रोकियो प्रधानमन्त्रीको भारत भ्रमण

0 6
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले विपत्तिको सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेकाले त्यसको ‘मोडालिटी’ बारे दलहरूबीच छलफल भइरहेको बताएका छन्।
भूकम्पले ल्याएको विपत्तिको सामना गर्न सबै दल एक हुनुपर्ने उल्लेख गर्दै ओलीले संविधान बनाउन र राष्ट्रको पुनर्निर्माण गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका हुन्।
एमाले सम्बद्व बुद्धिजीवी जिल्ला विशेष समितिद्वारा बिहीबार आयोजित भूकम्पपीडितका लागि संकलित राहत हस्तान्तरण कार्यक्रममा ओलीले भने, ‘यो विपत्तिमा संविधान बनाउन र राष्ट्र निर्माण गर्न राष्ट्रिय सहमतिको सरकार जरुरी छ। त्यसको मोडालिटीबारे छलफल जारी छ।’
कार्यक्रमपछि सञ्चारकर्मीले राष्ट्रिय सरकारको नेतृत्वबारे सोधेको प्रश्नमा ओलीले भने, ‘नेतृत्वको कुरा एकजनाले भनेर मात्र हुँदैन। सबै पार्टी मिलेर विपत्तिको सामना गर्नुपर्छ। त्यो एकता फि ल्डमा मात्र होइन, सरकारमा पनि हुनुपर्छ।’
राहत, पुनस्र्थापना र पुनर्निर्माणबारे काम गर्नुपर्ने बेला प्रधानमन्त्री सुशील कोइराला राष्ट्रिय विपद् परामर्श समितिको बैठकमा अल्मलिएको भन्दै ओलीले असन्तुष्टि जनाए।
‘मैले हिजो (बुधबार) प्रधानमन्त्रीजीलाई त्यो समितिको बैठक दसैंसम्म टुंग्याउनुहोला भनेको छु’, ओलीले कार्यक्रममा भने, ‘अहिले भाषण गर्ने बेला होइन, काम गर्ने हो।’
अस्थायी बास बनाउन खटेका स्वयंसेवकको परिचालन र भूकम्पपीडितलाई पुनस्र्थापना गर्ने काममा सरकारले समन्वय नगरेको भन्दै ओलीले असन्तुष्टि जनाए।
महात्मा गान्धीले भारतमा एक महिनाका लागि सबैलाई स्वाधीनताको आन्दोलनमा लाग्न आग्रह गरेको स्मरण गर्दै ओलीले भने, ‘अहिले पनि मुलुक बनाउन त्यसैगरी सबैजना जुट्नुपर्छ। राष्ट्रिय एकताको व्यावहारिक रूपमा खाँचो छ।’
भूकम्पपीडितलाई पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्रीको संयोजकत्वमा सबै दलका शीर्ष नेता, सेना, प्रहरीका प्रमुख, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्‍न विज्ञ रहेको अधिकार सम्पन्न संरचना बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै ओलीले भने, ‘त्यो संरचनाले जे अप्ठ्यारो पर्छ, आफैं निर्णय गरेर काम गर्छ।
एउटा रूख काट्न बनमा गएर खरिदारको टिप्पणी पर्खेर बस्नुपर्ने झन्झट नहोस्।’ ओलीले एमालेबाहेक अरू कसैले देश बनाउन नसक्ने दाबी पनि गरे।
जेठ १७ बाट विद्यालय खोल्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘विद्यालय खुलै छन् नि, कसले बन्द गरेको छ र? पढाउने ठाउँ छैन, कहाँ पढाउने पो भनेका हौं त।’
-Source: Annapurna Post