बेनी–जोमसोम सडक खुलाउन तीन हप्ता

0 2
म्याग्दी : पहिरोले कालीगण्डकी थुनिँदा अवरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउन कम्तिमा तीन हप्ता लाग्ने भएको छ ।

सडक विभाग र नेपाली सेनाको इञ्जिनियरको टोलीले दुई दिनसम्म गरेको विस्तृत अध्ययनपछि करिब एक किलोमिटर नयाँ ‘ट्रयाक’ खोल्नुपर्ने देखिएको सडक डिभिजन कार्यालय बाग्लुङका डिभिजन प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिए ।

‘त्यसका लागि आवश्यक पर्ने उपकरण हामीले सम्बन्धित स्थानमा पु¥याउँदैछौ’, उनले भने, ‘तत्काल काम सुरु गर्न तालको पानी घट्नुपर्छ ।’

गत आइतबार एक बजेदेखि राम्चे–९ काफलडाँडाबाट खसेको पहिराले १७ घण्टा कालीग्ण्डकी थुनिएपछि बैसरी क्षेत्रमा करिब दुई किलोमिटर सडक क्षतिग्रस्त भएको थियो ।

पुरानो सडक भन्दा धेरै माथिबाट नयाँ ट्रयाक खोल्नुपर्ने प्राविधिकहरुको भनाइ छ । बुधबारदेखि नेपाली सेनाले कृत्रिम ताललाई हटाउन विस्फोटक पदार्थको प्रयोग गरिरहेकाले केही दिनभित्रै सडक बनाउन थाल्ने सडक विभागको तयारी छ ।

सिधा सवारी साधन सञ्चालन हुन नसक्दा मुस्ताङ र त्यहाँबाट फर्कन यात्रुलाई महंगो भाडा सवारीसाधन परिर्वतन गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ ।

‘पानीको सतह निरन्तर घटिरहेको छ, स्काभेटर, डोजर र लोडरहरु सबै जुटाउँदैछौँ, डिभिजन प्रमुख पौडेलले भने, ‘आवश्यक परे नेपाली सेनाबाट सहयोग लिन्छौँ ।’

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले गलेश्वर हुँदै बेगखोला निस्कने वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । ‘सडक विभागले नयाँ ट्रयाक खोल्ने काम गर्छ’, उनले भने, ‘त्यतिञ्जेलसम्म बैकल्पिक मार्ग के गर्ने ? भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’

पानीको सतह घट्दै
नेपाली सेनाको प्राविधिक टीमले विस्फोटक पदार्थ प्रयोग गरेपछि बैसरीमा बनेको कृत्रिम तालको सतह घट्दै गएको छ ।

जेठ १० कालीगण्डकी थुनिएर करिब एकसय ५० मिटर गहिरो र चार किलोमिटर लामो ताल बनेको थियो । ताल फुटेपछि पनि सात सय मिटर लामो र एकमिटर गहिरो ताल यथावत छ ।

दुई दिनको अवधिमा करिब दुई मिटर पानीको गहिराई घटेको इन्द्रबक्स गणका गणपति मनोजकुमार सिलवालले जानकारी दिए ।

सेनाले बुधबार र बिहीबार ६ पटक बम विस्फोट गराएको थियो । ‘तालको लम्बाई पनि घटिरहेको छ, यो क्रम निरन्तर रह्यो पनि केहि दिनभित्रै सबै काम हुन्छ’, उनले भने,
‘पहिरो पनि खस्ने क्रम रोकिएको छ ।’