विश्व शान्ति र्‍यालीमा दुर्इ लाख सहभागी

0 4
सिउल : दक्षिण कोरियामा गत सोमबार विश्वका ३० देशका दुई लाख युवा र महिलाले विश्व शान्ति घोषणाको दोस्रो वार्षिकी मनाएका छन्। उक्त अवसरमा उनीहरूले अन्तर्राष्ट्रिय शान्ति युवा समूह यात्रा महोत्सव पनि मनाए।
उक्त समारोहको उद्देश्य शान्ति कायम गर्ने कार्यमा लाग्न सबैलाई आह्वान गरिएको थियो। उनीहरूले शान्तिपूर्व भावी समाज निर्माणमा जोड दिए। यो कार्यक्रम दक्षिण कोरियाका दायजोन, बुसान, जेओज्नु, वोन्जु जस्ता ठूला सहरमा पनि आयोजना गरिएको थियो।
आयोजकले न्युयोर्क, सान फ्रान्सिस्को, बर्लिन लगायतका सहरमा पनि मनाइएको जानकारी दिएका छन्।
कार्यक्रममा नेपालमा आएको भूकम्पमा परी मरेका व्यक्तिको नाममा शोक सन्देश व्यक्त गरिनुका साथै चन्दा संकलन गरिएको थियो।
संस्थाका प्रमुख ही लीले दुई वर्षमा संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए। संस्थाको स्थापना मे २५ सन् २०१३ मा भएको थियो। यो अवधिमा संस्थाले ७० देशमा विश्व शान्ति सम्बोधन गरेको जानकारी दिइएको थियो।
कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न उच्च पदाधिकारी, दूतहरू र धार्मिक संस्थाका अधिकारीले शुभकामना प्रदान गरेका थिए।
कार्यक्रममा दक्षिण कोरियाका लागि पूर्वी टिमोरका राजदूत मौरिसियो बोर्गसले भने, ‘शान्ति स्थापना गर्न गफ गरेर मात्रै हुँदैन। यसका लागि काम गर्नु आवश्यक छ।’
कार्यक्रममा नेपालमा भूकम्प पीडितका लागि राहत प्रदान गर्नेमा जोड दिएको थियो। उक्त संस्थाले नेपालमा दैवी प्रकोपबाट पीडित व्यक्तिलाई विगतमा भन्दा बढी सहयोग गर्ने निर्णय गरेको छ। यसबाट नेपालमा पुनर्निर्माण कार्यमा तीव्रता पुग्ने बताइएको छ। संकलित सहयोग रकम कोरियास्थित नेपाली राजदूतावासबाट उपलब्ध गराइने जानकारी दिइयो।
नेपाली विद्यार्थी देवानन्द पोखरेलले भने, ‘यो कार्यक्रममा कुनै राष्ट्रियता र धर्म भन्ने छैन। मानव भएका नाताले हामी सबै विश्वमा शान्तिपूर्वक बाँच्न पाउनु पर्छ।’ एजेन्सी