गोरखा पुनर्निर्माणमा नेता र कार्यकर्ताको लर्को

0 3
गोरखा : वैशाख १२ को विनासकारी भूक पको केन्द्रबिन्दु रहेको गोरखाका गाउँगाउँमा प्रमुख राजनीतिक दलका नेता र कार्यकर्ताहरू पुनर्निर्माणमा जुटेका छन्।
एमाओवादीका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले सचिव प्रदीप ज्ञवाली, कांग्रेस नेत्री कमला पन्तलगायत मु य दलका नेता र कार्यकर्ता गाउँगाउँ पुगेर पुनर्निर्माण अभियानमा सहभागी भइरहेका छन्।
भट्टराईको नेतृत्वमा राष्ट्रिय श्रमदान तथा पुनर्निर्माण अभियानअन्तर्गत सदरमुकामको शिवशक्ति प्राविको भग्नावशेष तह लगाएर विद्यालय भवन निर्माण भएको छ।
त्यस्तै एमाओवादी सचिव जनार्दन शर्माको नेतृत्वमा रहेको टोलीले सौरपानी गाविसको झाँक्रीस्वाँरा र भँडारीगाउँका ६० घर निर्माण गरेको जानकारी जिल्ला इन्चार्ज अमर तमुले दिए।
पोलिटब्युरो सदस्य जगप्रसाद शर्माको टोलीले रन्चोकको दुर्गा मावि र पोखरीको कन्यादेवी निमाविको संरचना बनाएको थियो। टोली अहिले बारपाकमा संरचना निर्माणमा जुटेको तमुले बताए।
त्यस्तै एमाओवादी, नेकपा माओवादी, नेकपा (संयुक्त) का नेता तथा कार्यकर्ता पनि संयुक्त रूपमा विभिन्न गाविसमा खटिएका छन्। नेकपा-माओवादीका सचिव देव गुरुङको नेतृत्वमा आएको टोली घ्याच्चोक गाविसमा खटिएको छ।
त्यस्तै तीन दलीय संयुक्त टोली गुम्दा र बुंकोट गाविसमा खटिएको छन्। केन्द्रीय सदस्यहरूको नेतृत्वको टोलीले घर तथा विद्यालयको भग्नावेश हटाएर पुनर्निर्माणको काम पनि गरेको तमुले बताए।
त्यस्तै तनहुँ जिल्ला इन्चार्ज जगनाथ खनाल नेतृत्वको टोली मान्बु गाविसमा विद्यालय तथा व्यक्तिको घर निर्माणमा लागिरहेको छ। केन्द्रीय सदस्य टेकेन्द्र भट्ट नेतृत्वको टोलीले नाम्जुङमा पुनर्निर्माणको काम गरेको छ।
टोली अहिले बोर्लाङमा काम गरिरहेको एमाओवादीले जनाएको छ। त्यस्तै बर्दियाका इन्चार्ज विष्णु चौधरी नेतृत्वको टोली थालाजुङ, जौबारीलगायत गाउँमा काम गरिरहेका छन्।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले पालुङटारमा दुई दिन खटेर ५३ वटा घर निर्माण गरेको छ। अहिले गण्डकी अञ्चल संयोजक कृष्णचन्द्र नेपालीको टोली छोप्राकको मण्डली उच्चमाविमा भग्नावशेष हटाएर पुनर्निर्माणमा लागेको पार्टी सभापति हरिबहादुर घलेले बताए।
त्यस्तै गण्डकी निमावि धावा र रत्नेश्वर उच्चमावि दुर्बुङको भत्केको संरचना हटाएर नयाँ संरचना निर्माणको काम गरिरहेको जानकारी घलेले दिए।
जिल्ला शिक्षा कार्यालयको सुझावमा अति आवश्यक विद्यालयमा निर्माणको काम गर्ने उनले बताए। उनका अनुसार निर्माणमा नेपाल विद्यार्थी संघ, तरुण दललगायत भ्रातृ संस्था पनि खटिएका छन्।
पन्त नेतृत्वको टोलीले सिम्जुङ, घ्याच्चोक, खरीबोटलगायत गाविस पुगेर भत्केको संरचना तयार गर्ने काम गरेका छन्। टोलीमा नेविसंघ र तरुण दलका कार्यकर्ता सहभागी छन्।
त्यस्तै एमालेका सचिव ज्ञवाली नेतृत्वको टोलीले नारेश्वर र बारपाकमा पुनर्निर्माणको काम गरेका छन्। त्यस्तै अनेरास्ववियुका कोषाध्यक्ष रश्मि आचार्य नेतृत्वको ५५ जनाको टोलीले १५ दिन खटेर भग्नावशेष हटाई घरटहरो बनाएको छ।
आरुआर्बाङ, थुमी र तान्द्राङ गाविसका पाँचवटा विद्यालयका ३७ वटा कक्षाकोठा निर्माण गरिएको एमाले अध्यक्ष विश्वेश्वर कट्टेलले बताए। त्यस्तै क्षेत्रीय संयोजक दुर्गा देवकोटा नेतृत्वको टोलीले गाईखुरमा विद्यालयको टहरो बनाएको छ।
बाबुराम थापा नेतृत्वको टोली अश्राङ गाविसमा, क्षेत्रीय सहसंयोजक प्रदीप सिंखडा नेतृत्वको टोली धावा गाविसमा र बाबुराम अधिकारी नेतृत्वको टोली केराबारी गाविसमा खटिएको उनले बताए।
नेकपा माओवादीका महासचिव विप्लव आफैं गोरखाका विभिन्न गाविसमा भग्नावशेष हटाउने र पुनर्निर्माण गर्ने काममा खटिएका छन्। माओवादी टोली बारपाक, भच्चेक, घ्याच्चोक, हंसपुर, खोप्लाङलगायत गाविसमा खटिएको छ।
त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि गाउँगाउँमा भग्नावशेष हटाएर नयाँ संरचना निर्माणमा जुटेका छन्। बारपाकको हिमालय उच्चमाविमा सशस्त्र प्रहरीले भग्नावशेष हटाउने र नेपाली सेनाले नयाँ संरचना बनाउने काम मिलेर गरेका छन्।
केवलजंग गणअन्तर्गतको तनहुँको गुल्मका सेनाहरू पुनर्निर्माणमा जुटेका हुन्। उनीहरूले ताङ्लीचोक माविमा चारकोठे नयाँ टहरो निर्माण गरेका छन्।
त्यस्तै विजया भवानी उमावि मकैसिङमा नौकोठे टहरो निर्माण भएको जानकारी स्थानीय शिक्षक मदन पन्तले दिए।
गोरखाको भैरवी दल गणबाट खटिएको सेनाले गोरखा बारपाकको सडक खुलाएका छन् भने आरुघाटदेखि मनास्लु पर्यटन पदमार्गको बाटो खुलाउन ५ दिनदेखि लगातार काम गरिरहेका छन्।
गाउँमा पार्टीका नेता र कार्यकर्ता पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएर भग्नावशेष हटाउन तथा नयाँ संरचना बनाउनमा जुटेको नेकपा-माओवादीका सेक्रेटरी नारायण अधिकारीले बताए।
-Source: Annapurna Post