अवैध आप्रवासीलाई स्वदेश फर्कन मौका

0 3
सिउल : दक्षिण कोरियामा अवैध रूपमा बसोवास गरिरहेका विदेशी कामदारलाई स्वेच्छिक रूपमा स्वदेश फर्कन यहाँको सरकारले अवसर दिएको छ। कोरियाली अध्यागमन विभागले मंगलबार जारी गरेको सूचनामार्फत भिसा अवधि समाप्त भएर पनि कोरियामै रहेका अवैध विदेशी नागरिकलाई स्वदेश फर्कन अवसर प्रदान गरिएको हो।
सूचनाअनुसार स्वेच्छिक रूपमा स्वदेश फर्कने विदेशीले जरिवाना तिर्नु नपर्ने, जेलमा बस्नु नपर्ने र कोरियाबाट फर्किएको दुई वर्षमै फेरि कोरिया प्रवेश गर्नसक्ने उल्लेख छ। पक्राउ परेर स्वदेश फिर्ता हुने विदेशी नागरिकलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लगाइने जनाइएको छ।
स्वदेश फर्कन चाहने विदेशी नागरिकलाई झन्झट नदिई फर्काइने सूचनामा जनाइएको छ। यसका लागि अद्यावधिक राहदानी वा ट्राभल डकुमेन्ट लिएर कोरियाको जुनसुकै क्षेत्रमा रहेको अध्यागमन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ।
यस्तै नक्कली राहदानी र प्रचलित नियमविपरीत प्रक्रियाबाट कोरिया प्रवेश गरेका विदेशी नागरिकको हकमा स्वेच्छिक फर्कनेहरू दुई वर्षमा कोरिया प्रवेश गर्न इच्छुक भए भिसा प्रक्रियामा प्राथमिकता दिइनेछ।
यो व्यवस्था कहिलेसम्म लागू हुने मिति उल्लेख नगरिएको सूचनामा इन्चेन, किम्हे, र गिम्पो विमानस्थलमा रहेका अध्यागमन विभागहरूबाट विस्तृत जानकारी लिन सकिने जनाइएको छ।
सुरक्षानिकायले पक्रिएपछि फिर्ता भएको अवस्थामा अवैधानिक बसेको वर्ष अवधिअनुसार दण्ड जरिवाना गरिने व्यवस्था छ। दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले कोरिया प्रवेश पुन: निश्चित भएको अवस्थालाई ख्याल गर्दै स्वदेश फिर्ता हुन अवैध रूपमा बसेका नेपालीलाई आग्रह गरे।
 बर्तौलाले जारी सूचनाले अवसरको सदुपयोगका साथै नेपाली कामदारको कोटा बढ्न सक्ने आशा व्यक्त गरे।
कोरियामा नेपालीहरू अवैध रूपमा बस्नुको मुख्य कारण उमेरको हदबन्दी रहेको छ। ४० वर्षपछि पुन: कामका लागि प्रवेश रोकिएको छ।