न्यायको प्रतीक्षामा ४४ वर्ष बिते

0 14
जनकपुरधाम : पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा नापीको बेला फिल्ड बुकमा ऐलानी भनेर उतार गरिएपछि धनुषाका एक वृद्ध ४४ वर्षदेखि न्यायको खोजीमा भौंतारिरहेका छन्।
जिल्लाको देउरी परबाहा गाउँ निवासी ७० वर्षीय चन्द्रदेव मिश्र ४४ वर्षदेखि आफ्नो जग्गाको लालपुर्जा बनाइदिन माग गर्दै प्रत्येक महिना तारिख लिन मालपोत कार्यालय धनुषा धाउने गरेका हुन्।
बाजे र बुबाले खेती गर्दै आएको ६ कट्ठा भन्दा बढी जग्गा २०२६ सालमा भएको नापीका बेला अमिनले फिल्ड बुकमा उतार गर्न छुटाएपछि मिश्रपरिवारलाई आपत परेको हो। आफूले भोगचलन गर्दै आएको जग्गा भूमि प्रशासनले एेलानी कायम गरिदिएपछि मिश्रले उत्प्रेषणको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका
थिए।
भूमि प्रशासनले २०२९ साल पुस १० गते गरेको निर्णय त्रुटीपूर्ण रहेको ठहर गर्दै सर्वोच्चले २०३३ साल फागुन १६ गते प्रशासकको नाममा परमादेश जारी गरी भूमि प्रशासकको गल्ती सच्याएर मिश्रको जग्गाको लालपुर्जा बनाइदिन र जग्गा निजी गरिदिन आदेश दिए पनि मालपोत कार्यालयका कर्मचारीको बेवास्ताका कारण उक्त फैसला अहिलेसम्म कार्यान्वयन भएकोछैन।
२०२६ सालमा नापी हुँदा गाउँका प्रधानपञ्च रामफल यादवले दुस्मनी गरेर आफ्नो जग्गा फिल्ड बुकमा एेलानी कायम गर्न लगाएको मिश्रले बताए। जग्गालाई भूमि प्रशासकले ऐलानी कायम गरेपछि बुवा नचारी मिश्रले न्यायका लागि गाविस, पञ्चायत सबै ठाउँमा उजुरी दिए। उनको निधनपछि न्यायको लागि आफू लड्दै आएको मिश्रले बताए।
लाखौंको पुस्तौनी जग्गा पाउन मुद्दा लड्दालड्दै र मालपोत धाउँदाधाउँदै हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको मिश्रले सुनाए। अरूले गरेको गल्तीको सजायँ आफूहरूले पाइराखेको दुखेसो गर्दै मिश्रले भने, ‘यो देशमा न्याय छैन।’
अदालतले मिश्रको हकमा फैसला गरिसके पनि मालपोत कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाई मिश्रलाई लामो समयदेखि अल्झाएर राख्नु निन्दनीय रहेको नेपाल बार एसोसिएसनका अध्यक्ष उमेश पञ्जियारको भनाइ छ।
१९८३ सालको जग्गा पट्टा, पाना नम्बर ७, कुत तिरेको रसिद, गाविसको सिफारिसलगायतका प्रमाण र आधारहरू हुँदाहुँदै पनि फिल्ड बुकमा छुट हुन गएकै कारण मिश्र साढे चार दशकदेखि कष्ट भोग्दै आएका छन्।

– Source: Annapurna Post