‘रातो टाँसिदैमा भवन भत्काउनु पर्दैन’

0 2
मापदण्ड मिचेर भवन बनाए बिजुली पानीको लाइन काटिने 
काठमाडौं : रातो स्टीकर लगाउँदैमा घर वा भवन भत्काउनै पर्ने र बस्नै नहुने भन्ने बुझाइ गलत रहेको विज्ञहरुले बताएका छन्।अन्नपूर्ण पोस्ट्ले आफ्नै कार्यलयमा शुक्रबार आयोजना गरेको अन्तरसम्वादमा सहभागी इन्जिनियर तथा विज्ञहरुले थप क्षति नहोस् भनेर सुरक्षाका लागि मात्र रातो स्टीकर टाँस्ने गरिएको स्पष्ट पारेका छन्।
अन्नपूर्ण पोस्ट्ले शुक्रबार आयोजना गरेको अन्तरसम्वादमा सहभागी इन्जिनियर तथा विज्ञहरुले थप क्षति नहोस् भनेर सुरक्षाका लागि मात्र रातो स्टीकर टाँस्ने गरिएको स्पष्ट पारेका छन्। नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले रातो स्टीकर टाँसिएका घर तथा भवन मर्मत तथा सबलीकरण (रेक्ट्रोफिटिङ)पछि प्रयोग गर्न सकिने बताउँदै भने, ‘रातो स्टीकरका कुराले धेरै आतंकित हुन आवश्यक छैन। तत्काल निरीक्षण गरेर थप मानवीय क्षति नहोस् भनेर सुरक्षाका लागि अपनाइएको सामान्य विधि हो।’
विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भवन तथा घरहरुको निरीक्षणका लागि सहरी विकास तथा भवन निर्माण विभागले स्थलगत निरीक्षणका लागि इन्जिनियर तथा विज्ञहरुको टोली खटाएको छ। घर वा भवनको अवस्था मूल्यांकनपछि तीनवटा स्टीकर दिने गरिएको छ। बढी क्षतिग्रस्त भएमा रातो, जोखिम हटाएर वा थोरै मर्मत गरेर तत्काल बस्न मिल्ने भएमा पहेंलो र सुरक्षित रहेमा हरियो स्टीकर दिने गरिएको छ।
आपतकालीन अवस्थामा तत्कालको क्षति मूल्यांकन गरेर सुरक्षाका लागि सूचना दिन पन्ध्र मिनेट वा आधा घन्टाको तालिम दिएर इन्जिनियर तथा विज्ञहरुलाई फिल्डमा खटाइएको बताउँदै थापाले भने, ‘दस मिनेट निरीक्षण गरेर सुरक्षाका लागि रातो, पहेलो र हरियो स्टीकर दिइएको हो । यसमा धेरै आत्तिनुपर्ने अवस्था छैन। थापाले इन्जिनियर एशोसिएशन आफैले हरियो वा रातो स्टीकर लगाउने काम नगरेको पनि स्पष्ट पारे।’
भूकम्पपछिको अवस्था अध्ययन गर्न न्युजील्यान्डबाट नेपाल आएका संरचनागत तथा भूकम्प इन्जिनियरिङ विज्ञ डा. राजेश प्रसाद ढकालले रातो र हरियो स्टीकरका कुराले धेरै भ्रम फैलिएको बताउँदै भने, ‘रातो स्टीकर लगाएर मेरो घर वा भवन खत्तम भयो भनेर चिन्तिन हुनुपर्ने र हरियो स्टीकर पाएर मेरो भवन सद्दे रहेछ भन्ने मख्ख पर्नु आवश्यक छैन । थप क्षति नहोस् भनेर सुरक्षाका लागि तत्काल दिइएको सूचना मात्र हो। उनले हरियो स्टीकर लगाएको घर वा भवन पनि परकम्पको रुपमा आएको शक्तिशाली धक्काले भत्किनसक्ने बताउँदै भने, ‘रातो स्टीकर लगाएपछि त्यो घर भत्काउनुपर्छ भन्ने होइन । यस्तो भ्रम पाल्नु भएन ।’
घरको सुरक्षा तथा क्षमता भूकम्पको रेक्टर स्केल वा म्याग्निच्यूडभन्दा पनि जमिन कसरी हल्लियो भन्नेसँग बढी सरोकार राख्‍ने बताउँदै भने, ‘घर वा भवनको जगको जमिन कसरी हल्लिन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ। जमिन हल्लिएको गति र प्रकृतिले गर्दा पनि यसपाली धेरै क्षति भएन। तर कम रेक्टर स्केलको अर्को भूकम्प आउँदा यो भन्दा बढी क्षति हुनसक्छ ।’
यस सन्दर्भमा ढकालले न्युजिल्यान्डको उदाहरण दिए। न्यूजिल्यान्डमा ७.१ म्याग्निच्यूडको भूकम्प आउँदा केही क्षति भएन तर छ महिनापछि २०११ फरवरीमा आएको ६.३ म्याग्निच्यूडको परकम्पले १ सय ८५ को ज्यान लिएको थियो र क्षति पनि बढी भएको थियो।
