इन्धनको मूल्य घटे हवाई भाडा सस्तिने

0 5
काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाए हवाई भाडा घटाउन सकिने वायुसेवा सञ्चालक संघले जनाएको छ। संघको बुधबार बसेको कार्यसमिति बैठकले हवाई इन्धनमा प्रतिलिटर अधिकतम १५ रुपैयाँसम्म नाफा लिने व्यवस्था गर्न माग गरेको छ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा बसेको बैठकले निगमले हवाई इन्धनबाट लिएको नाफाबाट अन्य इन्धनमा सहुलियत दिने व्यवस्था उपयुक्त नभएको ठहर गरेको छ।
निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनमा ५७ दसमलब २० र अनर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनमा ८० दसमलब ५३ रुपैयाँ नाफा लिएको संघको भनाइ छ।
यो नाफा अधिकतम १५ रुपैयाँमात्र गर्ने र अहिलेको अवस्थामा हवाई इन्धनको मूल्य प्रतिलिटर ३२ रुपैयाँ २० पैसा घटाउने हो भने हवाई भाडा सात सयदेखि एक हजारसम्म घटाउन सकिने संघले जानकारी दिएको छ।
संघका अनुसार हवाई इन्धनको मूल्य घटाउने हो भने काठमाडौं-विराटनगरमा सात सय, नेपालगन्जमा नौ सय र धनगढीको भाडामा एक हजार रुपैयाँ घटाउन सकिन्छ।
संघले गत वैशाख १२ को विनाशकारी भूकम्पले प्रभावित भएका नेपालीलाई राहत दिन पनि हवाई भाडा घटाएर सहयोग गर्न तयार रहेकोले भन्दै निगमले सहयोग गर्न आग्रह गरेको छ।
वायुसेवा सञ्चालक संघका अनुसार वायुयान सञ्चालन खर्चको सरदर ४० प्रतिशत हिस्सा हवाई इन्धनको हुन्छ। नेपालमा हवाई इन्धनको मूल्य वृद्धि हुँदा सोही अनुपातमा हवाई भाडा बढ्ने भएकोले इन्धनको मूल्य घटेमा हवाई भाडा पनि सोही अनुपातमा घटाउन सकिने संघले जानकारी दिएको छ।
संघको पटकपटकको आग्रहमा निगमले यसअघि गत पुस ४ गते हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएको थियो। निगमले घटाएको इन्धनको शुल्कको अनुपातमा संघले पनि भाडा घटाएको थियो।
आयल निगमले नेपाल सरकारको ऐन, नियमको परिधिमा रहेर अन्य पेट्रोलियम पदार्थमा लिने गरेको नाफाअनुसार नै हवाई इन्धनको पनि नाफा तय गर्नुपर्ने संघको भनाइ छ।
सरकारले हवाई इन्धनमा अधिक नाफा लिएकै कारण इन्धनको शुल्क धेरै हुँदा हवाई भाडा पनि बढी हुने गरेको संघको दाबी छ।