तराईमा २० करोड राहत संकलन

0 4
बुटवल : रूपन्देहीको भित्री मधेस क्षेत्र मर्चवारका सांसद सर्वेन्द्रनाथ शुक्लको अगुवाइमा १२ गाविसका ४० गाउँबाट सय क्विन्टल चामलसँगै आलु, दाललगायतका जिन्सी संकलन गरिएको छ। संकलित राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्प पीडितलाई प्रदान गरिएको छ। उता गुल्मी जिल्लाको दैवी प्रकोप उद्धार कोषमा ८४ लाख रुपैयाँ नगद संकलन भएको छ।
मुलुकमा जातीय सद्भाव र राष्ट्रिय अखण्डता कायम राख्न बेला मौकामा ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भनी लगाइने यो नारा भूकम्पको महाविपत्मा व्यवहारमै कार्यान्वयन भएको छ।
भूकम्पबाट सामान्य प्रभावितमध्ये तराई क्षेत्र र आसपासका पहाडी जिल्लाबाट मोटामोटी २० करोडको भन्दा बढी नगद र जिन्सी राहत संकलन भएको सरकारी तथ्यांक छ।
रूपन्देहीका प्रजिअ तोयम रायमाझीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गर्ने गरी जिल्लामा एक करोड २५ लाख नगद संकलन भएको छ। सबैभन्दा बढी बुटवल उद्योग वाणिज्य संघले पाँच लाख ७५ हजार प्रदान गरेको छ।
अमुवा गाविसका संघसंस्थाले संयुक्त रूपमा सात लाखभन्दा बढी प्रदान गरेका छन्। बुटवलको कालिका माविकी नौ कक्षाकी छात्रा सजना श्रेष्ठले वक्तृत्वकलामा पुरस्कारबापत पाएको तीन हजारसहित अन्य विद्यार्थीले खाजा खर्चबाट गरी कुल २० हजार प्रदान गरेका छन्। मणिग्रामका ज्योतिष शिरोमणि गंगाधर रिजालले १६ हजार प्रदान गरेका छन्। अन्य सबै संस्थागत रूपमा संकलन भएको सहयोग छ।
मुलुकमा जातीय सद्‌भाव र राष्ट्रिय अखण्डता कायम राख्न बेला मौकामा ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भनी लगाइने यो नारा भूकम्पको महाविपत्मा व्यवहारमै कार्यान्वयन भएको छ। भूकम्पबाट सामान्य प्रभावितमध्ये तराई क्षेत्र र आसपासका पहाडी जिल्लाबाट मोटामोटी २० करोडको भन्दा बढी नगद र जिन्सी राहत संकलन भएको सरकारी तथ्यांक छ।
जिन्सी सामान पनि ठूलो परिमाणमा संकलन गरिएको छ। बुटवल जेसिजले सात लाख ३४ हजार बराबरको जिन्सी सहयोग गरेको छ। त्यसैगरी नवलपरासीस्थित अन्नपूर्णकर्मी हरि शर्माका अनुसार जिल्लामा ५२ लाख कर्मचारीबाट र पाँच लाख विभिन्न व्यक्तिबाट नगद सहयोग प्रदान गरिएको छ। ठूलो परिमाणमा जिन्सी सामान भूकम्प प्रभावित जिल्लामा पुगेको छ।
कपिलवस्तुमा नगद एक करोड र तीन करोड मूल्यबराबरको जिन्सी सहयोग संकलन भएको अन्नपूर्णकर्मी कृष्णप्रसाद ढकालले जनाएका छन्। गुल्मीका अन्नपूर्णकर्मी जनार्दन घिमिरेका अनुसार यो जिल्लाका भूकम्प पीडितका लागि जिल्ला दैवी प्रकोप उद्धार कोषमा ८४ लाख संकलन भएको छ। ठूलो परिमाणमा जिन्सी सामानसमेत संकलन भएको छ।
यो जिल्ला आफैं पनि प्रभावित हो। यहाँ पूर्ण रूपमा दुई हजार एक सय, चार हजार तीन सय ६३ आंशिक र नौ हजार दुई सय ४९ घर सामान्य क्षतिग्रस्त भएका छन्। मानवीय क्षति नभएकाले यो जिल्ला ओझेलमा परेको छ। विकट गाउँमा बस्तीहरू नै प्रभावित छन्।
अर्घाखाँचीका अन्नपूर्णकर्मी प्रेमनारायण आचार्यका अनुसार प्रधानमन्त्री कोषमा नौ लाख ५२ हजार नगद संकलन भएको छ। जिन्सी सहयोग पनि जुटेको छ। यो जिल्लामा एक सय ८९ घर प्रभावित छन्।
पाल्पाका सहायक प्रजिअ विष्णु घर्तीका अनुसार प्रधानमन्त्री कोषमा १८ लाख ४५ हजार र जिल्ला दैवी प्रकोप कोषमा १६ लाख २२ हजार नगद जम्मा भएको छ। यहाँ पूर्ण रूपमा एक हजार नौ सय नौ, चार हजार सात सय सात घर आंशिक र एक हजार चार सय १५ घर सामान्य क्षतिग्रस्त भएका छन्। नौ हजार दुई सय ७१ जना विस्थापित छन्। यहाँ भूकम्पबाट एक जनाको मृत्यु र १५ जना घाइते भएका थिए।
रौतहटमा नगद र जिन्सी गरी एक करोडभन्दा बढी सहयोग संकलन भएको अन्नपूर्णकर्मी फणि महतले जनाएका छन्। अन्नपूर्णकर्मी क्रान्ति शाहका अनुसार पर्सामा एक करोडभन्दा बढीको ९८ ट्रक जिन्सी संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको छ। बारामा प्रधानमन्त्री कोषमा २० हजार जम्मा भएको छ। १५ ट्रक जिन्सी प्रभावित क्षेत्रमा पुगेको सरकारी तथ्यांक छ।
चितवनका प्रजिअ मानबहादुर विकका अनुसार जिल्ला दैवी प्रकोप उद्धार कोषमा सरकारले डेढ करोड उपलब्ध गराएको छ। मकवानपुरमा पनि एक करोडभन्दा बढी नगद र ठूलो परिमाणमा जिन्सी संकलन भएको अन्नपूर्णकर्मी भानुभक्त आचार्यले जनाएका छन्। बाँकेका अन्नपूर्णकर्मी सुरेन्द्र काफ्लेका अनुसार त्यहाँबाट एक करोडभन्दा बढी नगद संकलन भएको छ।