ढकालले भने, ‘क्षतिका लागि जमिन कसरी हल्लिन्छ र त्यसलाई हाम्रो भवनले कसरी रेस्पोन्स गर्छ भन्ने कुरा नै महत्वपूर्ण हो ।’ उनले घर वा भवन चर्किदैमा डराउनुपर्ने अवस्था नरहेको बताउँदै भने, ‘यत्रो भूकम्प आउँदा पनि घर चर्किएन भने बरु अचम्म हुन्छ। हावापानी फेरिदा त घरमा चर्किन्छ । भूकम्प आउँदा त स्वभाविक हो।’
ढकालले भूकम्पले सुरक्षित घर भवन तथा बस्ती निर्माणका लागि एउटा अवसर पनि दिएकोले त्यसलाई उपयोग गर्नुपर्ने बताए। उनले भवन निर्माणको प्रविधि र  कोडिङ परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै भने, ‘अव वृहत् अध्ययन गरेर सुरक्षित बसोबास र भूउपयोगका लागि नयाँ नीति बनाउनुपर्छ। त्यसलाई कडाइका साथ लागु गर्नुपर्छ ।’
भूभौतिक शास्त्री सुरेन्द्र पन्तले माटोको गुण र चरित्र अध्ययन गरेर बस्ती योजना तथा भूउपयोगको नीति बनाउनुपर्ने बताए । उनले भने, ‘जग अडिएको माटो नै कमशल छ भने हामीले घर वा बिल्डिङ मात्रै मजबूद बनाएर हुँदैन।’ उनले जमिन कसरी हल्लियो भनेर मापन गर्ने प्रविधि र यन्त्र नहुँदा पनि धेरै तथ्यांक बाहिर आउन नसकेको बताए। ‘विदेशीले ल्याएका केही मेशिन पनि घरभित्र राखिएका छन्। कहाँबाट आउँछ सही डाटा, उनले प्रश्न गरे।
सहर तथा वस्ती विकासको नयाँ योजना
सहरी विकास मन्त्रालयका प्रवक्ता पद्म मैनालीले विनाशकारी भूकम्पबाट समेत पाठ सिक्दै सरकारले सुरक्षित सहर तथा वस्ती विकासका लागि ठोस् नीति र दीर्घकालीन योजना बनाउन लागेको बताए। ‘यो उपयुक्त बेला पनि हो, मैनालीले भने, ‘घरधनी, ठेकेदार, इन्जिनियर, सरकार हामी सबै यसका लागि जिम्मेवार छौं तर अब यो अवस्था दोहोरिन नदिन कडा नीति र कानुन बनाएर कठोरतापूर्वक लागु गर्नुपर्छ। त्यसको तयारीमा सरकार छ ।’
घर निमार्णको प्रविधि तथा कोडिङमा नयाँ मापदण्ड आउने र त्यसका लागि अध्ययन भइरहेको बताउँदै भने, ‘अब नक्शा होइन, प्रविधि नै फेर्नुपर्छ। घरधनीलाई नक्शा दिएर मात्रै हुँदैन । अब हामी प्रविधि पनि लिएर घरघरमा जान्छौं।’ उनले इन्जिनियरको प्रत्यक्ष निगरानी तथा सुपरीबेक्षणबिना अब घर वा भवन बनाउन नपाइने बताए।
नक्शाअनुसारको मापदण्ड पालन नगर्ने घरधनीलाई कारबाही गरिने बताउँदै भने, ‘इन्जिनियरले दिएको नक्शा र तोकिएको मापदन्ड पुरा नगर्ने घरमा राज्यले खानेपानी, बिजुलीजस्ता आधारभूत सुविधा काटिदिने छ। त्यसतर्फ छलफल र अध्ययन भइरहेको छ ।’
मैनालीले पूर्वाधार तथा भवन निर्माणमा संलग्न इन्जिनियर, ठेकेदार, मालिक सबै पक्षका लागि आचारसंहित बनाएर कडाइका साथ लागु गरिने बताए।उनले अब घर वा भवनको पनि आयु तोकिनुपर्ने बताउँदै भने, ‘आयु तोकिनुपनर्छ । आयु सकिएपछि भत्काउने सिस्टम सुरु गर्नुपर्छ । कति वर्षमा घर वा भवनको मर्मत गर्ने भन्ने कुरामा पनि नियम बनाउनुपर्छ। निश्चित समयमा मर्मत नगरिने घर राज्यले भत्काउनुपर्छ।’
मैनालीले ३२ वटा अपार्टमेन्टमध्ये दस वटालाई हरियो स्टीकर, बिसवटालाई पहेलो र दुईवटालाई रातो स्टीकर दिइएको बताए। मैनालीका अनुसार स्वतन्त्र विज्ञ समूहलाई अध्ययन गराएर मर्मत, सबलीकरण तथा पुननिर्माणका लागि स्पष्ट योजना पेस गर्नका लागि सरकारले क्षतिग्रस्त अपार्टमेन्टका संचालकहरुलाई औपचारिक रुपमा पत्राचार गरिसकेको छ ।

सम्बन्धित भवन वा संस्था वा व्यक्तिको अनुरोध, त्यसले तत्काल पार्ने असर र सार्वजनिक सरोकारलाई ध्यानमा राख्दै निरीक्षणका लागि टोली खटाउने र स्टीकर दिने गरिएको छ।