रोकियो प्रधानमन्त्रीको भारत भ्रमण

0 3
प्रधानमन्त्री सुशील कोइरालाले यसै महिनाको अन्तिम साता गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ।नयाँदिल्लीस्थित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा प्रधानमन्त्री कोइराला भारत जान लागेका थिए। विश्वविद्यालयले अन्तिम समयमा आएर दीक्षान्त कार्यक्रम नै स्थगित गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण रोकिएको हो।
प्रधानमन्त्रीको भ्रमण औपचारिक बनाउन नेपाल र भारत सरकारबीच गृहकार्य भए पनि अन्तिम समयमा आन्तरिक कारण देखाउँदै विश्वविद्यालयले समारोह एक वर्षका लागि सारेको हो। प्रधानमन्त्री कोइराला जेठ २५ गते भारत जाने तय भएको थियो।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र महाभूकम्पपछिको राहत व्यवस्थापनमा सरकार लागेका कारण प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भएको दाबी गरे।
‘नयाँ सरकारबारे अहिले दलहरूबीच छलफल जारी छ। प्रधानमन्त्रीज्यू यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने पक्षमा हुनुहुन्छ। त्यसैगरी महाभूकम्पपछिको राहत बाँड्ने कामले समेत पूर्णता पाइसकेको छैन। यी दुई कुरालाई हेरेर प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको टुंगो हुन नसकेको हो’, भट्टराईले भने।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित भएको जानकारी आएको बताए। उनले अन्नपूर्णसँग भने, ‘दीक्षान्त स्थगन भएसँगै प्रधानमन्त्रीज्यूको भारत भ्रमणको अर्को मितिबारे गृहकार्य भइरहेको छ।’
राजदूत उपाध्यायले प्रधानमन्त्रीको औपचारिक भारत भ्रमणबारे छलफल जारी रहेको बताए पनि सल्लाहकार भट्टराईले भने त्यसबारे अनविज्ञता प्रकट गरे।
‘प्रधानमन्त्रीज्यूले औपचारिक भ्रमण नै गर्ने कि भन्ने हाम्रो सोचाइ थियो र गृहकार्य पनि भएको थियो। तर अब नयाँ भ्रमण कहिले भन्ने निश्चित छैन’, भट्टराईले भने।
भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले समेत प्रधानमन्त्रीको अर्को भ्रमण मितिबारे निक्र्योल भइनसकेको बताए।प्रधानमन्त्री कोइरालालाई जेठ २९ गतेका लागि निर्धारित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो।
 दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) द्वारा स्थापित उक्त विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन सार्कको अध्यक्ष देशको हैसियतले नेपालका प्रधानमन्त्री यस वर्ष जानैपर्ने बाध्यता थियो।
विश्वविद्यालयका एक प्राध्यापकले बुधबार मात्रै नेपालका प्रधानमन्त्री सहभागी हुन नसक्नेबारे आफूहरूले जानकारी पाएको बताए।
दक्षिणएसियाली विश्वविद्यालयको नियमअनुसार सार्कका आठमध्ये दुई देशका सरकारप्रमुखहरू दीक्षान्तमा सहभागी हुन नसके दीक्षान्त आयोजना हुन सक्दैन।
प्रधानमन्त्री कोइरालाको भारत भ्रमणमा महाभूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि भारतले विशेष सहयोग गर्नेबारे छलफल हुने भनिएको थियो।
सरकारले यसअघि नै २ खर्ब रुपैयाँको पुनर्निर्माण कोष खडा गर्ने घोषणा गरेको छ। त्यसमा सरकारका तर्फबाट प्रारम्भिक रूपमा २ अर्ब रुपैयाँ जम्मा भइसकेको छ भने बाँकी रकम उपलब्ध गराइदिन भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई सरकारले आग्रह गरेको छ।