्रेस

0 4
काठमाडौं : राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्ष एमाओवादीबीच छलफल भैरहेको बेला कांग्रेसले तत्काल सरकार परिवर्तन सम्भव नभएको निश्कर्ष निकालेको छ।बालुवाटारमा बेलुका बसेको चार पक्षको शीर्ष बैठकमा कांग्रेस नेतृत्वले यही निश्कर्ष प्रस्तुत गरेको छ ।
शुक्रबार बिहान बालुवाटमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको हो ।  असार मसान्तसम्म नयाँ संविधान जारी गरे साउन १ गते प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा गर्ने निर्णय गरेको छ।
सरकार परिवर्तन गर्ने विषयमा आफ्नै सत्ता साझेदार एमालेले कसरत सुरु गरेपछि कांग्रेसले त्यस विषयमा छलफलगर्न शुक्रबार विहान पार्टी पदाधिकारी र केही प्रभावशाली नेताहरुको बैठक डाकेको थियो। उक्त बैठकले तत्काल सरकार परिवर्तन गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै संविधानसभा तत्काल सुरु गरी फाष्ट ट्रयाकबाट संविधान निर्माण अघि बढाउने धारणा अघि सारेको हो ।
‘असार मसान्तमा संविधान जारी गर्नेगरी संविधानसभालाई अघि बढाउ र संविधान जारी भएको भोलीपल्ट प्रधानमन्त्रीले राजिनामा गर्ने बैठकको निर्णय हो’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले अन्नपूर्णसँग भने, ‘संविधान जारी नगरी अहिले सहमतिको सरकार सम्भन छैन ।’
कांग्रेसले जतिसक्दो नयाँ संविधान जारी गरेर राजनीतिक स्थायित्व कायम गर्न संविधानसभाभित्र सहमति भएका विषयलाई तत्काल मस्यौदा समितिमा पठाउने पनि निर्णय गरेको छ । ‘संविधान निर्माणका विषयमा भएका प्रगतिलाई संविधान मस्यौदा समितिमा पठाउने र फाष्ट ट्रयाकबाट संविधान निर्माण अधि बढाउनुपर्ने बैठकको ठहर हो’ खड्काले भने ।
बैठकले संविधानका अन्तरवस्तुमा सहमति निर्माण गर्न तत्काल प्रमुख दलहरुबीच वार्ता र संवादलाई पनि अघि बढाउने निर्णय गरेको थियो।